१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
जीर्ण बनेको घरमा डोको बुन्दै गरेका गजुरी गाउँपालिका– ४ चौकीभञ्ज्याङका ७० वर्षीय साइँला प्रजा ।
२०८० असोज १९ शुक्रबार १८:१४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

डोको बुन्ने पुर्ख्यौली पेसा संकटमा, जीवन धान्न विकल्पको खोजीमा चेपाङ समुदाय

Read Time : > 2 मिनेट
२०८० असोज १९ शुक्रबार १८:१४:००

गाउँलाई बजारसम्म जोड्ने कच्ची सडक, त्यही सडकको आडैमा पुरानो घर । बांगिएको खाँबो, प्वाल परेका जस्ताको छानो, जीर्ण बनेको सानो घर । घरको छेउमै डोको बुन्न ल्याएका निगालो र बाँसको चाङ अनि बुनेर राखेका डोकाहरू । धादिङको गजुरी गाउँपालिका– ४ चौकीभञ्ज्याङका साइँला चेपाङ पिँढीमा बसेर डोको बुन्दै छन् ।

चौकीभञ्ज्याङ र आसपासका सबैको पुख्र्याैली पेसा डोको, डालो र भकारी बुन्ने नै हो । तर, डोको बिक्न छाडेपछि अहिले उनीहरू समस्यामा परेका छन् । ‘बजारमा डोको बिक्नै छाड्यो । कतिले त पुर्ख्यौली पेसा छाडेर विकल्प पनि खोजिसके,’ साइँला भन्छन्, ‘आम्दानीको स्रोत नै टुट्यो । डोको बुन्ने पेसालाई जिन्दगी मानेकाहरूको अहिले जीवन धान्नै मुस्किल छ ।’

७० वर्षीय साइँला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष भयो । अहिले पनि निरन्तर बुनिरहेका छन् । साइँलासँगै डोको बुन्न थालेकाहरू अहिले निकै निराश छन् । उनी भन्छन्, ‘हाम्रो मात्र होइन, गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने हो । तर, अहिले डोको, डालो र भकारी बेचेर घरखर्च चल्न छोड्यो ।’

‘अहिले त डोकै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिनँ । डोको किन्न व्यापारी गाउँ आउँदैनन् । पुर्ख्यौली पेसा भनेर मात्रै गरिरहेका हौँ । डोको बुनेर पैसा कमाउने दिन गए । दुईछाकको जोहो गर्नै मुस्किल छ,’ साइँलाले भने ।

करिब ०३५ सालतिर डोको बुन्न थाल्दा १० रुपैयाँमा एउटा डोको बिक्री गर्ने गरेको उनले स्मरण गरे । ‘त्यतिखेर दुई रुपैयाँ पाथी नुन, ६ रुपैयाँ लिटर खानेतेल पाइन्थ्यो,’ उनले भने, ‘दैनिक १०–१२ वटासम्म डोको बुन्थेँ । बेच्न पनि समस्या थिएन । अहिले त प्रतिडोको तीन सय, अलि ठूलोलाई पाँच सयमा दिँदा पनि कसैले किन्दैनन् । पेसै छाडौँ– डोको बुनेरै जीवन बित्यो । अर्काे पेसा गर्न पनि म बुढोसँग सीप छैन, न बल छ । डोको थुपार्ने, व्यापारी कुर्नेशिवाय केही विकल्प छैन ।’

बाजेको पालादेखि नै डोको बुनेर जीविका चलेको भए पनि बजारमा डोको बिक्न छोडेपछि पेसा छोड्नु न अंगाल्नु बनेको तिलकुमारी चेपाङले बताइन् । ‘त्यतिवेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछिपछि डेढ–दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घर खर्च चलाउन सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘अचेल त डोको किन्ने मान्छे नै आउँदैनन् । डोकोको माग पनि छैन, बुनिराखेको मात्रै हो । भोलि–पर्सि कतै माग भइहाल्यो भने बेचौँला भन्ने झिनो आशा छ । बाटोमा हिँड्नेहरूले डोकोको मूल्य सोध्ने र लान्छौँ भन्ने गरेका कारण बिक्छ कि भनेर डोको बुनिरहेका छौँ ।’

नेवारबासका ४० वर्षीय रामबहादुर प्रजा डोकोको भारी बोकेर ओरालो झर्दै थिए । डोकोको गह्रौँ भारी, ओरालो बाटो असिनपसिन बनेका उनलाई डोको बेच्न बजार पुग्ने हतारो छ । डोको बेचेर नुनतेल खाएको पैसा तिर्ने योजना रहेको उनले बताए । उनका चार छोराछोरीसहित ६ जनाको परिवार छ ।

‘डोको बुनेर मात्रै त घरखर्च र छोराछोरीलाई पठनपाठन गराउन पुग्दैन । २० वर्षदेखि डोको बुन्दै आएको छु । दिनभरमा एउटा डोको बुनिन्छ । पाँच सयमा बिक्री हुन्छ, त्यो पनि उधारो छाड्नुपर्छ । निगालो किनेको, डोको बोकेर बजार गएको ज्याला पनि उठ्दैन । अनि गुजारा कसरी चलाउनु,’ उनले भने, ‘डोकोको साइज हेरेर तीन सयदेखि पाँच सयसम्म र खाङ्ग्रेको एक हजारसम्म बिक्री हुनुपर्ने हो । तर, सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुँदैन । गाउँदेखि पृथ्वी राजमाार्ग पुग्न चार घन्टा पैदल हिँड्नुपर्छ । ६ देखि बढीमा १० वटासम्म डोको बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँसी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ ।’

डोको बुनेर जीवन नधान्ने भएपछि छोराछोरी पढाउन र घरखर्च टार्न ज्याला–मजदुरी सुरु गरेको रामबहादुर बताउँछन् । ‘गाउँमा अहिले थोरैले मात्र डोको बुन्छन् । ज्याला–मजदुरी गर्न जाँदा डोको बुन्दाभन्दा राम्रो कमाइ हुन्छ । तर, पुख्र्याैली पेसा छाड्न हामीलाई मन छैन । ज्याला–मजदुरी नगरी जीवन धान्न पनि सकिन्न,’ उनले भने ।

प्रविधि र विकासको क्रमसँगै डोको बुन्नेहरूको पेसा संकटमा परेको स्थानीय जितबहादुर चेपाङको भनाइ छ । डोकोको प्रयोगमा नै कमी आएको छ । प्रयोग नै हुन छाडेपछि बिक्न छाड्नु स्वाभाविकै हो । ‘गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन् । तर, डोको, डालो, भकारी बुनेर घरमै थुपारेर त काम भएन । अहिले गाउँमै सडक आइपुगेको छ । मानिसले बोक्ने भारी सवारीसाधनले बोक्छ । डोकोको प्रयोगको सट्टा अन्य प्रविधि भित्रिए । महँगी उस्तै छ । डोकोको प्रयोग नै कमी भएका कारण हाम्रो पुर्ख्याैली पेसा संकटमा पर्दै गएको हो,’ उनले भने।

चौकीभञ्ज्याङ नेवारबासमा ९२ घरपरिवार छन् । उनीहरूको मुख्य पुर्ख्याैली पेसा डोको बुनाइ हो । तर, डोको बिक्न छाडेपछि अहिले उनीहरूले विकल्प खोज्न थालेका हुन् । ‘गाउँमा सडक सञ्जाल पुगेपछि डोकोको प्रयोग घटेको छ,’ अर्का स्थानीय बलराम चेपाङले भने, ‘पुर्ख्याैली पेसा छाडेर अहिले गाउँका मानिस अन्य पेसामा लाग्न थालेका छन् । गाउँ छाडेर ज्याला–मजदुरी गर्नसमेत पुगेका छन् । कतिपय वैदेशिक रोजगार, ठेक्कापट्टालगायतका क्षेत्रमा काम गरिरहेका छन् । तर, मैले पुर्ख्याैली पेसा छाड्न सकेको छैन ।’