१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख १८ मंगलबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४o:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा १८ वर्षअघिको लागुऔषध मुद्दामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरार सूचीमा रहेका लामालाई बुधबार पक्राउ गरेको हो ।

लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका लामालाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

यो मुद्दामा लामालाई पाँच वर्ष कैद सजाय फैसला भएको थियो । बुधबार सार्वजनिक बिदा भएकाले उनलाई बिहीबार अदालतमा उपस्थित गराइनेछ । ‘फैसला कार्यान्वयनका लागि उन (दावा लामा)लाई पक्राउ गरिएको हो,’ एसएसपी राठौरले भने, ‘अब बिहीबार अदालतमा पेस गर्नेछौँ ।’ 

८ साउन ०६१ मा वनस्थली चोकनजिकैबाट पाँच ग्राम खैरो हेरोइनसहित पक्राउ परेका लामालाई उच्च अदालत पाटनले १० जेठ ०६४ मा पाँच वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएको थियो । त्यसविरुद्ध सर्वाेच्चमा पुनरावेदन नभएकाले सोही फैसला अन्तिम बन्यो । फरार रहेकै समयमा लामा एन्फा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

सुरुमा अदालतले पुर्पक्षका लागि कारागार पठाएकोमा फैसलाका क्रममा ६ महिना मात्र कैद भएपछि उनी १० महिना जेल बसेका थिए । थुनामा गएको १० महिनापछि मात्र फैसला भएको थियो । जिल्लाको फैसलाविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत गएकोमा उनलाई पाँच वर्ष कैद सजाय तोकिएको हो । १० महिनाकोे अवधि कटाएर अब बाँकी अवधि उनी जेल बस्नुपर्ने हुन्छ । 

गएको एन्फा निर्वाचनमा लामा उपाध्यक्ष निर्वाचित भएका थिए । त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए । लामा एएफसीको सामाजिक उत्तरदायित्व समितिका सदस्य पनि हुन् । 
 

ad
ad