
लगातार छैटौँ असफल वर्षा मौसमको सामना गर्दै ‘हर्न अफ अफ्रिका’का मुलुक ७० वर्षयताकै सबैभन्दा निकृष्ट खडेरी व्यहोरिरहेका छन् । विभिन्न अनुसन्धानअनुसार जलवायु परिवर्तनविना यो हुनै सक्दैन । सबै बाली असफल भइरहेका छन् र चौपाया मरिरहेका छन् र परिवार भोकमरी झेल्न बाध्य छन् । यस क्षेत्रमा दुई करोडभन्दा बढी मानिसले उच्चस्तरको गम्भीर खाद्य असुरक्षा व्यहोरिरहेका छन् र सोमालियामा हालै एकाएक आएको बाढीले संकटलाई थप जटिल बनाइदिएको छ । थुप्रै पूर्वी अफ्रिकी राष्ट्र हालैको राष्ट्रसंघको प्रतिवेदनमा उल्लिखित चरम खाद्य असुरक्षा भएको क्षेत्र अर्थात्, ‘हंगर हटस्पट’मा परेका छन् ।
यस सन्दर्भमा खाद्य बैंकिङ भोकमरीको सबैभन्दा प्रभावकारी प्रतिक्रिया मात्रै नभई यो अफ्रिकाभरिको सहयोग दिने संस्कृतिको इतिहासको प्राकृतिक विस्तार पनि हो । उदाहरणका लागि सन् २०२२ को विश्वमा दिने सूचकांकमा केन्या विश्वको दोस्रो सबैभन्दा उदार मुलुक हो, जहाँ ‘हारामबी’को सांस्कृतिक परम्पराले (स्वाहिली भाषामा ‘सबैलाई एक ठाउँमा ल्याउने’) लामो समयदेखि एकताको भावना प्रदान गरेको छ । सूचकांक तथ्यांकअनुसार अफ्रिका महादेशभरका मानिसले सहयोगको खाँचोमा परेका विशेषतः अपरिचितलाई मद्दत गर्ने सम्भावना धेरै हुन्छ केन्यामै ७७ प्रतिशत उत्तरदाताले अघिल्लो वर्ष नचिनेका व्यक्तिलाई मद्दत गरेका छन् ।
खाद्य बैंकिङ यो परम्पराको एक प्राकृतिक प्रगति हो, जहाँ परिवारले कठिनाइ वा संकट सामना गर्नेलाई सहयोग गर्छन् । र, परिवारले भोकमरीको संकटको प्रतिक्रियामा अमूल्य भूमिका खेल्न सक्छन् । पहिलो त गैरनाफामुखी खाद्य वितरण संस्थाका रूपमा खाद्य बैंकले अत्यधिक जोखिममा परेका र सीमान्तकृत समुदायलाई अत्यावश्यक स्वस्थकर अतिरिक्त खानासँग जोड्छन् ।
सन् २०१७ मा स्थापित फुड बैंकिङ केन्याले खडेरीको समयमा सबैभन्दा बढी प्रभावित समुदायलाई खाद्य सहायता प्रदान गर्ने घुम्ती खाद्य बैंकिङ सेवा सञ्चालन गर्छ । यसले पशुचौपाया पालनमा भरपरेका समुदायलाई आपत्कालीन सहायता मात्र उपलब्ध गराएको छैन, खडेरीप्रतिरोधी बालीखेती अभ्यास अपनाउन पनि सहयोग गरेको छ, जसले बढ्दो जलवायु चुनौतीको सामना गर्ने क्रममा सामुदायिक लचिलोपनलाई बलियो बनाउन सक्छ । त्यसैगरी, इथियोपियाको पहिलो औपचारिक खाद्य बैंक इट रेन्स फुड बैंकले सयौँ इथियोपियाली घरपरिवारलाई सहयोग गर्न आधारभूत खाद्यवस्तु खरिद गरी वितरण गरेर मानवीयता प्रदर्शन गर्दै छ ।
खाद्य बैंकिङ भोकमरीको सबैभन्दा प्रभावकारी प्रतिक्रिया मात्रै नभई यो अफ्रिकाभरिको सहयोग दिने संस्कृति र इतिहासको प्राकृतिक विस्तार पनि हो
दोस्रो, खाद्य बैंकले ती खानालाई जोगाउन मद्दत गर्छ, जुन अन्यथा कतै हराउनेछ । केन्यामा उदाहरणका लागि खेतमा उत्पादन हुने खाद्यान्नको लगभग ४० प्रतिशत खाद्यान्न खराब भण्डारण र बजार अभावका कारण नष्ट हुन्छन् । खडेरीले जीविकोपार्जन अवरुद्ध भएका यस क्षेत्रका साना किसानलाई खाद्यान्न संरक्षणले राहत दिन्छ । खाद्य बैंक समुदायमा आधारित हुन्छन् र स्थानीय रूपमा सञ्चालन हुन्छन् । अर्थात्, खाद्य बैंकरले सबैभन्दा ठूलो आवश्यकता कहाँ छन् र मानिसलाई कसरी खाना उपलब्ध गराउने भन्नेबारे पर्याप्त बुझाइ राख्छन् ।
सामान्य परिस्थितिमा खाद्य बैंकले भोकमरीको सामना गरिरहेका समुदायलाई खाद्यान्न उपलब्ध गराउन सम्पर्कको आवश्यक बिन्दुका रूपमा काम गर्छ । तर, खडेरीले स्थिति उल्टो पारेको छ । उच्चस्तरको अतिरिक्त शेषको सामना गर्नुको सट्टा धेरै किसान अहिले बालीनालीमा हुने पूर्ण असफलता, पशुचौपायाको क्षति र पानीको अभावमा जीवन निर्वाह गर्न संघर्ष गरिरहेका छन् । पहिले समुदायका लागि संकलन केन्द्रका रूपमा काम गर्ने खाद्य भण्डार अहिले खडेरीले बाली नष्ट भएका किसानलाई खाद्यान्न उपलब्ध गराउन प्रयोग भइरहेका छन् ।
खाद्य बैंकले लामो अवधिका लागि थप लचिलो र खाद्य–सुरक्षित समाज निर्माण गर्न मद्दत गरिरहेका छन् । उदाहरणका लागि खाद्य बैंकले विद्यालय खाद्य कार्यक्रममार्फत समुदायलाई सहयोग प्रदान गर्छन्, जसले बालबालिका विशेषतः बालिकालाई विद्यालयमा टिकिरहन मद्दत गर्छ । केन्याको नैरोबीका अनौपचारिक बस्तीमा खाद्य बैंकका नेतृत्वमा विद्यालय खाद्य कार्यक्रमले दैनिक करिब दुई हजार बालबालिकालाई पोषण र शिक्षामा पहुँच प्रदान गर्दै खाना उपलब्ध गराउँदै छन् । खाद्य बैंकले निःसन्देह अफ्रिकाका समुदायमा महŒवपूर्ण भूमिका खेलेका छन् र खाँचोमा परेकालाई मद्दत गर्ने सांस्कृतिक सम्पदा निर्माण गरेका छन् ।
सन् २०२० मा द ग्लोबल फुड बैंकिङ नेटवर्क इन अफ्रिकाका सदस्यले ८१ लाख किलो खाना वितरण गर्न मद्दत गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले बढेको थियो । र, तिनले १४ लाख मानिसलाई सेवा प्रदान पनि गरेका थिए ।
थप मानिसमाझ पहुँच बनाउन खाद्य बैंकलाई पूर्वाधार विस्तार गर्न र खाद्यान्नको अतिरिक्त शेषलाई कम गर्नका लागि गुणस्तरीय खाद्य प्रशोधन एवं संरक्षण विधिलाई समर्थन गर्न निजी क्षेत्र र सरकारी संस्थाबाट ठूलो लगानी आवश्यक छ । सरकार र निजी क्षेत्रले खाद्य बैंकलाई थप नजिकबाट सहकार्य गरेर सहयोग गर्न सक्छन् । यसले खाद्य बैंकको महत्व, खाद्यान्नको क्षति र अतिरिक्त शेष कम गर्नका लागि बैंकको भूमिकाबारे सामुदायिक चेतना बढाउनेछ र यो महत्वपूर्ण पनि छ किनभने, खाद्य बैंक आफ्नो आपूर्ति स्रोतका लागि स्थानीय व्यवसाय र अन्य साझेदारमा भर पर्छन् । थप लगानी हुँदा खाद्य बैंक हालको खडेरी र अन्य आकस्मिक प्रकोपको सामना गरिरहेका धेरै मानिसमाझ पुग्न सक्छन् । कालान्तरमा यस क्षेत्रमा पारस्परिक सहयोगको गहिरो परम्पराको लाभ उठाउँदै खाद्य बैंक सम्पूर्ण अफ्रिकाका लागि थप खाद्य सुरक्षित भविष्य निर्माण गर्न महत्वपूर्ण स्तम्भ बन्न सक्छन् ।
(कमाउ–रुटेनबर्ग द ग्लोबल फुड बैंकिङ नेटवर्कको सञ्चालक समितिकी सदस्य हुन्) अल जजिराबाट