लगातारको वर्षापछि आएकाे पहिराेका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ ।शनिबार साँझदेखि लगातार परेकाे वर्षाका कारण उक्त सडकखण्ड शनिबार रातिदेखि नै अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गतवर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन् । नयाँ ट्रयाक खोलेर वैकल्पिक बाटो खोजी गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युतविलास पन्तले बताए । उनले भने, ‘सडकको सय मिटरमाथिबाट पहिरो खसेको छ, तत्काल सडक खुलाउन सकिँदैन । यसका लागि वैकल्पिक बाटो खोज्नुपर्छ ।’
निरन्तरको वर्षासँगै गएको पहिरोका कारण बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका– ६ चण्डीस्थानको खरखरे भिरमा पनि पहिरो गएको छ । पहिरोका कारण शनिबार रातिदेखि लमजुङ सडकखण्डसमेत अवरुद्ध भएको छ ।