मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Tuesday, 11 March, 2025
मञ्जु टेलर काठमाडाैं
२o८o असार १७ आइतबार o६:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पोलियोलगायत ६ वटा भाइरसविरुद्धको एउटै खोप आउने

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार o६:४१:oo

न्यून आय भएका देशलाई छानेर सन् २०२४ सम्ममा खोप दिने गाभीको योजना, नयाँ खोपको विश्वव्यापी बजार २०३० सम्ममा वार्षिक १० करोड डोज पुग्न सक्ने युनिसेफको अनुमान 

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)ले पोलियोलगायत अन्य पाँचवटा भाइरसविरुद्ध बनेको एउटै खोप निर्माणका लागि स्वीकृति प्रदान गरेको छ । गाभी विकासोन्मुख देशलाई खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था हो । विकासोन्मुख देशमा पोलियो अझैसम्म महामारीका रूपमा छ । 

गाभीको गभर्निङ बोर्डले नयाँ खोप उत्पादनका लागि स्वीकृत गरेको छ । यसअघि नै अमेरिका र युरोपका केही राष्ट्रले प्रयोगमा ल्याइसकेको यो खोप विकासोन्मुख देशमा प्रयोगका लागि निर्माण थालिएको हो । 

भ्याक्सिन विकासमा अध्ययन गरिरहेको मेरिल्यान्ड स्कुल अफ मेडिसिन विश्वविद्यालयका बाल संक्रामक रोग विशेषज्ञ डा. जेम्स क्याम्पबेल भन्छन्–
यो खोपको प्रयोगले विश्वव्यापी रूपमा बालबालिकामा पक्षघातको कारण बनिरहेका भाइरसमाथि नियन्त्रण गर्न सकिन्छ । खासगरी गाभीको यो प्रयासले अमेरिका र युरोपले निर्माण गरिरहेका महँगा भ्याक्सिनमा न्यून तथा मध्यम आय भएका देशहरूको पहुँच बढाउनेछ ।

हेक्साभ्यालेन्ट नाम दिइएको यो भ्याक्सिनले पोलियोलगायत हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, टिटानस, डिप्थेरिया र पर्टुसिसविरुद्ध काम गर्ने बताइएको छ । खासगरी बच्चामा प्रयोगमा ल्याइने यो खोपमा निष्क्रिय भाइरसको प्रयोग गरिने बताइएको छ । 

पोलियो कम्पोनेन्टको नामले समेत चिनिने यो खोप सहज उत्पादन भएमा प्रभावित अन्य राष्ट्रमा संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुग्ने गाभीसम्बन्ध अधिकारीले बताएका छन् । यो खोप बालबालिकामा झन्डै ९९ प्रतिशत पोलियोलगायत संक्रमणविरुद्ध प्रभावकारी देखिएको अध्ययनले देखाएका छन् । 

खासगरी थोपाका रूपमा खुवाइने पोलियोविरुद्धको औषधिमा जिउँदो भाइरस प्रयोग गर्दा दिसा–पिसाबको माध्यमबाट पुन अर्को व्यक्तिमा सर्न सक्ने जोखिम यो खोपले हटाउने बताइएको हो । 

गाभीले न्यून आय भएका देशलाई छानेर २०२४ सम्ममा खोप दिने बताएको छ । चारवटा डोज दिनुपर्ने यो खोप बच्चा जन्मेको पहिलो महिनामा तीन डोज र दुई वर्षको अवधिमा थप एक बुस्टर डोज लगाउनुपर्ने बताइएको छ । युनिसेफले नयाँ खोपको विश्वव्यापी बजार २०३० सम्ममा वार्षिक १० करोड डोज पुग्न सक्ने अनुमान गरेको छ । 

एउटै खोपमा ६ संक्रमणविरुद्धको औषधि राख्दा खोप महँगो हुने अनुमान छ । तर, कम डोज प्रयोगमा आउने हुँदा बालबालिकालाई बारम्बार खोप लगाइराख्नुपर्ने झन्झटबाट बचाउने, सिरिन्ज, सिरम रेफ्रिजेरेटर र स्वास्थ्यकर्मीसँग भेटघाटलगायत साना खर्च घटाउने भएकाले समेत प्रभावकारी हुने बताइएको हो । 

पछिल्लो समय अधिकांश बालबालिका खोपबाट व्युत्पन्न पोलियोबाट झन् प्रभावित भइरहेकाले नयाँ भ्याक्सिन निकै महत्वपूर्ण हुने भ्याक्सिन विकासमा अध्ययन गरिरहेको मेरिल्यान्ड स्कुल अफ मेडिसिन विश्वविद्यालयका बाल संक्रामक रोग विशेषज्ञ डा.जेम्स क्याम्पबेलले बताएका छन् । उनले भनेका छन्, ‘यो खोपको प्रयोगले विश्वव्यापी रूपमा बालबालिकामा पक्षघातको कारण बनिरहेका भाइरसमाथि नियन्त्रण गर्न सकिन्छ । खासगरी गाभीको यो प्रयासले अमेरिका र युरोपले निर्माण गरिरहेका महँगा भ्याक्सिनमा न्यून तथा मध्यम आय भएका देशहरूको पहुँच बढाउनेछ ।’

पोलियोलाई चिकित्साअन्तर्गत पोलियोमाइलाइटिस भन्ने गरिन्छ, जुन एक संक्रामक भाइरल रोग हो । खासगरी सरसफाइ अभाव हुने स्थानमा यो भाइरस जोखिमको कारण बन्ने गर्छ । भाइरसले सुरुवातीमा आन्द्रामा संक्रमण निम्त्याउँछ जुन बिस्तारै स्नायु प्रणाली फैलिँदै गएर पक्षाघात निम्त्याउँछ । विज्ञहरूले पोलियोको यस्ता थोरै जटिल केसलाई समेत विश्वव्यापी कठिनाइका रूपमा लिने गरेको पाइन्छ ।