
माओवादी केन्द्र जुगल गाउँपालिकाका अध्यक्ष ईश्वर गुभाजूले १० विद्यालयका विद्यार्थीलाई जाडो महिनाका लागि न्यानो पार्ने ज्याकेट वितरण गरेका छन् । गुभाजूको कम्पनी दीपज्योति र स्वर्गीय बुबा रमेश केसीको सम्झनामा छोरीहरू नवीना र अञ्जनाको सहयोगमा पाँच लाखबराबरको बाक्लो ज्याकेट वितरण गरिएको हो ।
जुगल गाउँपालिकास्थित १० वटा माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत सबै विद्यार्थीलाई ज्याकेट वितरण गरिएको गुभाजूसँग विद्यालय पुगेका अखिल क्रान्तिकारी सिन्धुपाल्चोकका सचिवालय सदस्य दुर्गा श्रेष्ठले जानकारी दिए । १० विद्यालयका दुई सय ८० विद्यार्थीले न्यानो ज्याकेट पाएका छन् ।
सेलाङ माविका ३५, रत्नराज्य मावि चनौटेका ३९, वनकाली माविका १८, सेतीदेवी मावि पांगार्पुका २४, जलदेवी माविका ५२ विद्यार्थीले ज्याकेट पाएका छन् । त्यसैगरी, सेतीदेवी मावि बराम्चीका १३, कालीदेवी माविका २८, भीमसेन माविका २६, रामेश्वरी माविका २५ र जुगल माध्यमिक विद्यालयका २० विद्यार्थीले ज्याकेट पाए । जुगल सिन्धुपाल्चोकको सबैभन्दा दुर्गम गाउँपालिका हो ।
१० विद्यालयमा तीन दिन समय खर्चेर गुभाजूको नेतृत्वमा माओवादी नेता–कार्यकर्ता विद्यालय पुगेका थिए । ज्याकेट वितरणपछि अभिभावक पनि खुसी भएका छन् । पुस–माघको जाडोमा हिमाली भेगका विद्यार्थीलाई न्यानो कपडाले राहत प्रदान गरेको रामेश्वरी माविका प्रधानाध्यापक कृष्ण घिमिरेले बताए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिवसमेत रहेका गुभाजूले हिमाली भेगको जनजीवन सहज बनाउन बर्सेनि केही न केही सहयोग गर्दै आएका छन् ।