मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २९ शुक्रबार o६:२९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सन् २०२२ मा तीन खर्ब लगानीका उद्योग दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार o६:२९:oo

कोभिड महामारी कम हुँदै गएपछि नेपालमा नयाँ लगानी प्रतिबद्धता क्रमशः बढ्न थालेको छ । गत वर्ष सन् २०२२ मा उद्योग विभागमा अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता १३.४१ प्रतिशतले बढेको छ ।

विभागमा सन् २०२२ मा दुई खर्ब ९४ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धताका दुई सय ९२ उद्योग दर्ता भएका छन् । अघिल्लो वर्ष सन् २०२१ मा दुई खर्ब ५५ अर्ब २७ करोड रुपैयाँ लगानी प्रतिबद्धताका दुई सय ५३ उद्योग दर्ता भएका थिए । उद्योग दर्ता बढेसँगै रोजगारीको प्रतिबद्धता पनि बढेको छ । सन् २०२२ मा दर्ता भएका उद्योगहरूले २४ हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । जबकि, अघिल्लो वर्ष १९ हजारलाई रोजगारी दिने प्रतिबद्धता थियो । 

सन् २०२२ को सेप्टेम्बरदेखि चर्को ब्याजदर, महँगी, मागमा भारी गिरावट, उपभोगमा ह्रासलगायत मन्दीका बाछिटाहरू देखिन थालेपछि लगानीकर्ता पनि ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । यस्तै, बैंकले तरलता अभावका कारण कर्जा प्रवाह गर्न सकेका छैनन् । कोभिडले थलिएको अर्थतन्त्र तंग्रिन नपाउँदै चर्को ब्याज, महँगी, मागमा गिरावटलगायत समस्या आइदिँदा लगानीकर्ता पुनः हच्किन पुगे । देशभरका उद्योगी–व्यवसायी चर्को ब्याजदर, तरलता अभाव, चालू पुँजी कर्जा मार्गदर्शनलगायतको विरोधमा सडकमै उत्रिएका थिए । 

सन् २०२२ मा स्वदेशी तथा विदेशी लगानीकर्ताबाट दर्ता भएका कुल दुई सय ९२ उद्योग–परियोजनामध्ये ८३ वटा ठूला, ९२ वटा मझौला र एक सय १७ वटा साना रहेका छन्, जसमा क्रमशः दुई खर्ब ३० अर्ब, ४१ अर्ब र २३ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ ।

उद्योग विभागका अनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता ऊर्जामूलक उद्योगमा आएको छ । ऊर्जाका ५६ परियोजनामा एक खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ । सबैभन्दा बढी उद्योगहरू भने उत्पादनमूलक क्षेत्रमा दर्ता भएका छन् । विभागमा दर्ता भएका उत्पादनमूलक ९९ उद्योगमा ६१ अर्ब ३४ करोड लगानी गर्ने प्रतिबद्धता छ । 

यस्तै, पर्यटनका ५७ प्रोजेक्टमा २४ अर्ब २३ करोड, सेवामूलक ४७ प्रोजेक्टमा ३७ अर्ब ७६ करोड, कृषि तथा वन पैदावारमा आधारित १४ परियोजनामा तीन अर्ब ९१ करोड, सूचना प्रविधिमा आधारित १२ प्रोजेक्टमा एक अर्ब, पूर्वाधारका तीन परियोजनामा एक अर्ब ५८ करोड, खनिजजन्य चार प्रोजेक्टमा ५६ करोड लगानी गर्ने प्रतिबद्धता छ । सबैभन्दा बढी रोजगारी उत्पादनमूलक उद्योगहरूले करिब १० हजारलाई दिने भएका छन् ।