गगन ‘सेलेब्रिटी’ हुन् कि ‘डुअर ?’

गगनले समेत कांग्रेसको नेतृत्वमा सशक्त हस्तक्षेप गरेर परिवर्तनको बिगुल फुक्न नसक्ने हो भने अरूको के कुरा गर्नु ?

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

नेपालको लोकतान्त्रिक राजनीतिमा सक्रिय संलग्नता भएका युवाको चर्चाको प्रारम्भ गगन थापाबाट हुनुपर्छ भन्ने मान्यता बनिसकेको छ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित गगन शेखर कोइरालाको गुटसँग जोडिएका छन् । कांग्रेसको चौधौँ महाधिवेशनमा सभापति पदका महत्वाकांक्षी प्रत्यासी कोइराला शेरबहादुर देउवासँग पराजित भएका थिए । कांग्रेसमा सबैका लागि प्रिय रहेका र कांग्रेसविरोधीबीच पनि आफ्नो हैसियत जमाएका गगन किन शेखर गुटमा छन् ? त्यो उनैले जान्ने विषय हो । सामान्य जनताले सामान्य रूपमा बुझ्ने भनेको यो उनको ‘पावर बार्गेनिङ’ प्रक्रिया हो । 

काठमाडौंका मतदाता कांग्रेससँग मोहभंगको अवस्थामा छन् । काठमाडौंमा मात्रै नभएर उपत्यकामै कांग्रेसले मतदाता रिझाउन सकेको छैन । गणेशमान सिंहको योगदान र गरिमाले सिञ्चित कांग्रेसको आफ्नै गृहनगरमा विचल्ली हुनु अस्वाभाविक हो । यस्तो किन भयो ? यसको विवेचना गर्ने फुर्सद कसैमा देखिँदैन । गणेशमान सिंहपुत्र प्रकाशमान सिंह वेलाबखत रैथाने नेताका रूपमा प्रकट हुन्छन् । जनताले गणेशमान सिंहको मर्यादा राख्नकै लागि भए पनि उनको सामान्य सत्कार गर्छन्, राजनीतिक सम्मान गर्दैनन् । काठमाडौं कांग्रेसको नियति यही हो ।

गगन थापा काठमाडौंका रैथाने नेता होइनन् । तर, काठमाडौंमा उनको लोकप्रियताले निकै ठूलो उचाइ लिएको हो । गगनको वाक्पटुता र गतिशीलताको महिमा गाइन्थ्यो । अहिले त्यो खस्किँदै गएको छ । उनको जोस र रोष ओइलाउन थालेको छ । राजनीतिमा उनको वैचारिक अंकुरण मौलिक देखिन छाडेको छ । उनको व्यक्तित्वको सबैभन्दा विचारणीय पक्ष यही हो । विभिन्न विद्यार्थी आन्दोलनको आँधीमा सक्रिय रहेका गगन ०६४ मा समानुपातिक सदस्यका रूपमा संविधानसभा प्रवेश गरेका थिए । त्यतिवेला उनको व्यक्तित्व तन्नेरी उमेरको रापले धपक्क बलेको थियो । उनले त्योभन्दा धेरै अघि गणतन्त्रकोे नारा लगाएका थिए । त्यही एउटा कारणले उनी तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कोपभागी बनेका थिए ।

कांग्रेसमा गणतन्त्रको नारा त प्राध्यापक नरहरि आचार्यले पनि लगाएका थिए । तर, उनको आवाज नरम र बौद्धिक थियो । त्यसैले, गगनको जस्तो वजनदार सुनिएको थिएन । समाजमा राजतन्त्रात्मक संरचना हाबी भएको समयमा नेपाली कांग्रेस प्रतिपक्षी राजनीतिको मूलधारमा रह्यो । संस्थागत हिसाबले राजतन्त्रविरुद्ध गणतन्त्रको नारा कहिल्यै लागेन । त्यसो भनेर कांग्रेसमा गणतन्त्रको नारा लगाउन निषेध नै भएको भने होइन । वि.सं. ०२० पछि कांग्रेससँग जोडिन आएका युवकहरू गणतन्त्रको मोहपासमा बाँधिएका थिए ।

कांग्रेसको तत्कालीन नेतृत्वले ती कार्यकर्तालाई गणतन्त्रको नारा लगाउन निषेध नै गरेको त थिएन, हतोत्साही भने पक्कै गरेको थियो । ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेको घटनाको प्रभाव पछिसम्म रह्यो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कडा मिहिनेत गर्ने गिरिजाप्रसाद कोइराला ‘बेबी किंग’ स्थापनाको धङधङीबाट मुक्त थिएनन् । २०१७–४६ को कालखण्डमा कांग्रेसी कार्यकर्ताको शिरमा क्रान्तिको जुनुन चढेको थियो । आन्दोलनका सुरुवाती दिनमा कतिपय युवक सुन्दरीजल जेल तोडेर त्यहाँ राखिएका नेतालाई कारावासमुक्त गर्नसमेत जमजमाउने गर्थे । परिस्थिति भने सोचेजस्तो सहज थिएन ।

हार्वर्डदेखि अक्सफोर्डसम्मको अनुभव बटुलेका र देश–विदेशमा चर्चा हुने गगनले नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्न सकेका छैनन्, राजनीतिमा हाबी हुन सकेका छैनन् 

कांग्रेसका प्रमुख नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, दिवान सिंह राई र योगेन्द्रमान शेरचनलाई सुन्दरीजल जेलमा राखिएको थियो । देश–विदेशका मानिसले हेर्दा–देख्दा बडो इज्जतसाथ, ठूलो सम्मान गरेर, सुन्दरीजलको प्राकृतिक परिवेशमा राखिएको थियो उहाँहरूलाई । तर, उहाँहरूलाई त्यस्तो खासै सम्मान केही थिएन । नेतालाई ‘एकान्तवास’मा बस्ने सुविधा दिइएको थियो । उहाँहरूको गिरफ्तारीसँगै समातिएका अरू सयौँ कार्यकर्ता देशका विभिन्न जेलमा बन्दीजीवन बिताइरहेका थिए । 

सुवर्ण शमशेर कलकत्तामा हेडक्वाटर खडा गरेर देशमा प्रजातन्त्र पुनस्र्थापनाका लागि क्रान्ति हाँकिरहनुभएको थियो । त्यतिखेर पनि कांग्रेस संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनर्वहालीको नारा लगाइरहेको थियो । सशस्त्र संघर्ष दबाब थियो । राजतन्त्रविरुद्ध लक्षित थिएन । सूर्यप्रसाद उपाध्यायजस्ता कांग्रेसका प्रबुद्ध नेता राजासँग सहमतिको खोजीका लागि आफ्नो निवास भाटभटेनीदेखि नारायणहिटीसम्म गोरेटो बनाउने प्रयत्नमा निरन्तर लाग्नुभएको थियो ।

सुवर्ण शमशेरपछि बिपीले पनि भारतमा बसेर राजतन्त्रलाई तर्साउने हिसाबले सशस्त्र आन्दोलन गर्नुभयो । ‘बरु बालुवा निचरे पानी निस्किएला, यो राजतन्त्रबाट जनताले विनासंघर्ष अधिकार पाउँदैनन्,’ भन्नुभयो उहाँले । तर, छिटै अर्थपूर्ण ढंगले यो पनि महसुस गर्नुभयो– यो बाटो हिँंडेर स्वतन्त्रता सम्भव छैन । २०३३ सालमा उहाँ मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । त्यसपछि, राजतन्त्रलाई प्रजातन्त्रको बाटोमा हिँडाउन उहाँले जति मिहिनेत गर्नुभयो, त्यो कसैबाट छिपेको छैन । 

पछिल्लो समयमा कांग्रेसभित्र ‘विधिवत्’ गणतन्त्रको नारा लगाउने र गणतन्त्रको भावना जगाउने ‘यश’ गगन थापाकै भागमा परेको छ । सर्वमान्य सिंहको नेतृत्वमा भएको पहिलो राष्ट्रिय जनआन्दोलनले राजाको नेतृत्वमा चलेको निर्दलीय पञ्चायतको अन्त्य गर्दै संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गरिसकेको अवस्थामा पनि देशले खासै प्रगति गर्न सकेन । उल्टै, ०४६ को परिवर्तनपछि कांग्रेसमा हाबी भएको आसुरी प्रवृत्तिले सर्वमान्य नेता सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईजस्ता परिवर्तनकारी शक्तिको ‘मियो’ नै उखेल्न खोज्यो । त्यसपछिको समय झनै स्थिर रहेन । राजा वीरेन्द्र आफ्ना सकल परिवारसहित मारिए । देश माओवादी जनयुद्धको चुनौती थेग्न नसक्ने अवस्थामा पुग्यो । अन्ततः परिवर्तन भयो, जसमा गिरिजाप्रसाद कोइरालाको भूमिका प्रभावकारी सावित भयो ।

सत्य हो, गणतन्त्र स्थापनापछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन तम्सिएका माओवादीहरू पहिलो संविधानसभा चुनावमा विजय हासिल गरेपछि आफ्नो उत्साहबाट सजिलै पछि हटे । माओवादीले चुनाव जित्दैनन् भन्ने नेपालको राजनीतिक, ‘बौद्धिक’ र सञ्चार क्षेत्रको आकलनविपरीत उनीहरू बहुमतनजिक पुगे । त्यसपछि नै परिवर्तनको स्थायित्वका लागि गिरिजाप्रसाद राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बने देश सुध्रिन्छ भन्ने जुन ‘न्यारेटिभ’ बनेको थियो, त्यो तुहियो । उति वेला दिग्गज माओवादी मानिने बाबुराम भट्टराईलगायत अन्य महत्वाकांक्षी माओवादी नेतालाई राम्ररी थाहा थियो– गिरिजा–प्रचण्डको जोडी सत्तामा हाबी भयो भने सत्तामा जान उनीहरूको ‘पालो’ कहिल्यै आउँदैन ।

यो समय कांग्रेस युवा नेताका रूपमा गगन थापाले के गरे ? वामपन्थी लेखक खगेन्द्र संग्रौलाका नजरमा समेत हलक्क चढेका गगनले नेपालको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकलगायत समग्र रूपान्तरण प्रक्रियालाई अघि बढाउन के प्रयास गरे ? देशमा भएको लोकतान्त्रिक परिवर्तनको प्रवाहमा कांग्रेसको डुंगा खियाउन उनी र उनका साथीहरू किन र कसका कारण सफल भएनन् ? किन उनीहरूले पार्टीमा समयानुकूल परिवर्तन ल्याउन दृढ पाइला चाल्न सकेनन् ? किन सधैँ ‘बृद्धतन्त्र’को आड–भरोसा, लोलोपोतो र माया–ममतामै बाँच्न चाहे ? किन गगनजस्ता नेतृत्वका गुणहरूले सुसज्जित प्रतिभाशाली युवा नेताले राजनीतिमा सशक्त हस्तक्षेप गर्न सकेनन् ?

के नेपाली राज्यको रूपान्तरण नेपाली समाजको आवश्यकता थिएन ? गगनले समयको मागलाई किन बुझ्न सकेनन् ? झन्डैझन्डै ‘सर्वप्रिय’ युवा नेताको के भूमिका रह्यो त्यो समयमा ? के यसको खुलासा कहिल्यै होला ?पढाइ–लेखाइ, ज्ञान–ध्यान र अनुभवका हिसाबले गगन अब्बल छन् । हार्वर्डदेखि अक्सफोर्डसम्मको अनुभव बटुलेका छन् उनले । देश–विदेशमा उनको चर्चा हुन्छ । उनको योग्यता र सुझबुझको तारिफ सबैले गर्छन् । तर, नेपालको राजनीतिमा किन उनको भूमिका हस्तक्षेपकारी हुन सकेको छैन ? हाबी हुन सकेका छैनन् ? कुन तत्वले उनको पाइलालाई संघारमा अड्काएको छ ? गगन अहिले ४६ वर्षका भए । कांग्रेसजस्तो पार्टीका महामन्त्री छन् । तर, सत्ताको शिखरमा उनको प्रभावशाली उपस्थिति कतै देखिँदैन । हो त, गगनले समेत कांग्रेसको नेतृत्वमा सशक्त हस्तक्षेप गरेर परिवर्तनको बिगुल फुक्न नसक्ने हो भने अरूको के कुरा गर्नु ?

समकालीन विश्वका राजनीतिज्ञलाई परिप्रेक्ष्यमा राखेर नेपालका गगन थापालाई हेर्ने हो भने टोनी ब्लेयर ४१ वर्षको उमेरमा बेलायतका प्रधानमन्त्री भएका थिए । उनले १९९४ देखि २००७ सम्म लेबर पार्टी हाँके । १९९७ देखि २००७ सम्म दश वर्ष प्रधानमन्त्रीका रूपमा उम्दा शासन चलाए बेलायतको । उदाहरण त अरू पनि धेरै पाइन्छन् । तर, गगनको सन्दर्भमा टोनीकै उदाहरण बेस लाग्यो ।

गगन थापाले नेपालको समस्या नबुझेका त छँदै छैनन् । तर, उनी ती समस्याबारे बोल्न चाहँदैनन्, त्यसलाई आफ्नो हातले गिजल्न खोजेको पनि देखिँदैन । नेपालको राष्ट्रिय ढुकुटी कसको पकडमा छ ? नेपालका चकलाका चकला उर्वर भूमि कतिवटा परिवारकोे नियन्त्रणमा छ ? नेपालका खानी र खनिज पदार्थ कसको कब्जामा छ ? गगनलाई यसको पर्याप्त ज्ञान नभएको होइन । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिँदैन ? किन लाखौँ अनमोल रुख काटेर वातावरण विनाश गर्न हुँदैन ? भन्ने विषय पनि गगनको नजरबाहिर छैन । आजका मितिमा यी प्रश्नको जवाफ दिन सक्ने ठाउँमा पनि छन् उनी । तर, उनी किन बोल्न चाहँदैनन् ? किन हस्तक्षेप गर्न चाहँदैनन् ?

गगनले अहिलेसम्म समाज परिवर्तनका लागि राज्य व्यवस्थामा कडा हस्तक्षेप गरेको एउटै दृष्टान्त छैन । हो, उनी राम्रा वक्ता हुन् । गगनले बोलेका एक–एक लवजले स्रोताको जोडदार ताली पाउँछ । तर, गगनले नेपाली समाजको कायापलट गर्न जेजस्तो तिखो र प्रभावशाली हस्तक्षेप गर्नुपर्ने हो त्यो गरेका छैनन् वा गर्न सकेका छैनन् । नेतृत्वको मामिलामा गगन ‘सेलेब्रिटी’ हुन्,  ‘डुअर’ होइनन् ।

सुझावित समाचार