
जेन–जी आन्दोलनका कारण स्थगित भएको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक खुलेको पहिलो दिन नै पहिरो गएको छ । बिहीबार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको हो ।
मार्केट भल्टलाई छाड्ने हो बिहीबार दिनभरिमा ६ मिनेट मात्रै कारोबार भएको छ । यो छोटो अवधिमा भएको बिक्रीको चापको कारण बजार ठुलो अंकमा घटेको हो । प्रिओपन सेसनपछि खुलेको बजार पहिलो दुई मिनेटमै ४ प्रतिशतले घटेर रोकियो । नियमअनुसार बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशतले परिसूचक तलमाथि भएमा २० मिनेटको सर्किट ब्रेक लाग्छ । दोस्रोपटक खुलेको बजारले एक मिनेटमै ५ प्रतिशत गिरावटको थ्रेसहोल्ड नाघ्यो । लगत्तै बजार ४० मिनेटलाई स्थगन गरियो । तेस्रोपटकको कारोबार खुलेको तीन मिनेटमै परिसूचकको गिरावट ६ प्रतिशत पुगेसँगै बजार दिनभरिका लागि बन्द भएको हो ।
जेन–जी प्रदर्शनपछि प्रतिनिधिसभा विघटन भएर फागुनमा निर्वाचन गर्ने घोषणासमेत भइसकेको छ । यस्तो वेलामा राजनीतिक अस्थिरता हुने देखिएपछि केही लगानीकर्ताले जोखिम महसुस गरेर हतारमा सेयर बिक्री गर्न खोज्दा बजार घटेको विज्ञहरूको विश्लेषण छ । स्टक ब्रोकर धर्मराज सापकोटाका अनुसार राजनीतिक अन्योलता र अस्थिरतामा बजार प्रभावित हुने गरेका छन्, त्यसैको निरन्तरता हो यो । उनले भने, ‘राजनीतिक अस्थिरताको जोखिम देखिएको छ । त्यस्तै, आन्दोलनका क्रममा निजी क्षेत्रका संरचनामा क्षति भएको छ । यसले बैंक तथा बिमा क्षेत्र पनि प्रभावित पारेको छ । निजी क्षेत्रको मनोबल कमजोर भएको छ । त्यसैले हतारमा सेयर बेच्न खोज्दा यो अवस्था आएको हो ।
लगानीकर्तामा परिपक्वताको कमी भएकाले पनि यस्तो हुने गरेको उनको बुझाइ छ । उनले भने, ‘सेयर बजार भने संवेदनशील बजार हो । तर, हाम्रोमा लगानीकर्तामा परिपक्वताको कमी छ । धेरैजसो उधारोमा क्षमताभन्दा बढी सेयरमा लगानी गर्ने प्रवृत्ति पनि छ । जग बलियो भएका लगानीकर्ता आउने वातावरण पनि बन्न सकेको छैन ।’
मौद्रिक नीतिपछि गति लिँदै गइरहेको सेयर बजारलाई आन्दोलनले प्राभावित पारे पनि आत्तिनुपर्ने स्थिति नरहेको लगानीकर्ता बताउँछन् । सेयर लगानीकर्ता छोटेलाल रौनियारले भने, ‘यो लगानीकर्ताभन्दा पनि कारोबारी हाबी भएको बजार हो । ब्रोकरहरूले पनि जति धेरै कारोबार हुन्छ, त्यता बढी जोड दिइरहेका हुन्छन् । आत्तिने र मात्तिने प्रवृत्ति सेयर बजारका लागि हानिकारक हुन्छ ।’
मौद्रिक नीतिपछि तीन सय ५० अंकसम्मले बढेर बजार परिसूचक तीन हजार विन्दुमा पुगेको अवस्थामा नाफा बुक गर्ने होडबाजीले बजार निरन्तर घटिरहेको थियो । त्यसपछि बजार बढ्ने अनुमान गरिए पनि अप्रत्याशित रूपमा आन्दोलन भएपछि बजार बन्द गर्नुपर्ने अवस्था आएको रौनियारको भनाइ छ । उनले भने, ‘०६२/६३ पछिको अन्दोलन, भूकम्प, कोभिडपछिका बजारका ट्रेन्ड विश्लेषण गर्ने हो भने बजार यस्तै प्यानिक सेल (त्रासमा बेच्ने) प्रवृत्ति देखिन्छ र पछि बजारले नयाँ आयाम दिने गरेको इतिहास छ । अहिलेको गिरावट पनि नयाँ बुलको संकेत हुन सक्छ । त्यसैले आत्तिएर सस्तो मूल्यमै बेचिहाल्नु मूर्खता हुन्छ । दसैँपछि खुल्ने बजार सकारात्मक हुने संकेत देखिएको छ ।’
आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो
उन्नति सहकार्य लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । चन्द्रागिरि, शिखर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।
एनएलजी इन्स्योरेन्स, युनाइटेड अजोड, बेस्ट फाइनान्स, ओरेन्टल होटेल्स, आखु खोला जलविद्युत्, विशाल बजार कम्पनी, सिइडिबी होल्डिङ्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, विकास हाइड्रोपावर, बलेफी हाइड्रोपावर, सान्भी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, जानकी फाइनान्स, सर्वाेत्तम सिमेन्ट, बुटवल पावर कम्पनी र हिमाल दोलखा जलविद्युत्को सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले घटेको छ ।
छोटो अवधिमा भएको बिक्री चापमा ७२ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १७ लाख ५२ हजार सात सय ८१ कित्ता सेयर किनबेच भएको छ । हिमालयन डिस्टिलरी, सिइडिबी होल्डिङ्स, शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कुल बजार पुँजीकरण ४१ खर्ब ९९ अर्ब रुपैयाँ कायम छ ।
सेयर लगानीकर्ता छोटेलाल रौनियार भन्छन्– यो लगानीकर्ताभन्दा पनि कारोबारी हाबी भएको बजार हो । ब्रोकरहरूले पनि जति धेरै कारोबार हुन्छ, त्यता बढी जोड दिइरहेका हुन्छन् । आत्तिने र मात्तिने प्रवृत्ति सेयर बजारका लागि हानिकारक हुन्छ ।