१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष २४ मंगलबार o९:१o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नीति–निर्माणमा जनताको निगरानी आवश्यक छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार o९:१o:oo

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति–निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यकाविशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशले सोमबार गरेको संयुक्त समीक्षा बैठकमा प्रचण्डले आफूले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताएका हुन् ।

नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा जाने तयारी सरकारले गरिरहेको बताए । त्यो २१औँ शताब्दीको जनवादकै नयाँ रूप भएको उनले दाबी गरे । ‘बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ । आजबाट त्यसको थालनी भएको छ । दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभंग गर्नेबारे छलफल भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुन्छ, त्यसका आधारमा बजेट बन्छ । यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनता र जनप्रतिनिधिहरूको निगरानी, नियन्त्रण र हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदै छौँ । हामीले २१औँ शताब्दीको जनवादमा भनेका थियौँ– राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौँ, यो पनि आफैँमा त्यसको एक रूप हो ।’

सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष थप प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने उनले दाबी गरे । उनले भने, ‘सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको छ । केही नयाँ चिज भएको छ, केही नयाँ रेकर्ड बनेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरुद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि त्यस्तै पहल लिइएको छ । यसले देशभित्र र बाहिर राम्रो उत्साह पनि आएको छ । यसमा नै टेकेर आगामी वर्ष थप राम्रो गरिनेछ, यसमा सिंगो पार्टीले सरकारलाई सहयोग गर्नुस् ।’ प्रचण्डले छिट्टै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने पनि बताए । 

कार्यक्रममा माओवादी उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रवादीहरूले व्यवस्थामाथि हमला सुरु गरेको बताए । पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिको हैसियतले चुनौती स्वीकार गर्न तयार रहेको बताए । जनताको अवस्थामा सुधार गर्दै व्यवस्था रक्षाका लागि माओवादी लागिपरेको उनले दाबी गरे । परिवर्तनको रक्षा क्रान्तिकारी शक्तिले मात्रै गर्न सक्ने उनले बताए ।

समाजवादी विकल्प तयार पार्दै अगाडि बढ्नेसमेत उनले बताए । जनता र कार्यकर्ता तहबाट उठेका प्रश्नको जवाफ दिँदै अगाडि बढ्ने उनको भनाइ छ । माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरूको पार्टी भएको उनले जिकिर गरे । आगामी विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुने प्रणााली विकास गर्ने उनले जानकारी दिए । युवाशक्तिलाई स्थापित गर्दै अगाडि बढ्नेसमेत उनले बताए ।