Skip This
पालिका अध्यक्षसहितको मिलेमतोमा गुम्बाको रकम हिनामिना गरेको आरोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २९ आइतबार
  • Friday, 04 October, 2024
२o७९ माघ २९ आइतबार १३:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पालिका अध्यक्षसहितको मिलेमतोमा गुम्बाको रकम हिनामिना गरेको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २९ आइतबार १३:o९:oo

काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलसहित गुम्बा निर्माण समितिका अध्यक्ष मिलेर किर्ते हस्ताक्षर गरी गुम्बाको खातामा रहेको रकम हिनामिना गरेको आरोप लागेको छ। 

गुम्बाको रकम हिनामिना गर्न गुम्बाका  अध्यक्षले कार्यसमितिलाई थाहै नदिई १० जनाको किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको आरोप लागेको हो। यता गाउँपालिका अध्यक्ष भुजेलमाथि त्यसका लागि सिफारिस दिएको आरोप लागेको छ। 

भुम्लु गाउँपालिका– ५ मुलाबारीमा अवस्थित होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माणका लागि गुम्बा पुनर्निर्माण प्राधिकरणबाट बजेट परेको थियो। 

प्राधिकरणबाट ७० प्रतिशत र उपभोक्ता समितिबाट ३० प्रतिशत व्यहोर्ने  गरी करिब ८० लामा गुम्बा पुनर्निर्माण भएको थियो। गुम्बा निर्माण सम्पन्नपछि पाँच लाख चानचुन रकम बचेको थियो। उक्त रकम गुम्बाको बैंक खातामा थियो। 

गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण उपभोक्ता समितिमा अध्यक्षमा डुक्मा दोर्जे लामा, सचिवमा अमृतकुमार लामा, कोषाध्यक्षमा अनिता गुरुङ, सदस्यहरूमा मठराम तामाङ, शर्मिला तामाङ, मनमाया तामाङ र भोजबहादुर तामाङ लामा थिए। 

त्यसरी नै आन्तरिक अनुगमन तथा सुपरिवेक्षण समिति पनि निर्माण भएको थियो, जसमा संयोजक सुरेन्द्र देव लामा र सदस्यहरूमा निरबहादुर लामा र इन्द्रबहादुर तामाङ रहेका थिए।

होदसल धो ङाग क्षोइलिङ ताम्सालिङ गुम्बाको नाममा राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा तीनजनाको हस्ताक्षर चल्ने गरी खाता सञ्चालनमा थियो। उक्त खाता (नं. १०४०१०००१६०६८००१) मा समितिका अध्यक्ष डुक्मा दोर्जे लामा, सचिव अमृतकुमार लामा र कोषाध्यक्षमा अनिता गुरुङको संयुक्त हस्ताक्षर चल्ने गरी खाता सञ्चालनमा थियो। 

अध्यक्ष डुक्मा दोर्जे लामाले सचिव अमृतकुमार लामा, कोषाध्यक्ष अनिता गुरुङलगायत अन्य सदस्यहरूलाई थाहा नै नदिई समिति पुनर्गठन गरी नयाँ समिति बनाए। जुन समितिमा सचिव अमृतकुमार लामालाई हटाएर कोषाध्यक्ष गुरुङलाई सचिव, कोषाध्यक्षमा समितिमै नभएका गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलका स्वकीय सचिव भन्ने तुल्सीमान तामाङलाई बनाइयो। जुन कुरा कोषाध्यक्षबाट बढुवा भएर सचिव बनेकी गुरुङलाई समेत थाहा नदिई अन्य सदस्यहरू यथावत् राखियो। 

गाउँपालिकामा कागजात बुझाई नयाँ खाताका लागि सिफारिस माग भयो। गाउँपालिका अध्यक्ष भुजेलद्वारा हस्ताक्षरित सिफारिस लिएर पुनर्गठित समितिका अध्यक्ष डुक्पा दोर्जे लामा र तुलसीमान तामाङको संयुक्त हस्ताक्षर चल्ने बनाएपछि रकम निकालेर खाता बन्द गरेको बुझिएको छ।

अमृतकुमार लामा र अनिता गुरुङका अनुसार थाहा नै नदिई बैठक बसेर समिति पुनर्गठन गरेको आरोप छ। नयाँ समितिले पटक–पटक बैठक बसेको देखिए तापनि आफू कुनै बैठकमा पनि उपस्थित नभएको र अन्य कुनै कुरा आफूलाई थाहा नभएको अनिता गुरुङले बताइन्। 

‘गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिमा कोषाध्यक्ष थिएँ। कहिले बैठक बसी समिति पुनर्निर्माण भएर मलाई सचिव राखेछन् थाहा नै भएन,’ अनिता गुरुङले भनिन्, ‘तीनजनाको हस्ताक्षर चल्ने खाता थियो, अहिले दुईजनाको मात्र चल्ने खाता बनाएर रकम निकाली हिनामिना गरेको छ। मलाई थाहा नै छैन।’

अमृतकुमार लामाले आफूलाई सचिवबाट हटाएर रकम हिनामिना गरेको आरोप लगाएका छन्। गाउँपालिकाका अध्यक्ष भुजेलसहितको मिलेमतोमा हिनामिना भएको उनको भनाइ छ।

उनीसहित सातजना समितिको र तीनजना आन्तरिक अनुगमन तथा सुपरिवेक्षण समितिको हस्ताक्षर किर्ते गरेको उनको आरोप छ। ‘किर्तेसहित रकम हिनामिना गरेको छ। हामी कानुनी उपचारमा जाने कि भन्ने विषयमा छलफलमा छौँ,’ लामाले भने। 

यता डुक्मा दोर्जे लामाले भने सामान्य खटपट भएको प्रतिक्रिया दिए। किर्ते हस्ताक्षर र रकम हिनामिना नभएको उनको दाबी छ। यता पालिकाका अध्यक्ष भुजेलले यो विषयमा थाहा नभएको प्रतिक्रिया दिए। उनले सिफारिसको विषयमा कागजातको आधारमा सिफारिस आफूले दिएको अन्य विषयमा जानकारी नभएको बताए।