मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १६ मंगलबार o६:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी बनाउन रावलले थाले छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार o६:४५:oo

एमालेका पूर्वउपाध्यक्ष भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने भएका छन् । नयाँ पार्टी गठन गर्ने विषयमा रावलले छलफल अघि बढाएका छन् । रावलले काठमाडौंमा उपलब्ध नेताहरूसँग छलफल बाक्लो बनाएका छन् । रावलले सोमबार सुदूरपश्चिमका नेताहरू कर्ण मल्ल र डा. तारा जोशीसँग छलफल गरेका छन् ।

कम्युनिस्ट, कांग्रेस र पार्टीमा कतै आबद्ध नभएको शक्तिलाई आबद्ध गराएर नयाँ पार्टी गठनको गृहकार्यमा रावल छन् । देशभक्त पार्टी बनाउने रावलको दाबी छ । त्यही क्रममा कांग्रेस डडेल्धुराका पूर्वनेता मल्ल र सुदूरपश्चिमका प्रदेश सभा सदस्य डा. जोशीसँग भेटवार्ता भएको हो । ‘कर्ण मल्लले भीम रावललाई भेट्न जाऔँ भन्नुभयो । भेटौँ न त भनेर म पनि गएँ । उहाँ (रावल)ले सशक्त मुभमेन्टको आवश्यकता औँल्याउनुभयो,’ रावलसँगको भेटपछि डा. जोशीले नयाँ पत्रिकासँग भने, ‘त्यो अर्को पार्टी बनाउने कुरा थियो । उहाँले पार्टीको नाम कम्युनिस्ट राख्नुपर्छ भन्ने जरुरी छैन भन्नुभयो । मैले शुभकामना छ भनेँ ।’ 

डा. जोशीले पार्टी बनाउने मात्र भन्दा अहिलेको समस्या के हो र यसको समाधान कसरी गर्ने भन्ने महत्वपूर्ण हुने बताए । आफूले नयाँ पार्टीमा जाने वा पुरानै पार्टीमा फर्किने भन्ने विषयमा केही नसोचेको उनले सुनाए । 

पूर्वउपप्रधानमन्त्री, पूर्वरक्षामन्त्री र पूर्वगृहमन्त्रीसमेत रहेका रावलले पछिल्लो राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे आगामी बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेका छन् । पत्रकार सम्मेलनमा रावलले अवधारणापत्र सार्वजनिक गर्नेछन् । 

त्यसपछि पूर्वबाट देश दौडाहामा निस्कने रावलको तयारी छ । ‘चितवनमा अध्यक्ष लडिसकेपछिको सबै विषयवस्तुसहितको अवधारणा सार्वजनिक हुन्छ । त्यसपछि पूर्वबाट देश दौडाहामा जानुहुन्छ,’ रावलनिकट एक नेताले भने, ‘सबै ठाउँमा भेट गरिसकेपछि नयाँ ढंगले अघि बढ्ने काम हुन्छ । यो अभियानमा एमालेभित्र दबिएका–हेपिएका ठुलो संख्याले साथ दिने विश्वास छ ।’ 

एमालेको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावलसहित तीन नेतालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको हो । एमालेले रावललाई संगठित सदस्यसमेत नरहने गरी तथा स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ ।