१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १८ बुधबार
  • Saturday, 28 September, 2024
२o८o पौष १८ बुधबार १७:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागलुङ महोत्सवको आकर्षण गुन्द्रुक, भाँगो र अल्लोको कपडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १८ बुधबार १७:२५:oo

गत बुधबारदेखि बागलुङमा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक तथा व्यापार मेला एवं सातौँ बागलुङ महोत्सव सञ्चालन भएको छ। 

महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, रमाइलो मेला, स्थानीय उत्पादन र आयातीत वस्तुका स्टल, रेस्टुरेन्ट सञ्चालनमा छन्। 
आयोजक बागलुङ उद्योग वाणिज्य संघले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर महोत्सवको मुख्य मञ्चको दायाँतर्फ ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तु बिक्री-वितरण तथा प्रदर्शनका लागि राखेको छ। 

यही स्टल अहिले महोत्सवको मुख्य आर्कषणको रूपमा छ। स्थानीय उत्पादनको रूपमा राखिएको गुन्द्रुक, भाँगो, अल्लोको कपडा, मकैको पिठो, कोदाको पिठोलगायतका वस्तुहरू महोत्सवको मुख्य आकर्षण भएका छन्। यसका साथै नेपाली कागज र सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुरलगायतका सामग्री बिक्रीका लागि राखिएका छन्। 

महोत्सवको आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेड इन बागलुङ’को स्टल राखेको हो।

स्थानीय रूपमा उत्पादन हुने वस्तुहरू अधिकांश जिल्लाको ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकाका छन्। महोत्सवमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महोत्सवमार्फत जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले स्टलमा यहाँको स्थानीय उत्पादन राखिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। 

यहाँ उत्पादनलाई स्थान दिएर स्थानीय उत्पादनको महत्त्व बढाउन सहज हुने उनले बताए। महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रुक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उनले बताए।

स्टलमा जैमिनी नगरपालिका—३ दमेकमा रहेको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी मकै, भटमास, आलु चिप्स, काँकोको गुन्द्रक, सिस्नोको पाउडर, मंसिरे सिमी र भाँगो बिक्रीका लागि राखेको छ।

महोत्सवमा ताराखोला गाउँपालिकामा उत्पादित सेतो र रातो च्याउ, अल्लोको कपडा, धागो, नेपाली हाते कागज, आलु, मकै र सिल्टिमुरलगायतका वस्तुलाई स्टलमा राखिएको छ।

स्थानीय उत्पादनका बारेमा जानकारी नभएर बजार नपाएको वेलामा महोत्सवमा बिक्रीसँगै प्रचारप्रसार हुनु राम्रो पक्ष रहेको ताराखोला गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले बताए।

२१ पुससम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनको बिक्री राम्रो हुनेछ भन्नेमा आशावादी रहेको उपाध्यक्ष रोका बताउँछन्। गाउँपालिकामा उत्पादन हुने  आलु, भाँगो, टिमु, सिलटिमुर, कोदाको पिठोलगायतका वस्तुहरू राखिएको छ। महोत्सवमा एक सय ५० भन्दा बढी स्टल छन्। महोत्सव अवधिभर १० करोडभन्दा बढीको  कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ।