मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १२ शुक्रबार
  • Saturday, 21 December, 2024
दोलखाको जिरी नगरपालिका- ९ स्थिते झाक्रे चोल्पे र भुसुने सुगुरे सामुदायिक वनमा काटिएका रुख । तस्बिर : श्याम खतिवडा/ नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार १९:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वृक्षरोपण गर्ने भन्दै जिरीका दुई सामुदायिक वनमा व्यापक फँडानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार १९:३o:oo

दोलखाको जिरी नगरपालिका– ९ का दुई सामुदायिक वनमा वृक्षरोपण गर्ने भन्दै वन फँडानी गरिएको छ । 

जिरी– ९ को झाक्रे चोल्पे सामुदायिक वन र भुसुने सँगुरे सामुदायिक वनमा असार–साउनको मध्यसमयमा वृक्षरोपण गर्ने भन्दै ठूलो संख्यामा रूख कटान गरिएको हो । 

दुईवटै सामुदायिक वनमा आरुपाते, रगचन, अँगेरी, काफल, मौवालगायत जातका सयौँ रूखहरू कटान गरिएको एक स्थानीयले बताए । वन ऐनअनुसार सामुदायिक तथा राष्ट्रिय वनमा कात्तिकअगाडि कुनै पनि जातका रूख–बिरुवा कटान गर्न नपाइने व्यवस्था भए पनि डिभिजन वन कार्यालयको विनाअनुमति सयौँको संख्यामा रूखहरू कटान गरिएको स्थानीय उपभोक्ताहरूले जनाएका छन् । 

दुईवटै सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा रूख कटान गरी बिक्री गर्न खोजिएको आरोपसमेत उपभोक्ताहरूले लगाएका छन् । उनीहरूले तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीको माग गरेका छन् । 

सामाजिक सञ्जालमा वन फँडानीका दर्जनौँ तस्बिर पोस्ट गर्दै स्थानीय उपभोक्ता जीवन सुनुवारले दुईवटै सामुदायिक वनमा काटिएका दर्जनौँ रूख एक व्यापारीमार्फत बाहिर निर्यात गर्न खोजेको आरोप लगाएका छन् । 

उनले उपभोक्ताहरूसँग परामर्श नै नगरी यति ठूलो संख्यामा रूख काटिनु शंकास्पद भएको भन्दै तत्काल छानबिनको माग गरेका छन् । सुनुवारसहितका अन्य उपभोक्ताहरूले वन ऐनको भावनाविपरीत समितिका पदाधिकारीहरूको स्वार्थमा उपभोक्तालाई जानकारी नै नगराई यति ठूलो संख्यामा रूख कटान गरेको भन्दै न्यायिक निकायमा उजुरी गर्ने तयारी गरेको जनाएका छन् ।

वृक्षरोपणका लागि काटेको दाबी
जिरी– ९ को झाक्रे चोल्पे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर खत्रीले वृक्षरोपणका लागि सामान्य रूखहरू काटिएको बताए । उनले डिभिजन वन कार्यालयबाट वृक्षरोपणका लागि केही बिरुवाहरू आएको र त्यसलाई रोप्न केही पुराना काम नलाग्ने रूखहरू काटिएको जनाएका छन् । 

उपभोक्ताहरूले भने रूख बिरुवा नभएका दर्जनौँ खाली भूभाग हुँदाहुँदै रूखैरूख भएको ठाउँमा वृक्षरोपणको बहानामा खराब नियतले रूख काटिएको बताउँदै आएका छन् । भुसुने सुँगुरे सामुदायिक वनका अध्यक्ष नारद सुनुवारसँग भने पटकपटक प्रयास गर्दा पनि टेलिफोन सम्पर्क हुन सकेन ।

अध्ययन गर्दै छौँ, गलत भए कारबाही गर्छौँ ः डिभिजन वन
सामुदायिक वनहरूको नियमन गर्ने निकाय डिभिजन वन कार्यालय दोलखाका प्रमुख डिभिजनल अधिकृत थीरबहादुर कार्कीले रूख कटान भएको जानकारी प्राप्त भएसँगै मातहतका कर्मचारीहरू त्यसतर्फ परिचालन भइसकेको जनाउँदै गलत भएको पाइए तत्काल कानुनी कारबाही अघि बढाउने जनाएका छन् । 

नयाँ पत्रिकासँग कुरा गर्दै कार्कीले भने, ‘यो समय रूख कटान गर्ने समय होइन, त्यसमाथि हामीले कटान अनुमति पनि दिएका छैनौँ, पहिला अध्ययन गर्छौँ । त्यसपछि गलत गरेको पाइए नियमअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

उनले वृक्षरोपण गर्ने भन्दै केही बिरुवाहरू त्यस क्षेत्रका वनले लगेको, तर त्यसका लागि ठूलो संख्यामा रूख काट्नु नपर्नेसमेत बताए । गलत नियतले रूख काटेको पाइएमा उनीहरूलाई वन ऐनअनुसार मुद्दा चलाइने डिभिजन वन कार्यालय दोलखाले जनाएको छ ।