
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीकी किशोरी द्रोपती कुँवर ‘एयर होस्टेस’ हुन् । तीन वर्षअघि फ्लाई ट्याक इन्टरनेसनल प्रालि पुतलीसडक काठमाडौंबाट ‘एयर होस्टेस’ को कोर्स गरेकी द्र्रोपती कृषि पेसामा आबद्ध छिन् ।
अध्ययनअनुरूप अहिले हरेक दिन आकाशमा उड्नुपर्ने भए पनि २३ वर्षीया द्रोपती कुखुरापालन व्यवसायमा जुटेकी हुन् । उनको दैनिकी कुखुरा, बाख्रा, गाईको स्याहारसुसारमै कटिरहेको छ । गाँउकै युवावर्ष माविबाट एसइई उत्तीर्ण गरेर दानेश्वर बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दैगर्दा उनी प्राविधिक शिक्षा अध्ययनका लागि ०७६ सालमा काठमाडौं गएकी थिइन् ।
सहोदर दाजु नेपाल वायु सेवा निगममा कार्यरत हुँदा उनलाई पनि दाजुकै जस्तो समानान्तर प्रकृतिको पेसा गर्ने चाहनाअनुरूप एयर होस्टेसको कोर्स गरेकी थिइन् । ‘मेरो पढाइ सकिएलगत्तै कोरोना महामारीले लकडाउन भयो,’ द्रोपतीले भनिन्, ‘अनि म घर आएँ, बुबाले यसअघि नै केराखेती गरेका थिए, घरपरिवारकै सल्लाहअनुरूप थप व्यवसाय बढाएका छौँ ।’ लकडाउनका कारण काठमाडौं फर्किने वातावरण नभएपछि अध्ययनअनुरूप जागिरको खोजीभन्दा गाँउमै कृषि व्यवसायमा जुटेको उनले बताइन् ।
अहिले द्रोपतीले तिलकेनी गाउँमै कुँवर पशुपन्छी फर्म नै खोलेर कृषि व्यवसायको नेतृत्व गरिरहेकी छिन् । द्रोपती फर्ममार्फत ब्रोइलर कुखुरा, बाख्रा, जर्सी गाई पालन गरेर कृषितर्फ उदाहरणीय काम गरेकी छिन् । ‘कुखुरा, बाख्रा र दूध बेच्दै आएका छौँ,’ उनले भनिन्, ‘मासिक एक–डेढ लाखबराबरको कारोबार गर्दै आएका छौँ ।’