अहिले बैंकिङ क्षेत्रमा तरलताको अभाव छ । बैंकहरूको कर्जा निक्षेपको अनुपात सीमाभन्दा बढी नाघिरहेको छ । बैकिङ प्रणालीबाट ग्राहकले निक्षेप झिक्ने क्रम बढ्दा स्रोतको अभाव छ । यसले कर्जाको माग र आपूर्तिमा समस्या निम्त्याएको छ । तथ्यांक हेर्ने हो भने गत वैशाखको तुलनामा जेठमा लगभग ५ अर्बजति कर्जा लगानी घटेको छ । ग्राहकले पैसा नपाएपछि बैंकिङ प्रणालीमा चेन ब्रेक हुन्छ र तिर्न नसकेपछि कर्जाको गुणस्तरमा समस्या आउँछ ।स्रोत अभाव हुने र भएको पनि महँगो पर्ने भएपछि नाफा दिने क्षमतामा असर पर्छ । ०७८ असारसम्मको वार्षिक खाताबन्दीको तुलनामा ०७९ असारसम्ममा यस्तो क्षमता घटेको देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन पनि भएका छन् । लघुवित्त संघर्ष समितिको समूह अहिले विभिन्न जिल्लामा विस्तार भइरहेको छ । त्यो समूहले ‘ऋण तिर्नुपर्दैन, मिनाहा हुन्छ, यसका लागि सरकारसँग माग गरिरहेका छौँ’ भन्दै भ्रम सिर्जना गरिरहेको छ । यस्तो भ्रमले असल ऋणीलाई तिर्नबाट रोक्ने काम गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले विगत ३० वर्षदेखि नेपालको गरिबी न्यूनीकरण, वित्तीय पहुँच अभिवृद्धि, महिला सशक्तीकरण आदिमा निरन्तर क्रियाशील भई समावेशी वित्तीय व्यवस्था निर्माण गर्न इमानदार प्रयास गरिरहेका छन् । उनीहरूले दुर्गममा बसोवास गर्ने लाखौँ विपन्न परिवारलाई वित्तीय पहुँच पुर्याई क्षमता अभिवृद्धिका साथै उद्यमशीलतामार्फत आर्थिक स्तरमा सुधार ल्याएको विभिन्न अध्ययनबाट समेत पुष्टि हुन्छ ।
सरकारको संवैधानिक कानुन, नीति एवं निर्देशनको अधीनमा रही पब्लिक कम्पनीको रूपमा स्थापित लघुवित्तको पहुँचले समग्र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको तथ्य नेपाल राष्ट्र बैंकले समय–समयमा प्रकाशित विवरणले पुष्टि गरेको छ । यति हुँदाहुँदै पनि यो क्षेत्र समस्यारहित भने छैन । स्रोतको अनिश्चितता, बढ्दो लागत, कर्जाको ब्याजदर सीमा, एउटै ग्राहक सदस्यलाई धेरै संस्थाबाट कर्जा प्रदान, क्षमताभन्दा बढी ऋण प्रदान, वित्तीय साक्षरताको कमी, नकारात्मक प्रचारप्रसार आदि समस्या हाल देखा परेका छन् । कतिपय समस्या नीतिगत कारणले र केही लघुवित्त संस्था स्वयंका कारणले सिर्जना भएका छन् ।
गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रलाई मूलधारमा ल्याउन लघुवित्तको नियमन तथा सुपरिवेक्षण उत्कृष्ट तवरले गरिनुपर्छ
लघुवित्तविरुद्धको आन्दोलन
लघुवित्त संस्थाहरूको भूमिका र योगदानलाई नजरअन्दाज गर्दै यस क्षेत्रलाई बदनाम गर्ने र वित्तीय पहुँचमा बाधा पुर्याउने उद्देश्यले केही व्यक्तिले लघुवित्तविरुद्धको संघर्ष समितिको नामबाट भ्रामक आरोप लगाई आन्दोलन गर्ने, देशको समग्र आर्थिक स्थितिमा खलल पु¥याउने, पब्लिक कम्पनीको अस्तित्व समाप्त पार्ने, राज्यको कानुनविपरीत गतिविधि गर्ने एवं सदस्यहरूसँग गैरकानुनी रूपमा शुल्क उठाउने, ग्रामीण महिलाहरूलाई कर्जा मिनाहाको झुटो आश्वासन दिई जबर्जस्ती समितिमा आबद्ध गर्ने क्रियाकलाप गरिरहेका छन् । यसलाई नियन्त्रणमा लिन सरकारले ठोस कदम चाल्नुपर्छ ।
विकृति हटाउनुपर्छ
अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्त संस्थाले आफ्नो सिद्धान्त बिर्सिएको र नाफामुखी बन्न थालेको आरोप पनि लाग्न थालेको छ । जसका कारण केन्द्रीय बैंकले नयाँ लघुवित्तको लाइसेन्स बन्द गर्नुका साथै ब्याजदर, सेवाशुल्कलगायतका व्यवस्थामा कडाइ गरिसकेको छ । हामीले पनि आफ्ना कमजोरी पहिचान गरेर विकृति हटाउनुपर्छ । नेपालको ग्रामीण बैंकिङ तथा लघुवित्त प्रणालीमा ४५ लाखभन्दा बढी सर्वसाधारण आबद्ध छन् । उनीहरूलाई बचत गर्ने बानी विकास गर्ने, स–साना व्यवसायका लागि आवश्यक ऋण प्रवाह गर्ने काम लघुवित्तले गर्दै आएको छ । यसैगरी, उनीहरूलाई साक्षर बनाउँदै वित्तीय साक्षरता प्रदान गर्ने काम पनि लघुवित्तबाट भएको छ । यस अर्थमा ग्रामीण क्षेत्रमा जहाँ बैंक तथा वित्तीय संस्थाको पहुँच छैन, त्यहाँ आर्थिक तथा सामाजिक रूपमा पिछडिएका महिला तथा विपन्न वर्गलाई आर्थिक तथा सामाजिक रूपमा सशक्तीकरण गर्ने सवालमा लघुवित्तको धेरै महत्व छ ।
मल्टिपल फाइनान्सिङको समस्या हटाउनुपर्छ
एउटै व्यक्तिलाई एकभन्दा बढी संस्थाहरूले ऋण प्रवाह गर्दा मल्टिपल फाइनान्सिङको समस्या देखिएको छ, जसका कारण लघुवित्तको वास्तविक उद्देश्य पूरा हुन सकेको छैन । ग्रामीण बैंकिङको सिद्धान्तविपरीतका उत्पादन विकसित हुन थालेका छन् भने ग्रामीण क्षेत्रमा बसोवास गर्ने तल्लो तहका सदस्यहरूले आधारभूत रूपमा पाउनुपर्ने सेवा–सुविधा सही रूपमा नपाएको गुनासो पनि बढ्न थालेको छ ।
लघुवित्तको महत्व बुझ्नुपर्छ
लघुवित्तको सुरुवात बंगलादेशमा डा. महम्मद युनुसबाट भएको थियो । नेपालका ग्रामीण क्षेत्रमा वित्तीय सेवा पुर्याउने सशक्त प्रणालीका रूपमा स्थापित भइसकेको छ । लघुवित्त गरिबका लागि हो । यो एक–आपसमा विश्वास र सहकार्यका आधारमा अघि बढ्ने प्रणाली हो । धितो नलिने र विश्वासको भरमा काम गर्ने हो । ग्रामीण लघुवित्त प्रथाले तल्लो स्तरमा रहेका महिलालाई सेवा पुर्याउँछ । हामीकहाँ पनि गरिबीको रेखामुनि रहेका ग्रामीण महिलाको आर्थिक तथा सामाजिक जागरणमा लघुवित्तले ठूलो भूमिका खेलेको छ । हामीले लघुवित्तका माध्यमबाट उनीहरूलाई आम्दानी वृद्धि गराउने मात्र नभई निरक्षर महिलालाई साक्षर बनाउने काम पनि गरेको छ । साथै, विभिन्न तालिमद्वारा जागरण ल्याउने काम गरेको छ । हिजो कुनै हिसाबकिताब गर्न नजान्ने महिलाहरू अहिले वित्तीय साक्षरतामार्फत आर्थिक योजना बनाउन सक्ने भएका छन् । यसबारे हाम्रा नीति निर्माताहरू जानकार छैनन् ।
धितो राख्न जायजेथा नभएका, बैंक तथा वित्तीय संस्थाको सहज पहुँच नभएका र बैंकिङ ज्ञानको कमी भएका वर्गलाई विनाधितो सामूहिक जमानीमा कर्जा प्रदान गरी उनीहरूलाई व्यावसायिक बनाउन लघुवित्तले अहम् भूमिका निर्वाह गरेको छ । तर, यस क्षेत्रका केही विकृति पनि छन् । खासगरी, लघुवित्त वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक वृद्धि हुन नसक्दा संस्थाहरू नाफातिर मात्र केन्द्रित भएको देखिन्छ । नाफा वृद्धिका लागि कर्मचारीलाई लक्ष्य तोकिदिँदा बहुबैंकिङ बढेको छ । एउटा सदस्यले १६ ओटा लघुवित्त वित्तीय संस्थाबाट सीमाभन्दा धेरै बढी रकम कर्जा उपभोग गरिरहेको विवरण सार्वजनिक भएको छ । यसले यो क्षेत्रको दयनीय अवस्था दर्साउँछ ।
नियामकीय सुपरिवेक्षण आवश्यक छ
लघुवित्त संस्थाका सदस्यले वित्तीय कारोबार गर्दा जिम्मेवार नभएको देखिन्छ । कर्जा लिन एकभन्दा बढी संस्थामा सदस्य बन्ने, आफूले संस्थासँग गरेको वित्तीय कारोबारका बारेमा जानकारी नराख्ने, विनाउद्देश्य कर्जा लिने, कर्जालाई व्यावसायिक कार्यका लागि उपयोग नगर्ने गरेको पाइन्छ । यसले गर्दा समयमा नै कर्जाको साँवा तथा कर्जा भुक्तानी गर्न समस्या भएको छ । एउटा संस्थाको कर्जा चुक्ता गर्न अन्य संस्थाहरूबाट सीमाभन्दा बढी कर्जा लिने गरेको पाइन्छ ।
लघुवित्त संस्थाको कार्य ग्रामीण तथा दूरदराजमा रहेका क्षेत्रमा केन्द्रित हुने र यी संस्थाले सदस्य बनाउनेदेखि उनीहरूसँग गरिने सम्पूर्ण वित्तीय सेवा उनीहरूको घरदैलोमा नै उपलब्ध गराउने भएकाले संस्थाको सञ्चालन खर्च महँगो पर्ने गर्छ । लघुवित्त संस्थाको वित्तीय स्रोत सेयर पुँजी, बचत, सापटी, नाफा, विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघसंस्थाबाट लिने ऋण रकम हुन् । सेयर पुँजीमा लगानीकर्ताले प्रतिफलको चाहना राखेको हुन्छ ।
आफ्ना सदस्यसँग मात्र वित्तीय कारोबार सञ्चालन गर्नुपर्ने भएकाले संस्थाले सर्वसाधारणबाट बचत संकलन गर्न पाउँदैनन् । विपन्न तथा न्यून आय भएका सदस्यबाट खासै उल्लेख्य मात्रामा बचत संकलन गर्न सक्ने अवस्था सम्भव नहुन सक्छ र जेजति मात्रामा संकलन भएको हुन्छ, त्यसमा संस्थाको लागत पर्छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने विपन्न वर्ग (कुल कर्जाको कम्तीमा ५ प्रतिशत रकम) सापटी रकम नै मुख्य वित्तीय स्रोत हो । यसरी प्राप्त हुने विपन्न वर्ग सापटी रकम र विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघसंस्थाबाट लिने ऋण रकममा ब्याज तिर्नुपर्ने हुन्छ । पछिल्लो केही वर्षयता यस्तो सापटी रकममा १४–१५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आएको पाइन्छ । विनाधितो सामूहिक जमानीमा कर्जा प्रदान गरिने भएकाले कर्जा जोखिम न्यून गर्न केही मात्रामा ब्याजदर उच्च रहने गर्छ ।
आयमूलक व्यवसाय गर्नुभन्दा चाडपर्व, विवाह, व्रतबन्धस्ता सामाजिक कार्यका लागि कर्जा लिने गर्दा खराब कर्जाको संख्या बढ्दै गएको छ, जसले गर्दा संस्था नै धराशायी हुन पुग्छ । सदस्यको ऋणग्रस्तता बढ्न गई सामाजिक विकृति उत्पन्न हुने र अन्त्यमा आत्महत्यासम्मको अवस्था सिर्जना हुन सक्ने देखिन्छ । लघुवित्त संस्थालाई सही तरिकाले सञ्चालन गरी गरिबीको न्यूनीकरण गर्न र ग्रामीण अर्थतन्त्रलाई मूलधारमा ल्याउन नियमनकारी निकायले उत्कृष्ट तवरले नियमन तथा सुपरीवेक्षण गर्नुपर्छ ।