नेपाल राहत शिक्षक समिति ताप्लेजुङले प्रतिनिधि सभा सदस्य योगेश भट्टराईलाई शनिबार ध्यानाकर्षणपत्र बुझाएको छ । १५ महिनाअघि सरकार र राहत शिक्षक समितिबिच भएको सहमति कार्यान्वयनको माग गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईलाई समितिले ध्यानाकर्षणपत्र बुझाएको हो ।
पूर्वमन्त्री समेत रहेका भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारसँग भएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐनमा नीतिगत प्रबन्धका लागि परिणाममुखी भूमिका निर्वाह गरीदिन राहत शिक्षकहरुले भट्टराईसमक्ष अनुरोध गरेका छन् ।
समितिका जिल्ला सहअध्यक्ष लक्ष्मीप्रसाद चुडाल र सचिव दिलेन्द्र राईद्वारा हस्ताक्षरित विज्ञाप्तिमा राहत शिक्षकको पेशागत स्थायित्वका लागि संघीय शिक्षा ऐनमा नीतिगत प्रबन्ध गर्न माग गर्दै लामो समयदेखि आफूहरू आन्दोलनरत रहेको उल्लेख छ । शिक्षा ऐनको मस्यौदा निर्माणका क्रममा बारम्बार ध्यानाकर्षण गराउँदा समेत शिक्षा मन्त्रालयले एकलौटी ढंगबाट ऐन संशोधन विधेयक संसदमा दर्ता गराएको भन्दै त्यसतर्फ भट्टराईको ध्यानाकर्षण गराका छन् ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा आमशिक्षक तथा कर्मचारीको माग नसमेटिएको अवस्थामा राहत शिक्षकहरु सडक आन्दोलनमा उत्रेको स्मरण गराएका छन् । सडक आन्दोलनकै क्रममा सरकार र राहत शिक्षकबिच भएको पाँच बुँदे सहमति अक्षरस कार्यान्वयन गराउन पहलका लागि प्रतिनिसिभा सदस्य भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको जिल्ला ासचिव दिलेन्द्र राईले बताए ।
सो अवसरमा भट्टराईले राहत शिक्षकको समस्याप्रति जानकार रहेको बताउँदै सक्दो पहल गर्ने आश्वासन दिए । राहतसहितका अस्थायी तथा अन्य समस्यामा रहेका शिक्षकको हितमा संघीय शिक्षा ऐन जारी गर्नेगरी संसदमा प्रयत्न भइरहेको उनको भनाइ थियो ।