युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि भएको कारबाहीको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग जानकारी माग गरेको छ । मन्त्रालयले मंगलबार राखेपलाई पत्र लेख्दै स्वीकृति नलिएर बहराइनमा विश्वकप छनोटमा पदाधिकारी पठाउने एन्फालाई कानुनअनुसार कारबाही गरेर जानकारी गराउन निर्देशन दिएको थियो ।
तर, अहिलेसम्म जानकारी प्राप्त नभएको भन्दै राखेपसँग मन्त्रालयले जवाफ मागेको हो । मन्त्रालयले एन्फामाथि गरिएको कारबाहीको जानकारी अविलम्ब गराउन राखेपलाई पत्राचार गरेको छ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनमा भइरहेको खेलमा नेपाली टोलीसँगै अतिरिक्त अनावश्यक व्यक्ति जाने भएपछि गत साता मन्त्रालयले ध्यानाकर्षण गराएको थियो । राखेपको स्वीकृतिविना एन्फाका अतिरिक्त ८ व्यक्ति बहराइन भ्रमणमा पुगेका छन् ।
६ चैतमा बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय लामा र विष्ट, उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री राखेपको स्वीकृतिविना गएका थिए ।