
इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै बेन्जामिन नेतन्याहु बिहीबारदेखि इजरायलको सत्तामा फर्किएका छन्।
नेतन्याहुको वरिष्ठ सुरक्षा र कानुन प्रवर्तन अधिकारीहरूजस्तै प्यालेस्टिनीहरूले पहिले नै यसले तय गर्न सक्ने दिशाबारे चिन्ता व्यक्त गरिसकेका छन्।
इजरायल डेमोक्रेसी इन्स्टिच्युट प्रबुद्ध समूहका अध्यक्ष योहानान प्लेस्नरले एएफपीसँग भने, ‘नेतन्याहुका साझेदारका लागि यो सपनाको सरकार बनेको छ। एक पक्षको सपना अर्को पक्षको दुःस्वप्न हो। यो सरकारले देशलाई पूर्ण रूपमा नयाँ दिशामा लैजाने अपेक्षा गरिएको छ।’
अदालतमा भ्रष्टाचारको आरोप खेपिरहेका ७३ वर्षीय नेतन्याहुले सन् २००९ देखि २०२१ सम्म कीर्तिमानी १२ वर्ष र ९० को दशकको अन्त्यतिर तीन वर्षको कार्यकालसहित इजरायली इतिहासमा अन्य कुनै पनि व्यक्तिभन्दा लामो समयसम्म प्रधानमन्त्रीका रूपमा काम गरिसकेका छन्।
सन् २०२१ को वसन्त ऋतुमा नफ्ताली बेनेट र पूर्व टिभी समाचार प्रस्तोता याइर लापिडको नेतृत्वमा वामपन्थी, मध्यमार्गी र अरब पार्टीहरूको गठबन्धनले उनलाई सत्ताच्युत गरेको थियो। यद्यपि, उनलाई सत्तामा फर्कन धेरै समय भने लागेन।
नेतन्याहुले आफ्नो नयाँ सरकारलाई इजरायली संसदमा अनुमोदनका लागि स्थानीय समयअनुसार बिहीबार बिहान ११ः०० बजे प्रस्ताव गर्नेछन्।
नोभेम्बर १ मा भएको निर्वाचनपछि नेतन्याहुले अति परम्परावादी र दक्षिणपन्थी पार्टीहरूसँग तत्काल सरकार गठनका लागि वार्ता सुरु गरेका थिए। उनले गठबन्धनमा बेजालेल स्मोटरिचको धार्मिक जियोनिज्म र इटामार बेन जिभरको यहुदी शक्ति पार्टी पनि सामेल छन्।
दुवैमा प्यालेस्टाइनीहरूको बारेमा भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोप लाग्नेगरेको छ। उनीहरूले अब क्रमशः पश्चिम किनारामा इजरायली बस्ती नीति र इजरायली पुलिसको जिम्मेवारी लिनेछन्, जसले १९६७ देखि इजरायलले कब्जा गरेको क्षेत्रमा पनि काम गर्दछ।