
चितवनको माडीस्थित वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ हुने भएको छ। वाल्मीकि आश्रमको प्रचारप्रसार र धार्मिक जागरणका लागि ज्ञान महायज्ञ हुन लागेको हो।
महायज्ञ मूल समिति काठमाडौंका उपाध्यक्ष यमराज थानीका अनुसार वाल्मीकि आश्रमलाई गुरुयोजनाअनुसार सुरक्षा र विकास गर्न आठदेखि १६ चैतसम्म रामायण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।
आश्रमका लागि खानेपानी, शौचालय, बाटोघाटो, विद्युत् तथा अन्य पूर्वाधार तयार गर्न स्थानीय सरकारलाई पनि अनुरोध गरिएको उनको भनाइ थियो ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले जगत जननी सीतालाई त्यागपछि सीताले वाल्मीकि आश्रममै जीवन बिताउँदै आएको मानिन्छ ।
रामपुत्र लवकुशको जन्म र शिक्षादीक्षा पनि त्यहीँ प्राप्त गरेको मानिएको छ । उक्त स्थानमा २०५४ साल चैत्रमा रामनवमीको अवसरमा सीताको मन्दिर शिलान्यास भएको थियो ।
दुई वर्षपछि ३० चैत ०५६ देखि मन्दिरको प्राणप्रतिष्ठा भएर हरेक वर्ष राम नवमीमा पूजाआजा हुँदै आएको महायज्ञ मूल समितिका कोषाध्यक्ष कमल उपाध्यायले जानकारी दिए ।
वाल्मीकि आश्रमको प्रचारप्रसारको लागि रामायण ज्ञान महायज्ञ सञ्चालनका लागि सर्वपक्षीय भेला पनि भइसकेको छ । विश्व सनातन धर्म पुनर्स्थापना जिल्ला समिति विनयी त्रिवेणीले जनाएको छ ।
विश्व सनातन धर्म पुनर्स्थापना मूल समिति काठमाडौंका अध्यक्ष दीपक रायमाझीले श्रीराम तथा सीताको धर्ती प्रवेश स्थल, राम–सीतापुत्र लव, कुशको जन्मथलोका रूपमा आश्रमको महत्वबारे बुझाउन महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए ।