मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
अजित अधिकारी काठमाडाैं
२o८१ पौष २० शनिबार o७:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यो वर्ष सर्वाधिक धान उत्पादन

गत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भए पनि उत्पादकत्वमा भएको सुधारका कारण उत्पादन ४ प्रतिशतले बढी

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार o७:३o:oo

यो वर्ष सबैभन्दा धेरै ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । रासायनिक मलको उपलब्धता, समयअगावै सुरु भएको मनसुन र उन्नत जातका बिउको बढ्दो प्रयोगले उत्पादनमा सुधार आएको मन्त्रालयको दाबी छ ।

यो वर्ष तुलनात्मक रूपमा कम क्षेत्रफलमा रोपाइँ भए पनि उत्पादकत्वमा सुधार भएकाले समग्र उत्पादन वृद्धि भएको मन्त्रालयको तथ्यांक छ । यसपालि चैते र बर्खे धान १४ लाख २० हजार हेक्टरमा रोपाइँ भएको थियो । गत वर्ष भने १४ लाख ३८ हजार हेक्टरमा दुवै धान लगाइएको थियो । तर, गत वर्ष ५७ लाख २४ हजार हेक्टर मात्रै उत्पादन भएको थियो । यो वर्ष कम क्षेत्रफलमा रोपाइँ भए पनि अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशतभन्दा बढी धान उत्पादन भएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले धानखेतीका लागि मौसमी अनुकूलता र रासायनिक मल तथा हाइब्रिड बिउबिजनको सहज उपलब्धताले उत्पादनमा सुधार आएको बताए । ‘यो वर्ष असारमा रोपाइँ गर्न समयमै मनसुन भयो । रासायनिक मलको वितरण पनि विगतको भन्दा अलि सहज भयो,’ उनले भने, ‘उन्नत जातको बिउको प्रयोगले धान धेरै फल्ने क्षमता पनि बढेको छ ।’

असोजमा आएको बाढीले ६५ हजार तीन सय ८० हेक्टरमा क्षति गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कृषि क्षेत्रमा कुल पाँच अर्ब ८८ करोडको क्षति भएको थियो । तर, तराईको धानखेतमा कम क्षति पुगेकाले उत्पादनमा ठुलो प्रभाव नपरेको मन्त्रालयको भनाइ छ ।

उत्पादनमा सुधार भए पनि कुल माग धान्न नसकेकाले चामल र धान आयात बढिरहेको छ । राष्ट्र बैंकका अनुसार चालू आव ०८१/८२ को कात्तिक मसान्तसम्म भारतबाट ६ अर्ब ८४ करोड रुपैयाँको धान र चामल आयात भइसकेको छ । 

उत्पादकत्वमा उल्लेख्य सुधार
आव ०७६/७७ मा ३.८०, आव ०७७/७८ मा ३.८२, आव ०७८/७९ मा ३.४७, आव ०७९/८० मा ३.७९, आव ०८०/८१ मा ३.९८ र आव ०८१/८२ मा ४.१९ टन प्रति हेक्टर धान उत्पादनको तथ्याङक 
धानको उत्पादकत्वमा यो वर्ष धेरै सुधार देखिएको छ । पहिलोपटक प्रतिहेक्टर चार टनभन्दा बढी उत्पादन हुन थालेको मन्त्रालयले जनाएको छ । ‘औसत उत्पादकत्व ४.१९ मेट्रिकटन प्रतिहेक्टरमा पुगी हालसम्मको उच्च विन्दु कायम हुन पुगेको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । गत आव ०८०/८१ मा भने ३.९८ टन प्रतिहेक्टर उत्पादकत्व थियो । कोशीमा सबैभन्दा धेरै ४.४५ टन प्रति हेक्टर उत्पादकत्व रहेको छ भने कर्णालीमा सबैभन्दा कम ३.२७ टन प्रति हेक्टर उत्पादकत्व रहेको छ । 

मधेशमा धेरै, कर्णालीमा थोरै उत्पादन
सात प्रदेशमध्ये मधेशमा सबैभन्दा धेरै १४ लाख ८० हजार आठ सय ३० टन धान उत्पादन भएको छ । त्यसपछि कोशीमा १४ लाख ६६ हजार पाँच सय १८ टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । लुम्बिनीमा १३ लाख ६४ हजार ३१ टन, सुदूरपश्चिममा ६ लाख ३६ हजार दुई सय १२ टन, बागमतीमा चार लाख ९८ हजार ६ सय ६२ टन र गण्डकीमा तीन लाख ७९ हजार ३२ टन धान उत्पादन भएको छ । सबैभन्दा कम कर्णालीमा एक लाख ३० हजार एक सय ९१ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । यो वर्ष बागमती, गण्डकी र कर्णालीमा गत वर्षको भन्दा कम उत्पादन भएको छ । चैते धान भने लुम्बिनीमा समेत कम उत्पादन भएको छ ।