कन्सल्टेन्सीका नाममा अवैध धन्दा : सट्टाबाजीदेखि सरकारी छापको किर्तेसम्म

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण
कन्सल्टेन्सीका नाममा अवैध धन्दा : सट्टाबाजीदेखि सरकारी छापको किर्तेसम्म

पत्रकार सम्मेलन गरेर आरोपितललाई सार्वजनिक गर्दै प्रहरी ।

कन्सल्टेन्सी सञ्चालन गरेर झापामा अनलाइनमार्फत अवैध सट्टाबाजीदेखि सरकारी छापासमेत नक्कली बनाएर काम गर्न गिरोह फेला परेको छ। यो गिरोहले कन्सल्टेन्सीमा आउने विद्यार्थीको नागरिकताको दुरुपयोग गरेर अवैध धन्दाका लागि सिम निकाल्ने गरेको पाइएको छ। 

गिरोहले ब्रिटिस्ट आर्मीमा जागिर खानेका लागि एसइईको प्रमाणपत्र नै नक्कली बनाउने गरेको खुलेको हो। दमकस्थित पद्मा इन्टरनेसनल कन्सल्टेन्सीले अन्य विभिन्न व्यक्तिसँग मिलेर अवैध गतिविधि गर्ने गरेको पाइएको हो। १ नम्बर प्रदेश प्रहरी कार्यालयको रिट समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले अनुसन्धानको क्रममा अनलाइनमार्फत सट्टाबाजीदेखि सरकारी कागजात किर्ते गर्ने गरेको फेला पारेको हो। 

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार केही महिनायता पद्मा इन्टरनेसनल कन्सल्टेन्सीमा अवैध धन्दा चलिरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। ‘अनुसन्धानका क्रममा कन्सल्टेन्सीबाट नेपालमा प्रतिबन्धित अनलाइन सट्टाबाजी खेलाएर लाखौँको कारोबार गर्ने गरेको पायौँ,’ उनले भने,‘कन्सल्टेन्सीमा आएका विद्यार्थीलाई आवश्यक पर्ने कागजात पनि सरकारी छाप र दस्तखत किर्ते गरेर त्यहीँ बनाउने गरेको पाएका छौँ।’ 

गैरकानुनी काम गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक दमक–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षका राजु श्रेष्ठ, योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक कमल– २ का ३० वर्षीय अरुण कार्की, ब्रिटिस्ट आर्मी ट्रेनिङ सेन्टरका सञ्चालक दमक–८ का ३३ वर्षीय राजु लिम्बू रहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उनीहरूलाई सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको छ। 

पक्राउ परेकामध्ये साह भने नेपालमा प्रतिबन्धित अनलाइन गेमका एजेन्ट हुन् । उनले एप्लिकेसनमार्फत पैसा हारजित हुने गरी खेल खेलाउन गरेको डिएसपी गिरीले जानकारी दिए । ‘विभिन्न देशमा हुने खेलमा पूर्वानुमान गराएर सट्टाबाजी गर्ने गरेको रहेछन्,’ उनले भने, ‘यो खेल नेपालमा प्रतिबन्धित छ।’ 

अनलाइनमा पैसा हारजित हुने गरी खेल खेल्दा कन्सल्टेन्सीमा आएका विद्यार्थीको नागरिकतासमेत दुरुपयोग गर्ने गरेको उनले बताए। ‘कन्सल्टेन्सीमार्फत विदेश पढ्न जाने विद्यार्थीसँग डकुमेन्ट मागिँदो रहेछ। त्यो डकुमेन्टमध्ये नागरिकताको दुरुपयोग हुने गरेको पायौँ,’ उनले भने, ‘अनलाइन गेमबाट पैसा पठाउनका लागि ती नागरिकताबाट सिम निकाल्ने र त्यो नाममा इसेवा खोल्ने गरेको भेटिएको छ। ३२३.४ वटा इसेवा अकाउन्ट खोलेको भेटिएको छ। अझै अनुसन्धानको क्रममै छ।’ 

साहको बैंकिङ खतामा विभिन्न नामका इसेवाबाट हालसम्म ८० लाख रुपैयाँ जम्मा भएको उनले बताए। ‘यो कन्सल्टेन्सीप्रति हामीलाई शंका थियो,’ उनले भने, ‘हामीले निगरानी गरिरहेका थियौँ।’ कन्सल्टेन्सीका अर्का सञ्चालक राजु श्रेष्ठले पनि साहको यो काममा प्रत्यक्ष रूपमा सहयोग गरेको प्रहरीको आरोप छ। 

सरकारी दस्तखतको पनि किर्ते 

प्रहरीका अनुसार उनीहरूले अनलाइन सट्टाबाजी मात्र हैन सरकारी छाप र दस्तखतको समेत किर्ते गर्ने गरेका थिए। कन्सल्टेन्सीमा आउने विद्यार्थीका लागि सरकारी छाप किर्ते गरेर नक्कली कागजपत्रसमेत बनाउने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 
‘विद्यार्थीको नक्कली कागजपत्र पनि यहीँ बन्दो रहेछ। शिक्षा मन्त्रालयको नक्कली छापसमेत त्यहाँबाट बरामद गरेका छौँ,’ उनले भने, ‘जनप्रतिनिधिको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली कागजात पनि तयार गर्ने गरेको पाएका छौँ।’ 

यो कार्यमा योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की, ब्रिटिस्ट आर्मी ट्रेनिङ सेन्टरका राजु लिम्बूले सहयोग गर्ने गरेको पाइएको उनले बताए। योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियाबाट पनि नक्कली सरकारी छाप फेला पारिएको प्रहरीले जनाएको छ। उनीहरूले एसइईको प्रमाणपत्र पनि नक्कली बनाउने गरेको डिएसपी पाठकले जानकारी दिए। ‘ब्रिटिस आर्मीमा जान ई र डी ग्रेडले नहुँदो रहेछ। उनीहरूले नक्कली कागजातको पनि प्रयोग गरेर नक्कली प्रमाणपत्र पनि बनाउने रहेछन्,’ उनले भने, ‘यसरी बनाएको नक्कली प्रमाणपत्र पनि प्रयोग भयो कि भन्ने आशंका छ।’ 

साहबाट प्रहरीले २४४ थान एनसेलको सिम, ९ वटा मोबाइल, ल्यापटप बरामद गरेको छ। यस्तै, कन्सल्टेन्सीबाट प्रयोग भएका ३५ वटा एनसेलका सिम, प्रयोग नभएका ४५ वटा सिम विभिन्न सरकारी कार्यालयको नक्कली छाप परामद गरिएको प्रहरीले जनाएको छ। फोटो स्टुडियोबाट पनि नेपाल आर्मी, शिक्षा मन्त्रालय र अन्य विभिन्न कार्यालयको नक्कली छापा बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धका कसुर र परिच्छेद २५ को लिखितसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कसुर प्रमाणित भएमा मुलुकी अपराध संहिताको दफा १२५ बमोजिम जुवा खेलाउने वा सट्टाबाजी गरेबापत बिगो जफत गरी एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यस्तै मुलुकी अपराध संहिताको दफा २७६ बमोजिम  सरकारी र सार्वजनिक लिखत किर्ते गरेबापत सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ। 

सुझावित समाचार