
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास गर्न छुट्टै कोष वा प्रतिष्ठान बनाउने बताएका छन्।
मंगलबार बिहान प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न खप्तड पुगेका प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रलाई पर्यावरणमत्री बनाउँदै पर्यटन र आधात्मिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाए।
उनले प्रकृतिले दिएको स्वर्गको सही सदुपयोग गरी समृद्धि हासिल गर्ने परियोजना निर्माणका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गर्ने बताए।
उनले भने, ‘यसपटक सुदूरपश्चिमको विकास र समृद्धिका लागि मैले ध्यान केन्द्रित गरेको छु। चाहे त्यो विश्वविद्यालय निर्माण होस् या भारत भ्रमणका क्रममा गरिएका समझदारी। यो क्षेत्रलाई विकासमा अग्रणी नगरेसम्म समग्र देशको विकास हुन सक्दैन। नयाँ संरचनासहित खप्तडको विकासका लागि सरकार प्रतिबद्ध छ। खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको केन्द्र हो । यसलाई आर्थिक केन्द्र बनाउन सकिन्छ।’
तीन दिनसम्म चल्ने सम्मेलनमा भाग लिन भारतका धार्मिक तथा योगगुरु रामदेव, आयुर्वेदविज्ञ आचार्य बालकृष्णलगायतको उपस्थिति छ।