१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १८ बिहीबार
  • Saturday, 07 September, 2024
२o८o श्रावण १८ बिहीबार १६:४५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

२५ हजार रियाल तिर्न नसक्दा साउदीमा अलपत्र

स्वदेश फिर्ताका लागि सहयोग गरिदिन पत्नी अजिताको अपिल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १८ बिहीबार १६:४५:oo

खजुरा गाउँपालिका– २ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द १८ कात्तिक ०७५ को एकाबिहानै साउदी जानका लागि घरबाट बिदा भए।

उनी नेपालगन्जबाट काठमाडौंको बस चढे। एक रात काठमाडौंमा बसेर उनी २० कात्तिकमा काठमाडौंबाट साउदीका लागि प्रस्थान भए। उनी साउदीको एक कम्पनीमा काम गर्दै थिए। करिब डेढ वर्षसम्म काम राम्रैसँग चलिरहेको थियो। पारिश्रमिक पनि ठीकै थियो। 

तर, दुई वर्ष नपुग्दै दुई हजार पारिश्रमिकबाट कम्पनीले एक हजार रियालमा झार्‍याे। उनी छाँगाबाट खसेझैँ भए। र, अन्त्यमा उनले कम्पनी छाड्ने निर्णय गरे र साथीहरूसँग मिलेर कम्पनीबाट फरार भए। त्यतिवेला उनले कम्पनीबाट दुई महिनाको तलब लिन बाँकी नै थियो।

कुवेर चन्द अर्को कम्पनीमा काम गरिरहेका थिए। उनको भिसाको समय सकिनै लागेको थियो । उनी घर फर्किने योजना बनाए, तर उनी आउन पाएनन्। 

‘पहिलेको कम्पनीले २५ हजार रियाल तिर्न बाँकी रहेको भन्ने उजुरी सरकारलाई दिएको रहेछ,’ उनकी पत्नी अजिताले भनिन्, ‘कम्पनीले दिएको उजुरीका कारण स्वदेश फर्किने उहाँ (पति) को योजना बीचमै तुहियो।’ 

अजिता भन्छिन्, ‘ऋण, सापट गरेर भए पनि तीन–चार लाख रुपैयाँ पठाउँछु भनेकी थिएँ। पतिले १४–१५ लाख रुपैयाँ हो भनेपछि छाँगाबाट खसेझैँ भएँ। यति ठूलो रकम तिर्न नसक्ने भएपछि उतै अलपत्र पर्नुभएको छ।’

पतिले आफू स्वदेश फर्किन नसक्ने कारण फोनमार्फत सुनाएको अजिताले बताइन्। अजिताले रकम जोहो गरेर पतिलाई स्वदेश ल्याउने कोसिस गरिन्, तर ठूलो रकमका कारण उनको प्रयास असफल भयो। 

अजिता भन्छिन्, ‘ऋण, सापट गरेर भए पनि तीन–चार लाख रुपैयाँ पठाउँछु भनेकी थिएँ। पतिले १४–१५ लाख रुपैयाँ हो भनेपछि छाँगाबाट खसेझैँ भएँ। यति ठूलो रकम तिर्न नसक्ने भएपछि उतै अलपत्र पर्नुभएको छ।’

सरकारले उनीविरुद्ध उजुरी दिएपछि उनी विगत तीन महिनादेखि बेरोजगार छन्। साथीभाइको कोठामा बस्दै आएका उनले कम्पनीले दिएको उजुरीलाई लिएर दूतावास गुहारे। कम्पनीसँग सोधपुछ गरे। रकम मिनाह गर्न हारगुहार गरे। 

बिन्तिभाउ बिसाए, तर उनको हारगुहार न दूतावासले सुन्यो न त कम्पनीले नै। ‘नेपाल आउने व्यवस्था मिलाइदेऊ भन्दै हरेक दिन फोन गर्नुहुन्छ। निराश र हतास देखिनुहुन्छ। मानसिक तनावमा हुनुहुन्छ,’ उनले भनिन्। 

कुवेर र अजिताका एक छोरा र एक छोरी छन्। १७ वर्षीय छोरा नेपालगन्जस्थित ब्राइटल्यान्ड कलेजमा होटेल म्यानेजमेन्ट पढ्छन्। ६ वर्षीया छोरी गाउँकै ध्रुवतारा बोर्डिङ स्कुलमा यू केजीमा पढ्छिन्। 

बाबा साउदी जाने समयमा छोरी करिब दुई वर्षकी थिइन्। अजिताले भनिन्, ‘छोरीले बाबालाई एकदमै पछ्याउँछिन्। भिडियो कल गरेर बाबा कहिले फर्किनुहुन्छ ? छिटो घर आउनुस् भन्छिन्,’ अजिताले भनिन्, ‘तिमी ठूलो भएपछि आउँछु छोरी भन्ने जवाफ फर्काउनुहुन्छ। छोरीले तपाईं सधैँ तिमी ठूलो भएपछि आउँछु भन्नुहुन्छ, म ठूलो भइसकेँ बाबा छिट्टै आउनुस् भन्छिन्।’

पतिले रकम नपठाएपछि छोराछोरी पढाउन र घरखर्च धान्न अजितालाई हम्मे–हम्मे परेको छ। छोरीको विद्यालय शुल्क थोरै भए पनि छोराको मासिक शुल्क धेरै छ। ‘छोरीको विद्यालय शुल्क जसोतसो तिरे पनि छोराको कलेज शुल्क तिर्न मुस्किल छ,’ उनले भनिन्। 

उनीसँग भएको एउटा घर पनि बैंकमा छ। उनले पतिलाई साउदी पठाउन र घर बनाउन बैंकबाट कर्जा लिएकी हुन्। उनले तीन महिनामा ब्याज र साँवा गरी २८ हजार बुझाउनुपर्छ। 

उनले गत तीन महिनाको सावाँ र ब्याज नबुझाएको बताइन्। ‘बैंकले किस्ता हाल्नुपर्‍याे भनेर फोन गरेकाेगरै गर्छ। मैले पैसा छैन। भएपछि एकमुस्ट बुझाउँछु भनेर टार्दै आएकी छु,’ उनले भनिन्। 

उनले साउदीको दमाममा अलपत्र रहेका पतिलाई नेपाल फिर्ता ल्याइदिन अपिल गरेकी छिन्। आफ्नोतर्फबाट रकम तिरेर ल्याउन सक्ने अवस्था नरहेको बताउँदै उनले सरकार, दूतावास, राजनीतिक दलका नेता, सांसद, गाउँपालिकाका जनप्रतिनिधिको सहयोगको अपेक्षा गरेकी छिन्। 

‘मेरो र परिवारका अन्य सदस्यले रकम जम्मा गरेर मेरो पति नेपाललाई झिकाउन सक्ने अवस्था छैन। सरकार, दूतावास, राजनीतिक दलका नेता, सांसद र गाउँपालिकाका जनप्रतिनिधिको सहयोगविना उहाँ (पति) नेपाल आउने सम्भावना छैन,’ उनले भनिन्।