मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
२o८२ असोज ३ शुक्रबार o६:१२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री कार्की–मोदी टेलिफोन वार्ता : चुनाव गर्ने सरकारको लक्ष्यमा सघाउन भारतलाई आग्रह

१० वर्षपछि संविधान दिवसमा मोदीको सार्वजनिक शुभकामना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o६:१२:oo
  • नेपालको प्राथमिकतामा भारतको पूर्ण सहयोग र समर्थन रहनेछ : मोदी
  • भारतीय प्रधानमन्त्रीसँग टेलिफोन वार्तालगत्तै चिनियाँ र अमेरिकी राजदूतसँग भेटवार्ता 

जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक संवादलाई तीव्र पारेकी छिन् । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै विभिन्न देशबाट बधाई सन्देश प्राप्त गरेकी कार्की हाल उच्चस्तरीय वार्ता र राजदूतहरूसँगको भेटमा सक्रिय देखिएकी छिन् । कार्की नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री नियुक्त हुन बाँकी छ । 

बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेकी कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ र अमेरिकी राजदूत डिन आर थम्पसनले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । एकैदिन दुई छिमेकी र मित्रराष्ट्र अमेरिकासँगको संवादमा प्रधानमन्त्री कार्कीले २१ फागुनको निर्वाचनका लागि सहयोगको आग्रह गरेकी छिन् । 

प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री कार्यालयबाट मोबाइलमा करिब २० मिनेट कुराकानी गरेकी थिइन् । प्रधानमन्त्री कार्कीलाई मोदीले नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए भने प्रधानमन्त्री मोदीलाई कार्कीले ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् । आगामी दिनमा नेपाल–भारतबिचको ऐतिहासिक तथा घनिष्ठ सम्बन्ध थप सुदृढ हुने उनीहरूको विश्वास छ । 

संवेदनशील घडीमा भारत नेपालसँग ऐक्यबद्ध रहेको मोदीले बताएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्रीबाट व्यक्त गरिएको ऐक्यबद्धताप्रति कृतज्ञता प्रकट गर्नुभयो,’ परराष्ट्रले भनेको छ, ‘हालै भएको जेन–जी आन्दोलनको सन्देश आत्मसात गर्दै वर्तमान सरकारको प्रमुख प्राथमिकता निर्वाचन रहेको स्पष्ट पार्नुभयो ।’ 

संवादमा कार्कीले युवाहरूको आकांक्षा प्रतिनिधित्व गर्दै जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त सुशासनमा दृढ प्रतिबद्धता व्यक्त गरेकी थिइन् । परराष्ट्रका अनुसार मोदीले नेपालको सरकारका प्राथमिकताअनुसार भारतको पूर्ण सहयोग र समर्थन रहने विश्वास दिलाएका छन् । ‘भारतीय प्रधानमन्त्री मोदीले नेपालको सरकारका प्राथमिकताअनुसार भारतको पूर्ण सहयोग र समर्थन रहने विश्वास दिलाउनुभयो,’ परराष्ट्रले भनेको छ । 

प्रधानमन्त्री कार्कीले नेपाल–भारतबिचको ऐतिहासिक तथा घनिष्ठ सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । ‘दुवै प्रधानमन्त्रीले दुई देशका जनताको हितका लागि द्विपक्षीय सहयोग र साझेदारीको बलियो गतिलाई निरन्तरता दिने प्रतिबद्धता पुन: पुष्टि गर्नुभयो,’ परराष्ट्रको विज्ञप्तिमा छ । 

यस्तै, भारतीय प्रधानमन्त्री मोदीले शान्ति पुनस्र्थापित गर्ने प्रयासमा भारतको दृढ समर्थन रहेको बताएका छन् । ‘नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो । हालै नेपालमा भएका घटनाहरूमा भएको दु:खद निधनप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनस्र्थापित गर्ने उहाँ (कार्की)को प्रयासमा भारतको दृढ समर्थन रहेको कुरामा जोड दिएँ,’ मोदीले टेलिफोन संवादपछि एक्समा लेखेका छन्, ‘साथै, भोलि (शुक्रबार) हुने राष्ट्रिय दिवस (संविधान दिवस)को अवसरमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ ।’

भारतको प्रेस तथा सूचना ब्युरो (पिआइबी)ले बिहीबार जारी गरेको विज्ञप्तिमा मोदीले भारत सरकार र भारतीय जनताको तर्फबाट कार्कीलाई शुभकामना दिएको उल्लेख छ । ‘प्रधानमन्त्री (मोदी)ले दुई देशबिचको विशेष सम्बन्धलाई थप सुदृढ पार्न सदैव मिलेर काम गर्न भारत तत्पर रहेको, शान्ति र स्थिरता पुनस्र्थापना तथा नेपाली जनताको प्रगतिका लागि नेपालको प्रयासमा भारतको पूर्ण समर्थन व्यक्त गर्नुभयो,’ पिआइबीको विज्ञप्तिमा छ । 

प्रधानमन्त्री कार्कीले दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ पार्ने मोदीको इच्छालाई समर्थन गरेकी छिन् । ‘दुवै प्रधानमन्त्रीले निरन्तर सम्पर्कमा रहने सहमति जनाउनुभयो,’ पिआइबीको विज्ञप्तिमा उल्लेख छ । 

चिनियाँ र अमेरिकी राजदूतको भेट, बिआरआई र एमसिसीमा प्रतिबद्धता 
बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता सकिएलगत्तै नेपालका लागि चिनियाँ राजदूत चेन सङ र अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री कार्कीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । दुवै राजदूतलाई प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र चुनाव गर्ने सरकारको लक्ष्यमा सहयोग गर्न आग्रह गरेकी छिन् । साथै, प्रधानमन्त्री कार्कीले चिनियाँ बिआरआई तथा अमेरिकी एमसिसी परियोजना कार्यान्वयनमा प्रतिबद्धता जनाएकी छिन् । 

जानकार अधिकारीका अनुसार प्रधानमन्त्री कार्कीले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमि चीनविरोधी गतिविधिमा दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाएकी छिन् । कार्कीले बिआरआईअन्तर्गतका परियोजनाहरू कार्यान्वयनमा पनि प्रतिबद्धता जनाएकी छिन् । तिब्बती धर्मगुरु दलाई लामा र निर्वासित सरकारका प्रमुख पेन्पा छिरिङले प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश जारी गरेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले एक चीन सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्‍याएकी छिन् । 

परराष्ट्रले प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटमा नेपाल–चीन सम्बन्धलाई थप मजबुत पार्ने तथा पारस्परिक लाभदायक सहकार्यलाई प्रवद्र्धन गर्ने विषयमा छलफल भएको जनाएको छ । चिनियाँ राजदूत सङले चीन सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीको नियुक्तिप्रति बधाई सन्देश हस्तान्तरण गरेका थिए । ‘चीनले नेपाली जनताले रोजेको राजनीतिक र विकास मार्गप्रति सम्मान गर्दछ र नेपालको विकास र समृद्धिको आकांक्षामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ चिनियाँ सन्देशलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राजदूत सङले प्रधानमन्त्री कार्कीसँगको भेटबारे एक्समा तस्बिरसहितका विवरण राखेका छन् । ‘प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न पाउँदा निकै खुसी लाग्यो । हामीले बधाई ज्ञापन गर्दै हाम्रो मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श गर्‍यौँ र सहमति जनायौँ,’ राजदूत सङले एक्समा लेखेका छन् । परराष्ट्र मन्त्रालय र राजदूत सङले बिआरआई, एक चीन सिद्धान्तलगायत छलफलका विषय भने सार्वजनिक गरेका छैनन् । 

अमेरिकी राजदूतलाई शिष्टाचार भेट दिँदै प्रधानमन्त्री कार्कीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका परियोजना कार्यान्वयनमा प्रतिबद्धता जनाएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत थम्पसनले नेपालको विकासको आकांक्षामा सहयोग पुर्‍याउने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् । 

भेटवार्तापछि राजदूत थम्पसनले एमसिसीलगायतका परियोजना र सहकार्य अघि बढाउने विषयमा कुराकानी गरेको एक्समा उल्लेख गरेका छन् । ‘नेपालको शान्तिपूर्ण र लोकतान्त्रिक मार्गप्रति अमेरिकी समर्थन पुन: पुष्टि गरेँ,’ राजदूत थम्पसनले लेखेका छन्, ‘नेपाल–अमेरिका साझेदारीको ७८ वर्षभन्दा लामो इतिहासका आधारमा हामीले व्यापार प्रवद्र्धन, आर्थिक वृद्धिको सुदृढीकरण, विपत् पूर्वतयारी र दुवै मुलुकको हित एवं समृद्धिमा योगदान पुर्‍याउन एमसिसी नेपाल कम्प्याक्टलाई अगाडि बढाउने विषयमा छलफल गर्‍यौँ ।’

१० वर्षपछि संविधान दिवसमा मोदीको सार्वजनिक शुभकामना
नेपालले संविधान जारी गरेको १० वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान दिवसको उपलक्ष्यमा सार्वजनिक शुभकामना दिएका छन् । बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँगको टेलिफोन संवादमा मोदीले अग्रिम शुभकामना दिएका हुन् । नेपालले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । 

‘भोलि (शुक्रबार) हुने राष्ट्रिय दिवसको अवसरमा उहाँ (प्रधानमन्त्री सुशीला कार्की) र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ,’ प्रधानमन्त्री मोदीले एक्समा बिहीबार लेखेका छन् । परराष्ट्र मन्त्रालय तथा भारतको प्रेस सूचना ब्युरोले बिहीबार टेलिफोन वार्ताबारे जारी गरेका अलग–अलग विज्ञप्तिमा पनि मोदीले राष्ट्रिय दिवसमा शुभकामना दिएको उल्लेख छ ।

२०७२ असोज ३ मा संविधान जारी भएपछि भारतले त्यसलाई नोट गरेको विज्ञप्ति जारी गर्दै भोलिपल्टदेखि नाकाबन्दी गरेको थियो । नाकाबन्दी त्यही वर्ष २१ माघमा हटेको थियो । यद्यपि, भारतले संविधान जारी भएपछिको स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनहरूमा सहयोग तथा समर्थन जनाउँदै आएको थियो ।

परराष्ट्र स्रोतका अनुसार नेपालको संविधान दिवस (राष्ट्रिय दिवस)मा हरेक वर्ष भारतका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीबाट नेपाली समकक्षीहरूलाई शुभकामना सन्देशको पत्र आइरहेको छ । यो मोदीको सार्वजनिक बधाई मात्रै पहिलो हो । नयाँ दिल्लीस्थित नेपाल–भारत सम्बन्धका जानकार डा. निहार नायकले टेलिफोनमा भने, ‘भारतले निर्वाचनमा गर्दै आएको समर्थन र सहयोगलाई नेपालको संविधानलाई नै समर्थन गरेको रूपमा बुझ्नुपर्ने,’ बताए ।