यसवेला विद्यार्थीको मनोविज्ञानमा असर पर्न सक्छ

एसइई पछिको यात्रा

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

एसइई दिएका युवाहरूको सोचाइ उमेरका हिसाबले अपरिपक्क मानिन्छ । त्यसैले उनीहरूलाई एसइईपछि कुन विषय छनोट गर्ने वा कुन विषय पढ्दा के हुन्छ ? भन्नेबारे अभिभावक वा विद्यालयको परामर्शको खाँचो पर्छ । तर, पढाइको कुरामा चाहिँ सकेसम्म विद्यार्थी स्वयंको रोजाइ हुनुपर्छ । यति भन्दैमा फेरि विद्यार्थीले हचुवाका भरमा विषय छनोट गर्नुपर्छ भन्ने होइन् ।

११ र १२ कक्षाको पढाइ सुरु गर्नुअघि आफूलाई चित्त बुझेको र आफूले सक्ने विषय मात्रै रोज्नुपर्छ । किनकि करिअरको ढोका ११ र १२ कक्षाको पढाइले नै तय गर्ने हो । त्यसैले आफूले विषय छनोट गर्दा कम्तीमा आफ्नो क्षमता र सक्ने विषय रोज्नुपर्छ । साथीको लहैलहैमा वा अरू कसैले भन्यो भन्दैमा त्यही विषय पढ्नुपर्छ भन्ने होइन । घरपरिवारको आर्थिक पाटो कमजोर छ र विद्यार्थीले रोजेको विषय पढाउन सक्ने हैसियत छैन भने त्यसमा जिद्दी गर्नुहुन्न ।

सरकारले अहिले ११ र १२ कक्षालाई स्कुल तहकै पढाइ ठानेको छ । तर, अधिकांश अभिभावक र विद्यालयमा पुरानै एसएलसीको भूत बाँकी छ । कक्षा ११ र १२ को पढाइकै आधारमा उच्च शिक्षामा विषय रोज्न पाइने भएकाले विद्यार्थीले एसइईपछि विषय छनोट गर्दा ध्यानचाहिँ दिनुपर्छ । 

यी चिन्ता वा प्रश्न उब्जिन्छन्

यतिवेला उनीहरूलाई के विषय पढ्ने ? आफ्नो परिचय कस्तो बनाउने ? के विषय पढ्दा भविष्य राम्रो होला ? पछि जागिर पाइने हो वा होइन ? मैले यो विषय पढ्न सक्दिनँ कि ? भन्नेजस्ता यावत् प्रश्न उब्जिरहेका हुन्छन् । विद्यार्थीमा उब्जिएका यस्ता चिन्ता, प्रश्न र जिज्ञासामा अभिभावक र विद्यालयले आडभरोसा दिनुपर्छ । उनीहरूको मन नभाँडिने गरी र उनीहरूलाई भोलि पछुतो नपर्ने गरी पढाइको मार्ग देखाउनु आवश्यक छ । 

अर्को कुरा, विषय छनोट गर्ने क्रममा बालबालिकाले ठूलाबडालाई सोध्छन् । कसैलाई आइटी पढ्न मन लाग्ला, कसैलाई शिक्षक बन्न, कोहीलाई नर्स वा डाक्टर बन्न मन लाग्ला, कोहीले सरकारी सेवामा जानेबारे सोचेका होलान्, कोहीलाई कानुन क्षेत्र मन पर्ला । बालबालिकाको रुचि केमा छ त्यसबारे अभिभावक र विद्यालयले पनि चासो दिनुपर्छ र उनीहरूमा भएको अन्योल मेटाइदिनुपर्छ ।

महामारीपछि विश्व श्रमबजार बदलिँदै
कोरोनापछि अहिले श्रमबजार बदलिँदो अवस्थामा छ । कतिपय क्षेत्र खुम्चिएको छ । त्यस्तो अवस्थामा विद्यार्थीले आफूले पढेको विषयमा पनि सोच्ने गर्छन् । अर्को विषय विश्वव्यापीकरणको अवधारणा र आफ्नो देशमा रोजगारीको अवसर कस्तो छ ? भन्ने अवस्थालाई पनि विद्यार्थीले हेरेका हुन्छन् । उनीहरूले अवस्थाअनुसारको पढाइ खोजिरहेका हुन्छन् । त्यसैले यहाँ उनीहरूलाई गाइड गर्नुपर्ने हुन्छ ।

अधिकांश विद्यार्थीलाई एसइई दिएपछि लाग्ने अर्को चिन्ता हो, कुन विषय पढ्ने ? कुन–कुन विषयमा के के छन् ? भन्ने चिन्तन उनीहरूमा हुन्छ । अथवा उनीहरूमा कुनै फरक क्षमता वा ज्ञान छ भने उनीहरू त्यसैअनुसारको पढाइ खोजिरहेका हुन्छन् । तर, सोही ठाउँमा सही कुराको गाइडलाइन उनीहरूले पाउन सक्दैनन् । आफ्नो छोरा वा छोरीको क्षमता के छ ? के गर्न खोजिरहेको छ ? उसको कुनै फरक क्षमता छ कि ? भन्नेजस्ता विषयमा ख्याल गर्नुपर्छ । उसले आफूले गर्न चाहेको काम गर्नलाई नै प्रेरित गर्नुपर्छ । विद्यालय वा अभिभावकले चाहेकोभन्दा पनि विद्यार्थीको इच्छा जे छ त्यहीअनुसार पढ्न दिनुपर्छ । र, स्कुल–कलेजमा पनि विद्यार्थीको करिअरलाई सपोर्ट हुने गरी पढाउन जरुरी छ । 

विद्यालयमा करिअर काउन्सिलर कक्षा राखौँ 
एसइईपछि धेरै विद्यार्थी के पढ्ने होला ? भनेर भौँतारिरहेको पाइन्छ । यो अवस्था हिजो एसएलसी दिनेहरूमा पनि थियो । यसलाई मध्यनजर गरेर विद्यालयहरूले अझै पनि करिअर काउन्सिलर कक्षा राख्न सकेका छैनन् । विद्यालय छाड्ने वेलामा उनीहरूलाई सम्झाइबुझाइ गर्ने तथा उसको जुन क्षेत्रमा बढी क्षमता छ त्यही गर भनेर बाटो देखाउने काम पनि विद्यालयले गरेको पाइँदैन । त्यसैले अब विद्यालयहरूले विद्यार्थीको करिअर काउन्सिलको कुरामा पनि ध्यान दिनुपर्छ । 

See More On

सुझावित समाचार