पूर्वी पहाडी जिल्ला संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबार हिलेजात्रा मनाइएको छ । विशेषगरी नेवार समुदायको संस्कृतिसँग जोडिएको यो जात्रा बर्सेनि मनाइने गरिन्छ । नेवार जातिको साझा संस्था नेवाः देय दवूले ‘मेरो सम्पदा मेरो सांस्कृतिक परम्परा, मेरो पहिचान’ भन्ने नारासहित हिलेजात्रा निकालेको हो ।
विश्वभर कोभिड–१९ ले आक्रान्त पारेपछि बन्द भएको हिलेजात्रा तीन वर्षपछि मनाएको खाँदबारीका पुष्पबहादुर श्रेष्ठले बताए । उनले हिलोत्रा सांस्कृतिक पर्वको रूपमा मनाउने गरिएको बताए ।
कोभिड–१९ का कारण रोकिएको हिलेजात्रा मनाउन पाउँदा शनिबार खाँदबारीमा रौनक देखिएको छ । हिजो गाईजात्रामा गाउँ–गाउँबाट त्यति धेरै मानिसहरू नआए पनि शनिबारको हिलेजात्रामा निकै भिड लागेको थियो । जात्राका क्रममा सर्वसाधारणले खाँदबारीको प्रहरी गेटदेखि पोखरी बजार, देवकोटा चोक हँुदै नयाँ बजारसम्म परिक्रमा गरेका थिए ।
नेवार समुदायको बसोवास रहेको मुख्य बस्तीहरू खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रबिसे, मानेभञ्ज्याङ, तुम्लिङ्टारलगायत क्षेत्रमा नागपञ्चमीदेखि विधिवत् रूपमा लाखेजात्रा मनाइरहेका छन् । खाँदबारी नगरपालिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा सुरु भएको लाखेजात्रा कृष्ण जन्माष्टमीसम्म रहनेछ । यस वर्ष मरेका व्यक्तिको आत्माको चीरशान्तिको कामना गर्दै गाईजात्रा प्रदर्शन गर्ने गरिन्छ भने हिलेजात्रामा विभिन्न प्रहसन गरिन्छ ।