एसइईपछिको शैक्षिक यात्रा

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा केही दिनअघि प्रकाशित भयो । विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलोका रूपमा लिइने एसइईपछि अध्ययन गरिने विषयले पेसागत भविष्यको बाटो तय गर्छ । एसइईपछि कक्षा ११ मा कुन विषय किन र कहाँ पढ्ने भन्ने निष्कर्षमा पुग्न अभिभावक र अनुभवीको सल्लाह र सुझाव विद्यार्थीलाई मार्गदर्शन हुन सक्छ । कक्षा ११ मा अध्ययन गरिने विषयको छनोट नै विद्यार्थीको उच्च शिक्षाको शैक्षिक यात्राको प्रस्थान बिन्दु हो । भविष्यमा केकस्तो पेसा व्यवसाय अपनाउने भन्ने आधार कक्षा ११ मा छनोट गरिने विषयले तय गर्छ । 

भर्खरै एसइई उत्तीर्ण गरेका विद्यार्थीमा परिपक्वता आइसकेको हुँदैन । उच्च शिक्षाको पूर्वाधारका रूपमा लिइने कक्षा ११ र १२ मा पढ्ने विषय छनोट गर्न अभिभावक तथा शिक्षकलगायत समग्र विद्यालय सञ्चालकको सल्लाह र सुझाब महत्वपूर्ण हुन्छ । विद्यार्थीको चाहनाअनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकको चिन्तनको विषय बन्नुपर्छ । गुणस्तरीय पठनपाठनको सहज वातावरण तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? जस्ता प्रश्नको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीचको सहकार्य र समीक्षाबाट गम्भीरतापूर्वक समयमै दूरदर्शी निष्कर्षमा पुग्नु बुद्धिमानी ठहर्छ । उच्च शिक्षाको खुड्किलोमा पाइला टेक्न तयार भएका विद्यार्थीलाई आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकारवाला पक्षले इमानदार जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

विद्यार्थीले आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा उच्च शिक्षाका लागि विषय छान्न सक्नुपर्छ र अभिभावकले पनि छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ 

भविष्यमा अपनाउने पेसागत दक्षताका लागि आवश्यक उच्च शिक्षा अध्ययनको विषय र शिक्षण संस्था छनोट सावधानीपूर्वक गरिनु बुद्धिमानी ठहर्छ । प्लस टूमा अध्ययन गर्ने विषयको चयन गर्दा अरूको दबाब र प्रभावका आधारमा भन्दा पनि पढ्ने विद्यार्थीको रुचिलाई पहिलो प्राथमिकता दिइनु दूरदर्शी ठहर्छ । अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ वल्लो घाट न पल्लो तीर भएर हन्डर खान बाध्य भएका उदाहरण धेरै छन् । त्यसकारण एसइई पार भएका विद्यार्थीलाई श्रमबजारमा सहज प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकारवाला पक्षले कन्जुस्याइँ गर्नु हुँदैन । श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौती थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण र प्रतिस्पर्धी श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार अध्ययन विषयको छनोट होस पुर्याएर गरिनुपर्छ । 

विद्यार्थी आफैँलाई मात्र आफ्नो खुबी थाहा हुन्छ । तसर्थ, आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाका लागि विषय छान्न सक्नुपर्छ । कुनै पनि विषय सानो या कम महत्वको हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नभई विशेषज्ञता नै हासिल गर्नुपर्छ । पढ्ने विषय रोज्दा आफ्नो रुचि, क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि पक्षमा विशेष ध्यान दिनुपर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी त्यसको शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता, मानवीय सुसम्बन्ध, भौतिक संरचना, फराकिलो विद्यालय हाता, खानेपानी, स्वच्छ र सफा शौचालयको उपलब्धता, सरसफाइ आदिको प्रत्यक्ष स्थलगत अवलोकनले वास्तविकता अनुभव गर्न मद्दत पुग्छ ।

भविष्यमा अपनाउने पेसा, त्यसका लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमता आदिबारे मनन गरेर मात्र कक्षा ११ मा पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी ठहर्छ । विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा बढी अभिभावकलाई थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीत जबर्जस्ती आफूले चाहेको विषय पढ्न लाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्यासमेतका अप्रिय घटना हुने गरेको पाइन्छ । छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । 
 

सुझावित समाचार