हामीले पशुलाई गर्ने व्यवहार गलत भएको तर्कसहित ५० वर्षअघि लेखिएको मेरो पहिलो लेख ‘द न्युयोर्क रिभ्यु अफ बुक्स’मा प्रकाशित भएको थियो । त्यसको दुई वर्षपछि मेरो ‘एनिमल लिबरेसन’ नामक पुस्तक प्रकाशित भयो र त्यसले आधुनिक पशु अधिकारको आन्दोलनको सुरुवात गर्यो ।
एनिमल लिबरेसनमा हामी जनावरहरूसँग गर्ने व्यवहारबारे नैतिक तर्क र तथ्यगत विवरण दुवै समाविष्ट छन् । ती नैतिक तर्क लगभग ५० वर्षको छलफलमा पनि आजसम्म डगमगाएका छैनन् । यी दृष्टिकोणलाई अहिले थुप्रै दार्शनिकको समर्थन छ । कान्सवादी क्रिस्टिना क्रोर्सगार्ड, त्यस्तै क्यारोल एडम्स, एलिस क्रेरी र लोरी ग्रुयनजस्ता नारीवादी दार्शनिक, पशु अधिकारबारे सामाजिक सौदा (सोसल कन्ट्रयाक्ट)को दृष्टिकोण राख्ने मार्क रोल्यान्ड्स अनि एरिस्टोटलको जस्तै धारणा राख्ने मार्था नुसबाउमजस्ता मेरो उपयोगितावादी दृष्टिकोणभन्दा धेरै फरक विचार राख्नेहरूले ती नैतिक तर्कलाई समथर्न गर्छन् ।
अर्कातर्फ, उक्त पुस्तक एनिमल लिबरेसनमा रहेका हामीले जनावरसँग के र कस्तो व्यवहार गर्छाैं भन्ने तथ्यगत विवरणले निकै समयदेखि पशुको वर्तमान अवस्थालाई सही तरिकामा पक्रिन छोडेका थिए । त्यसैले, १८ महिनाअघि मैले यो पुस्तकलाई पूर्ण रूपमा अद्यावधिक र पुनरावलोकन गर्ने काम सुरु गरेँ, जुन यसै महिना ‘एनिमल लिबरसन नाउ’ शीर्षकमा प्रकाशित हुँदै छ । सन् १९७५ यता पशुहरूप्रतिको हाम्रो दृष्टिकोण र व्यवहारमा हामीले कुनै सुधार गरेका छौँ कि छैनौँ भन्ने विषयलाई सम्बोधन गर्न म बाध्य भएँ र निचोड एउटा नयाँ पुस्तकाकारका रूपमा आयो । थुप्रै मानिस पशुमाथिको क्रूरतालाई लिएर चिन्तित छन्, तर उनीहरू हामी हाम्रा सहचारी पशुहरू, विशेषगरी बिराला र कुकुरलाई कसरी व्यवहार गर्छाैं भन्ने कुरामा केन्द्रित छन्, जसको संख्या विश्वव्यापी रूपमा करिब ८४ करोडजति छ ।
कारखानाजस्ता फार्ममा मासुका लागि दयनीय अवस्थामा हुर्काइएका लगभग दुई खर्ब मेरुदण्डयुक्त पशुहरूको संख्यासामु यो संख्या निकै सानो लाग्छ । खानका लागि सघन रूपमा पालिने पशुहरूको कल्याणले मानव नियन्त्रणअन्तर्गत रहेका पशुहरूको जीवन र मृत्युको वस्तुनिष्ठ मूल्यांकनमा हामी हाम्रा पशुपक्षीसँग कसरी व्यवहार गर्छाैं भन्ने कुराको महत्व उजागर गर्छ ।
बन्द खोर वा फार्ममा पालिने यी जनावरमध्ये करिब एक खर्ब २४ अर्बचाहिँ माछा (जलचर) छन् । हाम्रासामु अहिले माछाले दुःखपीडा महसुस गर्न सक्छ भन्ने कुराको बलियो प्रमाण उपलब्ध छ । त्यसैले उनीहरूको पीडालाई बेवास्ता गर्नुको औचित्य छैन । एक खर्ब २४ अर्ब माछाकै पीडाको परिकल्पना गर्न गाह्रो हुन सक्छ, सघन पालन (खेती)का कारण दुःख भोग्ने माछाहरूको कुल संख्या योभन्दा अझ बढी छ । प्रत्येक वर्ष समुद्रबाट अनुमानित चार खर्ब ६० अर्बदेखि ११ खर्ब माछाहरू निस्किन्छन् । तीमध्ये केहीलाई मांसाहारी माछाहरूको भोजन बनाइन्छ । केही मानवभोजन बन्छन् । खानका लागि पालिने एउटा सामान्य साल्मोन माछाले आफू मारिनुअघि एक सय ४७ वटा माछाको आहार गरेको हुन्छ ।
आधुनिक पशु–अधिकार आन्दोलनलाई उत्प्रेरित गर्ने श्रेय पाएको पुस्तक प्रकाशनको करिब ५० वर्षपछि वर्तमान अवस्थालाई समेटेर त्यसैको विस्तृत रूपमा परिमार्जित एवं अद्यावधिक नयाँ संस्करण प्रकाशित भएको छ । सघन पशुपालन र तिनको उत्पादनमा वृद्धिका कारण अहिले जनावरले मानिसबाट सन् १९७५ मा भन्दा बढी दुःख पाइरहेका छन् ।
माछापछि कुखुरा सबैभन्दा बढी खपत हुने मेरुदण्डयुक्त जीव हो । प्रत्येक वर्ष लगभग ७० अर्ब कुखुरा हुर्काइन्छन् र मारिन्छन् । सामान्यतयः एउटा ठूलो खोरमा एकपटकमा दुई लाख कुखुरा हुर्काइन्छन् । आजका कुखुरा यति छिटो हुर्किन्छन् कि तिनका खुट्टाको कलिला हड्डीले आफ्नो वजनसमेत धान्न सक्दैन, जसका कारण ती कुखुराले आफ्नो जीवनको अन्तिम पाँचौँ कालखण्डमा खुट्टामा असह्य पीडा अनुभव गर्छन् ।
त्यसैकारण, फार्ममा पालिने पशुको कल्याणका लागि सम्मानित विशेषज्ञका साथै पशु चिकित्सक ब्रिस्टल विश्वविद्यालयका इमेरिट्स प्रोफेसर जोन वेबस्टरले आधुनिक सघन पशुपालनलाई ‘मानिसको एउटा अर्काे चेतनशील जीवप्रतिको चरम अमानवीयताको एक व्यवस्थित उदाहरण’का रूपमा वर्णन गरेका छन् । (मैले चाहिँ सघन माछा पालन कि सघन कुखुरा पालन कुनचाहिँ बढी खराब हो यकिन गर्न सकेको छैन) ।
पशुपालनको थप सघनीकरण एवं उत्पादनमा वृद्धिका कारण मानिसले सन् १९७५ मा भन्दा आज जीवजन्तुलाई बढी दुःख दिइरहेको छ । यद्यपि, सन् १९७५ यताका प्रवृत्ति सबै नकारात्मक मात्रै पनि छैनन् । पशुहरूको पनि अधिकार हुनुपर्छ भन्ने दृष्टिकोणको व्यापक विस्तारदेखि खिल्ली उडाउनेसम्मका कुरा भएका छन् । धेरै देशमा पशु कल्याणको सुरक्षा गर्नुलाई सरकारको महत्वपूर्ण जिम्मेवारीको रूपमा हेरिन थालेको छ ।
युरोपमा खानका लागि हुर्काइने र अनुसन्धानमा प्रयोग गरिने करोडौँ जीवजन्तुको पीडालाई सुधारहरूले कम गरेको छ । सन् १९७५ मा अन्डा पार्ने लगभग सबैजसो कुखुरालाई राम्ररी पखेटा पनि फिँजाउन नमिल्ने जाली तारका खोरमा रखिन्थ्यो भने अहिले अन्डा पार्ने कुखुरालाई यसरी राख्नु युरोपियन युनियन र संयुक्त अधिराज्यसहितका २७ देशमा गैरकानुनी मानिन्छ । यी देशले प्रजननका लागि पालिने पोथी सुँगुर, गाई र भेडाहरूलाई चलमलाउन, एक कदमभन्दा बढी पछाडि फर्किन वा घुम्न नमिल्ने साँघुरा खोरमा राख्न पनि निषेध गरेका छन् ।
दुःखको कुरा, यस मामलामा विश्वका अधिकांश अन्य भाग युरोपभन्दा पछाडि छन् । संयुक्त राज्य अमेरिका पनि यसैमा पर्छ, जहाँ फार्ममा पालिने जीवजन्तुलाई कसरी पाल्ने भन्ने संघीय कानुनकै अभाव छ । यसले गर्दा अमेरिकामा अर्बाैं जीवजन्तु अहिले पनि ५० वर्षपहिलेकै स्थितिमा बाँचिरहेका छन् ।त्यसपछि चीन पनि छ ।
चीनले ५० वर्षपहिले तुलनात्मक रूपमा सघन खेती (पालन)बाट थोरै पशुपक्षी उत्पादन गथ्र्याे, तर अहिले सुँगुर उत्पादनमा ऊ विश्वको अग्रणी उत्पादक हो भने कुखुराको पनि ठूलो उत्पादक हो । उत्पादनलाई अझै बढाउन, चीनले अहिले २६ तल्ला र आठ लाख वर्गमिटरसम्मका विशाल गगनचुम्बी ‘फार्म’हरू निर्माण गरिरहेको छ, जुन फार्म सुँगुरले खचाखच भरिनेछन् ।
महात्मा गान्धी भन्थे– ‘कुनै पनि राष्ट्रको महान्ता र उसको नैतिक प्रगतिको आकलन त्यहाँका जीवजन्तुमाथि गरिने व्यवहारबाट गर्न सकिन्छ ।’ यस मापदण्डअनुसार, अहिलेसम्म विश्वमा साँचो अर्थमा महान् एवं नैतिक हिसाबले प्रगतिशील राष्ट्र छैनन् ।
प्रोजेक्ट सिन्डिकेट