नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘आठ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनका लागि बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकलाई नियुक्त गरेको छ । ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरे ।
बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यको ऋणपत्र निष्कासन गर्न लागेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि आठ वर्षको रहने बताइएको छ । ३० लाख कित्ताले हुन आउने तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ ।
यो ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । त्यस्तै, १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब २० करोड रुपैयाँ ऋणपुँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न लागिएको बताइएको छ ।
साथै, सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जनाएको छ ।