१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ७ बिहीबार ०७:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेफ्रीलाई कुटे एपिएफ व्यवस्थापक पाण्डेले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ७ बिहीबार ०७:३६:००

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर सुरक्षा व्यवस्थापनका कारण फोर्थ अफिसियल भूमिका निर्वाह गरिरहेका ज्ञानबहादुर मोक्तानमाथि बुधबार दशरथ रंगशालामा हातपात भएको छ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत ६७औँ खेलमा एपिएफका सहायक व्यवस्थापक जिवेशकुमार पाण्डेले फोर्थ अफिसियल मोक्तानमाथि हात हालेका हुन् । 

राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहिसकेका पाण्डेले टनलभित्र प्रवेश गर्ने क्रममा मोक्तानको टाउकोमा मुक्का प्रहार गरेका हुन् । प्रतिस्पर्धामा एपिएफले साबिक दुईपटकको विजेता मच्छिन्द्रलाई १–० ले हराउँदा पनि सहायक व्यवपस्थापक पाण्डे खुसी हुन सकेनन् । 

रातो कार्ड खाएर मैदानबाट बाहिरिने क्रममै पाण्डेले मोक्तानलाई अपशब्द प्रयोग गरेका थिए । रिस नियन्त्रणमा राख्न नसकेका पाण्डेले एकैपटक हातपात गरे । ‘खेल सकिएपछि उहाँले टनलमा एक्कासि अपशब्द बोल्दै टाउकोमा प्रहार गर्नुभयो,’ मोक्तानले घटना सुनाउँदै नयाँ पत्रिकासँग भने, ‘घटना हुँदा आयोजकका कोही थिएनन् ।’ यो खेललाई फिफा रेफ्री प्रज्वल क्षेत्रीले सञ्चालन गरेका थिए । 

कमजोर सुरक्षा व्यवस्थापन
इन्जुरी समयमा एपिएफका आवास लामिछाने र मच्छिन्द्रका रक्षक देवेन्द्र तामाङबीच विवाद भएको थियो । प्रतिस्पर्धामा समय कटाएको भन्दै देवेन्द्रले आवासलाई कार्ड दिनुपर्ने माग राखेका थिए । एपिएफका सहायक व्यवस्थापक पाण्डेले पनि टर्च लाइनबाटै फोर्थ अफिसियल रेफ्रीलाई अपशब्द प्रयोग गर्दै देवेन्द्रलाई कार्डको माग राखे । फिफा रेफ्री प्रज्वलले इन्जुरी समयको चौथो मिनेटमा पाण्डेलाई सीधै रातो कार्ड देखाए । फुटबलमा रातो कार्ड पाएका जोकोही पनि बेन्चमा बस्न पाउँदैनन् । 

अफिसियल वा सुरक्षाकर्मीले रातो कार्ड पाएका ती व्यक्तिलाई प्यारपिटमा पठाउनुपर्छ । तर, रातो कार्ड बेहोरेका पाण्डेले बेन्च छाडेनन् । उनी प्यारापिटमा नगएपछि रेफ्री प्रज्वलले खेल सञ्चालन गर्न मानेनन् । त्यसपछि पाण्डेले बेन्च छाडे पनि टनलमै उभिरहे । यसबीच, फोर्थ अफिसियल मोक्तानले पाण्डेलाई प्यारपिटमा जान आग्रह गरे । ‘रेफ्रीमाथि हातपात भएको छ । यो ठीक भएन । एउटा विभागीय टोलीबाट यस्तो घटना हुनु राम्रो हैन,’ खेल सञ्चालन गरेका एक अफिसियलले भने, ‘एन्फाले यस विषयमा राम्रो छानबिन गरी दोषीलाई चाँडै कारबाही गर्नुपर्छ ।’ गत केही दिनअघि एपिएफकै रक्षक एडामा डौम्बियाले रेफ्री प्रज्वलमाथि गलत व्यवहार गरेका थिए ।