१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष ५ बिहीबार ०९:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिवाखाजा रोकिँदा चेपाङ समुदायका बालबालिका विद्यालय आउनै छाडे

Read Time : > 1 मिनेट
२०८० पौष ५ बिहीबार ०९:३४:००

पुसको कठ्यांग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेन्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका– १० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन् । विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवाखाजासमेत रोकिँदा विद्यालय आउनै छाडेका छन् ।

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नांगै, कतिको खुट्टा खाली छ । विद्यालय पोसाकसमेत नभएका कतिपय बालबालिका थुरथुर कामेरै पढिरहेका छन् । कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन । यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवाखाजासमेत रोकिएको छ । शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन् ।

यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका– १० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । ०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन् । तर, नियमित विद्यालय आउनेको संख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताए । विद्यालयमा उनी मात्रै एकजना शिक्षक हुन् । उनले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्छन् ।

नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ । जिङ्लाउका विद्यार्थी दिवाखाजाबाट वञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन् ।

विद्यालयका प्रधानाध्यापक खुमराज भट्ट भने दिवाखाजा नरोकिएको दाबी गर्छन्। दुईतिरै निगरानी गरिरहेको बताउँदै उनले अहिलेसम्म दिवाखाजा नरोकिएको दाबी गरे । ‘अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ । पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु,’ उनले भने । तर, शिक्षक चेपाङ भन्छन्, ‘विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प छैन ।’ दिवाखाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उनको भनाइ छ ।

कालिका– १० वडाध्यक्ष नरजंग प्रजाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई निर्देशन दिइसकेको बताउँदै बालबालिकाको खाजा कार्यक्रम नरोकिनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘चेपाङ बालबालिकाको खाजा रोक्ने अधिकार कसैलाई पनि छैन, विद्यालयमा कमी–कमजोरी भएको भए कारबाही हुन्छ ।’

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जिङ्लाउको समस्याबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए । दिवाखाजाको विषयमा के कारणले रोकिएको हो भन्ने पत्ता लगाएर तत्काल सञ्चालन गर्ने उनले बताए। उनले पालिकामा ‘उपमेयरसँग बालबालिका’ शीर्षकको कार्यक्रम लागू भइरहेको जनाउँदै वेलावेलामा शैक्षिक सामग्री वितरण भएको जानकारी दिए ।