
मानव अधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा जनसाधारण पक्राउ परेकामा चिन्ता व्यक्त गर्दै एचआरडब्ल्यूले जनाधिकारको सम्मान गर्न आग्रह गरेको हो ।
शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने स्वतन्त्रता, मानव अधिकारको रक्षा तथा जनताको मौलिक अधिकारको सम्मान गर्न चीन सरकारलाई अनुरोध गर्दै उक्त संस्थाले हिरासतमा राखिएका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न र विरोध प्रदर्शनसँग सम्बन्धित सूचना एवं समाचार सम्प्रेषण गर्ने अनलाइन पोर्टलको सेन्सरसिप बन्द गर्न पनि आह्वान गरेको छ ।
अघिल्लो सातादेखि चीनको वित्तीय केन्द्र सांघाई, राजधानी बेइजिङलगायत ठूला चिनियाँ सहरमा शून्य कोभिड नीतिविरुद्ध विद्यार्थी र सर्वसाधारणले प्रदर्शन गर्न थालेका छन् । यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि चिनियाँ जनताको शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकार कुण्ठित हुन नदिन राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारसँग अनुरोध गरेका छन् ।