नेपालमा ग्रिन हाइड्रोजन उत्पादन र निर्यातको सम्भावना

पेट्रोलियम पदार्थ तथा कोइलाबाट उत्पादन हुने ऊर्जाले वातावरण प्रभावित हुँदा ग्रिन इनर्जीको महत्व विश्वभर बढेको छ

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

बढ्दो जलवायु परिवर्तनका कारण अहिले वातावरणलाई असर नगर्ने ग्रिन हाइड्रोजनको महत्व र आवश्यकता बढेको छ । विश्वमा केही देशले ग्रिन हाइड्रोजन उत्पादनको अभ्यास गर्न पनि थालेका छन् । नेपालमा पनि पछिल्लो तीन वर्षयता हाइड्रोजन उत्पादनको विषयमा व्यापक बहस हुँदै आएको देखिन्छ । उक्त बहसले नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना देखाएको छ, तर अध्ययनले पुष्टि गर्न भने बाँकी नै छ । 

विशेषगरी, विद्युत्् प्रयोग गरी इलेक्ट्रोलाइसिस पद्धतिमामार्फत पानी खण्डीकरण (टुक्र्याएर) गरी ग्रिन हाइड्रोजन (हरित ऊर्जा) उत्पादन गर्न सकिन्छ । यसको मुख्य स्रोत पानी र बिजुली हो, जुन नेपालमा पर्याप्त मात्रामा छ । यस्तै, यसको उत्पादन, स्वदेशी खपत तथा विदेश निर्यात गर्ने सम्भावना पनि उत्तिकै छ । नेपालमा सरकारी स्तरबाटै ग्रिन हाइड्रोजनको उत्पादनबारे विस्तृत अध्ययन भइसकेको छैन । यसबारे सैद्धान्तिक रूपमा मात्रै बहस भएको छ । नेपालको एक्चुअल तथा रियल टाइम तथ्यांकमा आधारित भएर बहस गर्न पाइएको छैन । तसर्थ, हामी आफैँले लाखौँ डलर खर्च गरेर नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको सम्भाव्यताबारे विस्तृत अध्ययन गरिरहेका छौँ । अध्ययनपछि यसबारे धेरै जानकारी आउनेछ । 

सम्भव छ नेपालमा ग्रिन हाइड्रोजन उत्पादन 
नेपालमा कति हाइड्रोजन उत्पादन हुन सक्छ, त्यो अध्ययनको विषय हो । तर, ग्रिन हाइड्रोजनलाई आवश्यक पर्ने स्रोत (पानी र बिजुली) पर्याप्त भएकाले यसको उत्पादन सम्भावना उच्च छ । त्यसमाथि, अहिले उत्पादन भइरहेको जलविद्युत् आफैँमा शतप्रतिशत ग्रिन हो । अहिले नै केही कम्पनी ग्रिन हाइड्रोजन उत्पादनमा अघि बढेका छन् । सरकारले पनि विभिन्न स्वदेशी तथा विदेशी निकायसँग यसको विकासबारे सम्झौता गरेको छ । 

नेपालले पेरिस जलवायु सम्झौता (२०१६) लाई अनुमोदन गर्नुका साथै सन् २०२० मा सेकेन्ड नेसनल डिटरमाइन्ड कम्युनिकेसन (एनडिसी) लक्ष्य पेस गरेको छ । गत वर्ष कोप २६ मा सहभागी हुँदै नेपालले सन् २०४५ सम्ममा कार्बन तटस्थ बन्ने प्रतिबद्धता जनाइसकेको छ । विश्वका ४० भन्दा बढी देशमा कार्यरत अन्तरसरकारी संस्था ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटले ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयसँग नेपालमा मल उत्पादनका लागि हरित हाइड्रोजन र अमोनिया उत्पादन गर्न साझेदारी गरेको छ । यसैगरी, भारतको ग्रिनजो इनर्जी नेपालको अपी पावरसँग ५० मेगावाट क्षमताको हरित हाइड्रोजन आयोजना निर्माण गर्न सम्झौता गरेको छ ।

हामी पनि ५० मेगावाट क्षमताको ग्रिन हाइड्रोजन आयोजना बनाउने गरी अघि बढेका छौँ । पछिल्लो विकासक्रम हेर्दा सन् २०३० भित्र ग्रिन हाइड्रोजन उत्पादन हुन थालिसकेको हुनेछ । यद्यपि, त्यसलाई व्यावसायिक बनाउन केही चुनौती छ । सरकारले नीतिगत रूपमा सहयोग गर्यो भने त्यसमा पनि समस्या छैन । समग्रमा नेपाललाई विश्वकै पावर हब मुलुकको रूपमा स्थापित गर्न सकिन्छ ।

नेपाली हाइड्रोजनलाई विदेशमा पर्याप्त बजार 
अहिले प्रयोग भइरहेको पेट्रोल, डिजेल तथा कोइलाबाट उत्पादन हुने ऊर्जाले वातावरण नमज्जाले प्रभावित भएको छ । फलस्वरूप पछिल्लो समय विश्वव्यापी रूपमा ग्रिन इनर्जीको माग बढेको छ । विभिन्न अध्ययनले ठूला पानीजहाज, लरी ट्रक हाइड्रोजनमार्फत सञ्चालन गर्दा आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने देखिएको छ । युरोपेली मुलुकमा ग्रिन हाइड्रोजनबाट चल्ने बस तथा ट्रक निर्माण हुन थालेका छन् । उता, हवाई कम्पनी एयरबसले पनि हाइड्रोजनबाट चल्ने प्लेन निर्माण गरिरहेको छ । विभिन्न अध्ययनले विश्वव्यापी रूपमा खपत हुने ऊर्जामा २५ प्रतिशतको अनुपातमा ग्रिन हाइड्रोजनको हिस्सा बनाउन सकिन्छ । यसका लागि नेपालमा उत्पादन हुने हाइड्रोजनको विदेशमा पनि पर्याप्त बजार छ । हामीले अबको १० वर्षमा विदेशमा नेपाली ग्रिन हाइड्रोजन निर्यात गर्न सक्छौँ । 

जलवायु परिवर्तनको प्रभावले खोला, नदी तथा वर्षात्जस्ता पानीका प्राकृतिक चक्र नै असन्तुलित हुन थालेका छन् । हिमालको वास्तविक स्वरूप जोगाउन नै मुस्किल हुने गरी नेपाल जलवायु परिवर्तनको उच्च जोखिमयुक्त देशमा सूचित भएको छ ।

स्टेप–स्टेपमा सुरक्षित
ग्रिन हाइड्रोजन खपत नभए पनि चिन्ता लिनुपर्ने अवस्था छैन । कारण, त्यसबाट एमोनिया तथा युरिया बनाउन सकिन्छ । यसको माग स्वदेश तथा विदेशमा उच्च छ । तसर्थ, हामी स्टेप–स्टेपमा सुरक्षित छौँ, बजार छैन भनेर आत्तिनुपर्दैन ।

नेपालमा कम लागत
विश्वमा ग्रिन हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी ५.५ अमेरिकी डलर छ भने ग्रे हाइड्रोजनको लागत प्रतिकेजी २ डलर मात्रै छ । नेपालमा जलविद्युत् उत्पादन बढ्दै गएकाले त्योभन्दा पनि सस्तोमा ग्रिन हाइड्रोजन निकाल्न सकिन्छ । जलविद्युत् उत्पादन बढ्दै गर्दा अन्य देशको तुलनामा हरित हाइड्रोजन उत्पादन गर्दा उत्पादन लागत कम हुन जान्छ । काठमाडौं विश्वविद्यालयको हाइड्रोजन ल्याबले गरेको अध्ययनले प्रतिकेजी १.७ अमेरिकी डलरमा हाइड्रोजन उत्पादन गर्न सक्ने देखाएको छ ।

कहाँबाट ल्याउने लगानी ?
हामीले हालै सम्पन्न (२४–२५ असोज) गरेको ग्रिन हाइड्रोजन सम्मेलनमा नेपालका लागि अस्ट्रेलियन राजदूत पहिलो दिनको कार्यक्रममा दिनभर बस्नुभयो । कार्यक्रममा विश्व बैंकले नै सहयोग गरेको छ, जुन आफैँमा राम्रो संकेत हो । त्यसअनुसार नेपालको ग्रिन हाइड्रोजनसम्बन्धी आयोजनामा अस्ट्रेलियाबाट व्यावसायिक रूपमा नै लगानी आउन सक्छ । साथै, यसको महत्वको आधारमा विश्व बैंकलगायतका विश्वका ठूला वित्तीय संस्थाले पनि लगानी गर्न सक्छन् । यस विषयमा हामी पनि उनीहरूसँग सहकार्य गर्न सक्छौँ । यस्तै, भारतका ठूला व्यावसायिक घराना पनि यहाँ आउन सक्छन् । 

अहिले भारतमा ग्रे हाइड्रोजन उत्पादन भइरहेको छ । भारतलाई ग्रेबाट ग्रिन हाइड्रोजनमा रूपान्तरण हुन थुप्रै समस्या हुन सक्छन् । तर, नेपालमा त ग्रिन इनर्जी नै उत्पादन भइरहेको छ । नेपाललाई ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनमा रूपान्तरण हुन सहज नै हुन्छ । यस्तो अवस्थामा भारतका लगानीकर्ता नेपालमा आएर ग्रिन हाइड्रोजन आयोजना बनाउन सक्छन् । विशेषगरी, अडानी र रिलायन्स ग्रुप नेपालमा आउने सम्भावना बढी छ । सरकारले केही सहुलियत दिएको खण्डमा एनआरएनहरू पनि यसमा लगानी गर्न तयार हुन सक्छन् ।

तत्काल नीति बनाउनुपर्छ 
नेपालमा केही कम्पनी ग्रिन हाइड्रोजन बनाउन अग्रसर नै भएका छन् । हामी पनि ५० मेगावाटको ग्रिन हाइड्रोजन आयोजना बनाउने गरी अघि बढेका छौँ । सरकारले आफैँले पनि ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ । तर, अझै आवश्यक कानुन तथा नीति बनेको छैन । यद्यपि, हामी सरकारले कानुन बनाउला र काम गरौँला भनेर बस्दैनौँ । तत्काललाई उक्त आयोजना बनाउँछौँ । तर, सरकारले यससम्बन्धी कानुन ६ महिनाभित्रै बनाउनुपर्छ । त्यसपछि हामीलाई काम गर्न थप सजिलो हुन्छ । कानुनसँगै ग्रिन हाइड्रोजन आयोजनालाई सहुलित दिने गरी नीति ल्याउनुपर्छ । हाइड्रोजन अर्थव्यवस्थालाई साकार रूप दिन ग्रिन हाइड्रोजन नीति आवश्यक छ । त्यसपछि हामीलाई थप लगानी गर्न पनि सहज हुन्छ । 

नेपालमा ग्रिन हाइड्रोजनको विकास गर्न सरकार तथा ब्युरोक्रेसी तातिनुपर्छ । पहिले त सरकारले यससम्बन्धी भिजन बनाउनुपर्छ । त्यसपछि यसको रोडम्याप, रणनीति तथा कानुन बनाउनुपर्छ । अनि मात्र नेपालमा यसको विकास गर्न धेरै सहज हुन्छ । ग्रिन हाइड्रोजन वित्तीय रूपमा त्यति भ्यालुएबल नदेखिइसकेकाले लगानी पाउन गाह्रो हुन सक्छ । नेपाली बैंकले लगानी गर्ने ग्यारेन्टी पनि छैन । अतः नेपाल राष्ट्र बैंकले पनि यस्ता आयोजनामा निश्चित लगानी गर्ने गरी नीति ल्याउनुपर्छ । यस्तै, ग्याप फन्डिङ, ब्लेन्डेड फाइनान्सिङलगायतका विषयमा पनि सरकारले उचित नीति ल्याउनुपर्छ । 

ग्रिन हाइड्रोजनबाट नेपाललाई हुने फाइदा
नेपालका हिमाल विश्वव्यापी जलवायु परिवर्तनका कारण अस्वाभाविक रूपमा पग्लिन थालेका छन् । कोसी, गण्डकी, कर्णालीलगायतका नेपालका ठूला नदीको स्रोत नै हिमाल हुन् । तर, जलवायु परिवर्तनको प्रभावले खोला, नदी तथा वर्षात्जस्ता पानीका प्राकृतिक चक्र नै असन्तुलित हुन थालेका छन् । हिमालको वास्तविक स्वरूप जोगाउन नै मुस्किल हुने गरी नेपाल जलवायु परिवर्तनको उच्च जोखिमयुक्त देशमा सूचित भएको छ । त्यो अवस्थामा ग्रिन हाइड्रोजनको विकास गर्न सके हाम्रा हिमाल वास्तविक स्वरूपमा आउन सक्छन् । 

नेपालले विद्युत् उत्पादनमा ठूलो फड्को मारिसकेको छ । तर, त्यसअनुसार खपत हुन सकेको छैन । यदि, ग्रिन हाइड्रोजन आयोजना आयो भने विद्युत् खपत बढ्छ । इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गर्न विद्युत् अनिवार्य हुन्छ र विद्युत् खपत विस्तार हुन्छ । साथै, ग्रिन हाइड्रोजनबाट पनि थप लाभ लिन सकिन्छ । हाइड्रोजनबाट एमोनिया हुँदै रासायनिक मल कारखाना खोल्ने पाइलट प्रोजेक्ट निर्माण गर्ने निष्कर्षमा सरकार पुगेको छ । नेपालमा पटक–पटक रासायनिक मलको अभाव हुँदै आएको छ । यदि ग्रिन हाइड्रोजनको विकास गर्न सक्ने हो भने स्वदेशमै रासायनिक मल कारखाना खोल्न सकिन्छ । 

हरित हाइड्रोजन सहज रूपमा उत्पादन गर्न देशमा रहेका जलविद्युत् आयोजनामा हरित हाइड्रोजन उत्पादन सुविधा जडान गरी उत्पादन खर्च कम गर्न र हाइड्रोपावर कम्पनीको आम्दानीसमेत बढाउन सकिन्छ । विभिन्न चुनौतीबीच ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ भने त्यसको बजार पनि पर्याप्त छ । तसर्थ, सरकार र निजी क्षेत्र मिली यसको विकासमा अग्रसर हुनुपर्छ ।

सुझावित समाचार