यही १९ सेप्टेम्बरका दिन अजरबैजानको भूमिमा रहेको विवादित क्षेत्र नागोर्नो–काराबाखमा अजरबैजानले सैन्य कारबाही चलाएको थियो । स्मरण रहोस्, आर्मेनियाली जातिका मानिसको बसोवास रहेको नागोर्नो–काराबाख क्षेत्रमा आर्मेनियाको पनि दाबी रहेको छ । यस क्षेत्रका आर्मेनियाली जातिका पृथकतावादीलाई तह लगाउन भएको सैन्य कारबाही एक दिन नपुग्दै टुंगियो । नतिजा तीन दशकभन्दा लामो समयदेखि चलेको शत्रुतापूर्ण गतिरोध एकाएक निष्कर्षमा पुग्यो । गतिरोध टुंगिएसँगै नागोर्नो–काराबाखका हजारौँ आर्मेनियाली जातिका मानिसको सामूहिक विस्थापन निम्त्याएको छ । यसबाहेक सैन्य कारबाहीपछिको अवस्थामा ककेसस क्षेत्रभित्र अजरबैजानको बलियो समर्थक मानिएको टर्कीको रणनीतिक स्थिति बलियो बनेको छ । र, यसबाट यस क्षेत्रमा रुसी प्रभाव घटिरहेको छ भन्ने पनि देखिन्छ ।
मूल भूमि आर्मेनियाबाट छुट्टिएको र रुसबाट पनि सुरक्षा प्रत्याभूति नपाएको नागोर्नो–काराबाख नौ महिनादेखि नाकाबन्दीबाट प्रताडित थियो । यस अवस्थामा अजरबैजानको आधुनिक विशाल सेनासामु नागोर्नो–काराबाखसँग आत्मसमर्पणको विकल्प थिएन । यो रिपोर्ट तयार गरुन्जेलसम्म नागोर्नो–काराबाखका करिब ६५ हजार आर्मेनियाली जातिका बासिन्दा विस्थापित भइसकेका छन् । युद्धअघिको अवस्थामा सो क्षेत्रमा एक लाख २० हजार अर्मेनियाली जातिका बासिन्दा बसोवास गर्थे ।
अजरबैजानले मुलुकभित्रका आर्मेनियाली अल्पसंख्यकको नागरिक अधिकार रक्षा गर्ने पश्चिमा समर्थित सम्झौता पछ्याउनुको सट्टा नागोर्नो–काराबाखमा गरेको आक्रमणले जातीय सफायाको अर्थ दिन्छ । उसो त धेरैले छोड्न खोजे पनि अझै केही मानिसले नागोर्नो–काराबाख छाडेका छैनन् । नछोड्नेको सुरक्षाका लागि अजरबैजानले नियन्त्रणमा लिएको क्षेत्रमा मानव अधिकार उल्लंघन नभएको सुनिश्चित गर्न आवश्यक छ । यसका लागि पश्चिमले आफ्नो प्रभावको प्रयोग गर्नुपर्छ विशेषतः नाकाबन्दीजस्ता उपाय अवलम्बन गर्नुपर्छ किनभने अजरबैजानका सम्भ्रान्तले प्रायः युरोप र अमेरिकामा समय एवं पैसा खर्च गर्ने गर्छन् । यसका लागि युद्धस्तरमा काम गर्न आवश्यक छ किनभने हामीले पहिले नै धेरै समय गुमाइसकेका छौँ ।
अजरबैजानले आर्मेनियाली अल्पसंख्यकको नागरिक अधिकारको रक्षा गर्ने पश्चिमा समर्थित सम्झौता पछ्याउनुको विकल्प छैन
यो एकदिवसीय युद्धको नतिजा नागोर्नो–काराबाखमा मात्रै सीमित छैन । यसले अन्यत्र पनि दिगो प्रभाव पार्नेछ । १९ सेप्टेम्बरको एकदिवसीय युद्धले ककेसस क्षेत्रमा शक्ति गतिशीलतामा भएको परिवर्तनलाई जनाउँछ । सन् १९९१ मा सोभियत संघको पतन भएयता आर्मेनियाको सार्वभौमसत्ता सबैभन्दा कमजोर भएको छ । १९औँ शताब्दीको सुरुवातदेखि प्रमुख क्षेत्रीय शक्ति रहेको रुस आर्मेनियाको सैन्य गठबन्धनसँग जोडिएको थियो । एकदिवसीय युद्धपछि रुस एक अक्षम एवं विश्वासघाती ठहरिएको छ । द्वन्द्व रोक्न पश्चिमा प्रयास असफल भएका छन् र अजरबैजानको हालैको आक्रमणलाई सहयोग गरेको टर्कीले यस क्षेत्रमा आफ्नो प्रभाव बढाएको छ ।
हाल विकसित परिघटनाको कारकमध्ये आर्मेनियाभित्रको आन्तरिक परिवर्तन पनि एक हो । विगतमा क्रेमलिनसँग आर्मेनियाली नेतृत्वको बलियो सम्बन्ध थियो । यद्यपि, सन् २०१८ मा राजधानी येरेभानमा युवा प्रदर्शनकारीको लहरले भ्रष्ट रुस–समर्थित सत्तालाई हटायो र त्यसवेला सत्तामा काराबाखका पूर्वयुद्ध सरदार पनि थिए ।
सन् २०१८ को ‘मखमली क्रान्ति’को नेतृत्व गरेका हालका प्रधानमन्त्री निकोल पसिन्यानले रुससँग घनिष्ठ सम्बन्ध कायम राख्ने वाचा गरेका थिए । यद्यपि, भ्लादिमिर पुटिनले उनलाई सोभियत विभाजनपश्चात् सो क्षेत्रमा लोकप्रिय विद्रोहको माध्यमबाट सत्तामा आएको भन्दै कहिल्यै माफ गरेनन् । सन् २०२० मा पुटिनको मौन अनुमोदन र टर्कीको स्पष्ट समर्थनपछि अजरबैजानका नेता इल्हाम अलियेभले नागोर्नो काराबाखमा सैन्य आक्रमण गरेका थिए र नागोर्नो काराबाखको द्वन्द्व समाधान नहुने स्थिति निम्तियो ।
तथापि, हालका घटनाक्रमका लागि तात्कालिक कारकमा रुसको कमजोरी देखिन्छ । भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वको चुनौतीको सामना गरिरहँदा टर्की र अजरबैजानले आफ्नो स्वार्थपूर्ति गर्ने अवसर सिर्जना गर्न यसको प्रयोग गरेका थिए । जब अजरबैजानले गत वर्ष आर्मेनियाको भूमिमा सैन्य आक्रमण गरेको थियो तब रुसका राष्ट्रपतिले कुनै कारबाही गरेनन् । यसपछि आर्मेनियाले धोका पाएको महसुस ग¥यो र पश्चिमतर्फ सम्बन्ध विस्तार गर्न थाल्यो । यसबाहेक आर्मेनिया अजरबैजानका अधिकांश माग स्वीकार गर्न बाध्य भयो र नागोर्नो–काराबाखमाथि अजरबैजानको सार्वभौमसत्तालाई स्वीकार गर्यो ।
आर्मेनियाले पश्चिमतर्फ झुकाव बढाएपछि भ्लादिमिर पुटिन आर्मेनियाप्रति आक्रोसित भएका छन् । पुटिनका अनुसार आर्मेनियाको हालैको गल्ती भनेको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सामेल हुने यसको मनसाय हो । स्मरण रहोस्, अदालतले पुटिनलाई युक्रेनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ । पुटिनले येरेभानमा अशान्ति भड्काइरहेका छन् भन्ने चिन्ता व्यापक छ । अजरबैजानले आर्मेनियामा अतिक्रमण जारी राख्न सक्छ र रुस तथा टर्कीसँग आर्मेनियाको दक्षिणी भागमा करिडोर स्थापना गर्न सहयोग गर्न सक्छ भन्ने अहिलेको सबैभन्दा महत्वपूर्ण चिन्ता रहेको छ । यो करिडोरले टर्की र अजरबैजानलाई जोड्नेछ । यसबाहेक आर्मेनियाले आफ्नो सार्वभौमसत्ता गुमाउँदै इरानसँगको महŒवपूर्ण सीमाबाट छुट्टिनेछ ।
तत्कालका लागि पश्चिमा सरकारले अर्मेनियालाई नागोर्नो–काराबाखबाट आउने शरणार्थी आगमनको व्यवस्थापन गर्न र आर्मेनिया र अजरबैजानबीचको दिगो शान्तिका लागि निष्पक्ष वार्ताको वातावरण तयार गर्न सहयोग गर्नुपर्छ । भविष्यलाई हेर्दै पश्चिमले रुसमाथिको आफ्नो निर्भरता कम गर्न आर्मेनियाको पहललाई समर्थन गर्नुपर्छ । त्यसैगरी, पश्चिमले टर्कीलाई आर्मेनियासँगको सम्बन्ध सुधार गर्न प्रोत्साहित गर्नुपर्छ अर्थात् दुई मुलुकबीच लामो समयदेखि बन्द रहेको सिमाना पुनः खोल्न पहल गर्नुपर्छ । यसले व्यापारलाई प्रोत्साहन गर्दै आर्मेनियाको अलगावलाई कम गर्न सक्छ । परिस्थिति थोरै अनुकूल हुने हो र कूटनीतिक प्रयास चालिने हो भने ककेससको विद्यमान अराजकतालाई अन्त्य गर्न सकिनेछ ।
– द इकोनोमिस्टबाट