तलातको अर्धशतकप्रेरित कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य

आइतबार, २९ कार्तिक, २०८३
डिजिटल संस्करण
तलातको अर्धशतकप्रेरित कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसैन तलातको अर्धशतकप्रेरित कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो अन्तिम खेलमा चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५३  रन बनायो।

कर्णालीका लागि पाकिस्तानका अलराउन्डर हुसैत तलातले ३३ बलमा सर्वाधिक ५१ रन बनाए। एनपिएलमा पहिलो अर्धशतक बनाएका तलातले दुई चौका र तीन छक्का हान्दै अविजित रहे।

बंगलादेशका ओपनर अरिफुल इस्लामले ३५ रन बनाए। १५ बलमा चार चौका र दुई छक्का हिर्काएका उनलाई सलाहुद्दिन खानले बोल्ड गरेका थिए।

नवौँ नम्बर क्रिजमा आएका अलराउन्डर गुल्सन झाले ६ बलमा आक्रमक ब्याटिङ गर्दै १८ रन जोडे। एक चौका र दुई छक्का हिर्काएका उनलाई रिजन ढकालले कुशल मल्लबाट क्याच गराए। पवन सर्राफले २१ बलमा १५ रनको योगदान गरे ।  

यसअघि कर्णालीबाट डेब्यु गरेको ओपनर सचिन शर्मा डकआउट भए। तीन बलको सामना गरेका उनलाई कमलसिंह ऐरीले एलबिडब्लू धरापमा पारेका हुन्। तेस्रो क्रमका दीपक डुम्रेले पनि मात्र सात रन बनाए। कप्तान डेभिड मिलरले आठ बलमा मात्र पाँच रन बनाएका हुन्। उनलाई उसमा मिरले कुशल मल्लबाट क्याच गराएका थिए। निवर्तमान कप्तान सोमपाल कामीले चार तथा स्कटल्यान्डका मार्क वाटले ६ रन मात्रै जोडे। 

चितवनको लागि उसमान मिर, सलाहुद्दिन खान र कमलसिंह ऐरीले समान दुई विकेट लिएका थिए। कप्तान सिकन्दर राजा र रिजन ढकालले समान एक विकेट हात पारे। 

चितवन एक खेलअघि नै प्लेअफमा स्थान बनाइसकेको छ। पछिल्लो खेलमा चितवनले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको थियो। टोलीले ६ खेल खेल्दा तीन जितसहित सात अंक जोडेको छ। 

यता, कर्णाली भने लगातार चार खेलमा पराजित हुँदा प्लेअफबाट बाहिर भएको थियो। पहिलो दुई खेलमा सानदार जित निकाले पनि कर्णालीले लयलाई निरन्तरता दिन सकेन। ६ खेलमा मात्र चार अंक जोडेको छ।

सुझावित समाचार