मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १९ शुक्रबार
  • Tuesday, 11 March, 2025
गणेश लम्साल विराटनगर
२o८o श्रावण १९ शुक्रबार १२:२५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षा सुधारको माग गर्दै धर्नामा बसेकी इन्दिरा पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o श्रावण १९ शुक्रबार १२:२५:oo

सामुदायिक शिक्षा सुधारको माग गर्दै  धर्नामा बसेकी अभियन्तालाई विराटनगर महानगरपालिकाले प्रहरी लगाएर पक्राउ गरेको छ। महानगरले उनलाई  मेयरमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दासमेत दर्ता भएकाे छ।  

विराटनगर महानगरपालिका– ५ बस्दै आएकी ५२  वर्षीया इन्दिरा चापागाईंलाई मेयरलाई अभद्र व्यवहार गरेको भन्दै गत सोमबार प्रहरी बोलाएर पक्राउ गर्न लगाई अभद्र व्यवहारमा मुद्दा दर्ता भएकाे हाे। प्रहरीले उनलाई सोमबार पक्राउ गरी सात दिन म्याद थप गरेकाे छ। 

विराटनगरको बरगाछीस्थित गोग्राहा माध्यमिक विद्यालय सञ्चालक समिति अध्यक्षसमेत रहेकी चापागाईं गोग्राहा कलेजलाई महानगरपालिकाले प्रक्रिया नपुर्‍याई बजेट विनियोजन गरेको भन्दै महानगरअगाडि गत जेठदेखि निरन्तर धर्ना बस्दै आएकी थिइन्। 

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले  चापागाईंले उठाएका मागबारे पटक–पटक महानगर प्रमुख नागेश कोइराला र आफूहरूले सम्झाउन प्रयत्न गरेको र नमानेपछि बाध्य भएर प्रहरीको सहयोगमा धर्नाबाट हटाउन लगाएको बताए।

उनले भने, ‘हामीले गेटअगाडिबाट हटाउन लगाएकाे मात्रै हो। उनलाई कुनै कुटपिट र अभद्र व्यवहार गरेका छैनौँ। बरु उनले नै अभद्र व्यवहार गर्दै आएकी थिइन्। प्रहरीले मुद्दा दर्ता गराएकोबारे मलाई जानकारी छैन।’ महानगर प्रमुख कोइराला विराटनगरबाहिर भएकाले उनीसँग भने सम्पर्क हुन सकेन।  

मोरङका सिडिओ वीरेन्द्र यादवले महिलालाई आफूले चिने पनि पक्राउ परेको र मुद्दा दर्ताबारे आफूलाई जानकारी नभएको बताए। 

यता इन्दिराले जायज माग राखेर विकृतिविरुद्ध शान्तपूर्ण धर्ना बस्ने र उजुरी गर्ने मौलिक अधिकार भए पनि आफूलाई महानगरले झुटाे आरोपमा पक्राउ गर्न लगाएर मुद्दा दर्ता गराएको बताइन्। पटक–पटक नगर प्रहरी र नेपाल प्रहरीले धर्नास्थलबाट हटाउन कुटपिट गरेको गुनासो गरिन्। 

हिरासतमा रहेकी चापागाईंले भनिन्, ‘म सुशासनको अभियन्ता हुँ। काठमाडाैंको जस्तो अलग्गै धर्ना बस्ने ठाउँ पनि विराटनगरमा छैन। अनि मजस्ती फिस्टीले सडकपेटीमा गेटअगाडि कसैलाई अवरोध नगरी जायज माग पूरा गराउन धर्ना पनि बस्न नपाउने कस्तो न्याय हो यो ?’ 

एन्टिकरप्सन मुभमेन्ट विराटनगरका अध्यक्ष पारुल क्षेत्रीले सुशासनको पक्षमा आवाज उठाउँदै धर्नामा बसेकी महिलालाई निरीह ठानेर पक्राउ गर्न लगाउनु महानगरपालिकाको गैरजिम्मेवारीपन भएको प्रतिक्रिया दिए।  

के हाे गोग्राहा कलेजकाे विवाद ?

विराटनगर महानगरपालिका शिक्षा शाखाका अनुसार इन्दिराले भनेको ग्रोगाहा कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेको निजी कलेज हो। तर, उक्त कलेजले गोग्राह माविकै भवन र फर्निचर प्रयोग गर्दै आएको छ।
 
पहिले उक्त्त कलेज विद्यालयकै मातहत सञ्चालन भएको थियो। तर, पछि सञ्चालक समिति परिवर्तन भएपछि उक्त कलेजलाई निजी बनाइएको थियो। 

कलेजले  शिक्षा संकायतर्फको बिएड कक्षा सञ्चालन गराउँदै आएको छ। निजी भएपछि उक्त्त कलेजले विद्यार्थीहरूसँग मनग्गे शुल्क पनि उठाउँदै आएको छ। यसैले महानगरपालिकाले निजी कलेजलाई सहयोग गर्न नहुने माग इन्दिराको छ।

उनले यसविरुद्ध जिल्ला प्रशासन मोरङ र विराटनगर महानगरपालिकामा उजुरी पनि दर्ता गराएकी थिइन्।

को हुन् इन्दिरा ?

गोग्राहा माध्यमिक विद्यालयकी पूर्वव्यवस्थापन समिति अध्यक्ष रहेकी इन्दिरा चापागाईं टाउकोमा फेटा, हातमा नेपालको झन्डा र ब्यानरमा आफ्ना माग राखेर भ्रष्टचारविरुद्ध  विराटनगरमा एक्लै  निरन्तर प्रदर्शन गर्दै आएकी छिन्। 

उनले कहिले प्रदेश सभाअगाडि, कहिले मन्त्रालय र महानगरअगाडि धर्ना दिँदै आएकी थिइन्। उनलाई पटक–पटक प्रहरीले धर्नास्थलबाट हटाउने गरेको थियो। निरन्तर एक्लै आन्दोलनमा होमिएकी उनलाई ‘मनोरोगी’ को आरोप पनि लाग्ने गरेको छ।    

उनले आफू अध्यक्ष हुँदा गोग्राहा माविमा भएको अनियमितता र भ्रष्टचारविरुद्ध अख्तियार र अदालत पनि गुहारेकी थिइन्। उनको व्यवस्थापन समिति सचिव रहेका प्रअ र शिक्षकहरूसँग द्वन्द्व बढ्न थाल्यो। तत्कालीन  प्रअ विष्णुबहादुर  भुजेलले उनीमाथि अपशब्द बोल्दै उनको बेइज्जत गरेका थिए।

इन्दिराले भुजेलविरुद्ध बेइज्जती गरेको भन्दै २०७२ मा जिल्ला अदालत मोरङमा गाली–बेइज्जती मुद्दा दर्ता गराएकी थिइन्।  उक्त मुद्दामा ३ चैत ०७३ मा  जिल्लाले र  २२ फागुन ०७४ मा उच्च अदालतले इन्दिराको पक्षमा फैसला गर्‍यो। 

निम्नवर्गीय परिवारमा जन्मिएकी इन्दिराका पति स्कुलको बस चलाउँछन् भने एक छोरा र एक छोरीले सरकारी क्याम्पसमा पढ्छन्। उनी कवियत्रीका रूपमा समेत चिनिन्छिन्।