Skip This
प्रेरक प्रसंग : भकुन्डोको रङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o५:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : भकुन्डोको रङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o५:५७:oo

शिक्षक कक्षामा पढाउँदै थिए । पछिल्तिर बस्ने दुई विद्यार्थी आपसमा झगडा गरेको आवाज आयो । आवाज आउनासाथ शिक्षकले सोधे– के भयो ? तिमीहरू किन झगडा गर्दै छौ ? रमेशले भने– हेर्नुस् न सर, यो सन्तोष आफ्नै कुरा मात्र सही हो भनेर जिद्दी गर्छ । मेरो कुरै सुन्दैन । सन्तोषले भने– होइन सर, रमेशले भनेको कुरा बिल्कुलै गलत छ । अनि किन सुन्नु त उसको कुरा ? यति भनेर उनीहरू फेरि तँतँ र मम गर्न थाले । 

शिक्षकले उनीहरूलाई रोक्दै आफ्नो नजिक बोलाए र दुवैलाई टेबलको दायाँ र बायाँ उभिन लगाए अनि दराजबाट अलि ठूलो भकुन्डो निकालेर टेबलको बीचमा राखे । उनले रमेशलाई सोधे— यो भुकुन्डाको रङ कस्तो छ ? भन त रमेश ! रमेशले तत्कालै जवाफ दिए– यसको रङ सेतो छ सर ! शिक्षकलाई उछिनेर सन्तोषले भने– देख्नुभयो सर, रमेश कालो रङको भकुन्डोलाई सेतो रङको बताइरहेको छ । यसरी देख्दादेख्दै झुटो बोल्ने मान्छेको कुरा के पत्याउनु ?

दुवै आआफ्नो जवाफमा दृढ थिए । त्यसैले, पुनः भकुन्डोको रङलाई लिएर बहस गर्न थाले । शिक्षकले उनीहरूलाई शान्त बनाउँदै दुवैको स्थान बदल्न लगाए । दुवै एक–अर्काको स्थानमा पुगिसकेपछि उनले पालैपालो दुवैलाई भकुन्डोको रङबारे प्रश्न गरे । दुवैको स्थानसँगै उत्तर पनि परिवर्तन भयो । अर्थात् रमेशले भकुन्डोको रङ कालो र सन्तोषले सेतो भएको बताए । 

अन्त्यमा शिक्षकले गम्भीर हुँदै भने– वास्तवमा यो भकुन्डो सेतो र कालो दुई रङ मिलेर बनेको छ । जसरी एक स्थानबाट हेर्दा यो कालो देखिन्छ भने त्यसको विपरीत स्थानबाट हेर्दा यो सेतो देखिन्छ । ठीक त्यसैगरी हाम्रो जीवनमा पनि हरेक वस्तु, घटना, विचार या अन्य जेसुकैलाई पनि फरक दृष्टिकोणबाट हेर्न सकिन्छ । हामीले जसरी कुनै चिजलाई हेर्छौं, अरूले पनि त्यसैगरी हेर्छन् भन्ने छैन । त्यसैले, हामीबीच विवाद भयो भन्दैमा अर्को मान्छे गलत नै हुन्छ भन्ने हुँदैन । त्यसलाई उसको तर्फबाट पनि हेर्ने प्रयास गर्नुपर्छ । यसबाट मात्र अर्थपूर्ण संवाद हुन सक्छ ।

ad
ad