‘नक्बा’ आतंक जारी छ

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

देश/परदेश

प्यालेस्टिनीमाझ जारी नक्बा आतंक सामूहिक उत्पीडन मात्र नभई प्रतिरोध, सहनशीलता र झुक्न इन्कार गर्नेहरूको एक जीवन्त इतिहास पनि हो

विश्वभरका प्यालेस्टिनीले ‘नक्बा’ सम्झिरहनेछन् । नक्बा सन् १९४८ को त्यो जातीय सफाया हो, जहाँ सात लाख ५० हजार प्यालेस्टिनीलाई आफ्नो थातथलोबाट खेदाएर इजरायल राज्य निर्माण गरिएको थियो, जहाँ नयाँ बनेको इजरायलबाट पाँच सय प्यालेस्टिनी गाउँ–बस्ती नामेट पारिएका थिए । हरेक प्यालेस्टिनी आफ्नो परिवार नक्बा सफायाको चपेटामा परेको बताउँछन् । पश्चिमी जेरुसेलमको सुन्दर घरबाट बेदखल गरेर बेरुतमा शरण लिन पुगेका मेरा हजुरबा–हजुरआमाले निर्वासनमै मृत्यु वरण गरेका थिए । अहिले त्यो सुन्दर घरमा एक यहुदी परिवारले कब्जा जमाएको छ ।

नक्बा एक अन्त्यहीन आतंक हो, जहाँ आफ्नो थातथलो नछाडेका प्यालेस्टिनीलाई विस्थापनकारी औपनिवेशिकताले विस्थापन जारी राखेको छ । यही ४ मेमा इजरायलको सर्वोच्च अदालतले चौथो जेनेभा महासन्धि उल्लंघन गर्दै सैन्य अखडा ‘सुटिङ जोन’का लागि मासाफेर यट्टाबाट एक हजारभन्दा बढी प्यालेस्टिनीलाई इजरायलले खेद्नु स्वीकार्य छ भनी फैसला गरेको छ । सन् १९७० देखि इजरायलले अवैधानिक रूपमा कब्जा गरेको वेस्ट बैंकको १८ प्रतिशत क्षेत्रलाई सैन्य अखडा बनाएको छ । 

सन् २०२१ मा गाजा क्षेत्रमा भएको बमबारीको वर्षगाँठको ठीक एक सातापछि मासाफेर यट्टाका घरमा जबर्जस्ती बुल्डोजर चलाइयो र ४५ जनालाई विस्थापित गरियो । विस्थापित हुनेमा अधिकांश बालबालिका थिए । सोही दिन इजरायलले पूर्वी जेरुसेलममा गाभिएको सिलवान क्षेत्रको अल–रजाबी परिवारको घर भत्कायो र यस घटनालाई इजरायलको प्रमुख मानवअधिकार अनुगमन संस्था बि–सेलेमका पैरवीकर्ता निर्देशक सरित माइकलीले ‘विध्वंस उन्माद’ भनेर टिप्पणी गरेकी छिन् । इजरायल रक्षा बल (आइडिएफ) का सेनाले सो विध्वंसको विरोध गर्ने एक बालकमाथि गरिएको भौतिक आक्रमणलाई क्यामेरामा कैद गरिरहेका थिए । सिलवानमा ८० भन्दा बढी घर भत्काइँदै छन् र एक हजार पाँच सय प्यालेस्टिनी राज्यबाट घरबारविहीन र बेदखल हुनेछन् । 

आइडिएफ सेनाले कब्जा गरेको वेस्ट बैंकको मासाफेर यट्टामा बुलडोजर प्रवेश गर्दैगर्दा त्यहाँ समाचार संकलन गर्न गएकी प्रख्यात प्यालेस्टिनी पत्रकार सिरिन अबु अक्लेहको हत्या गरियो । कैयौँ साक्षीले आइडिएफ सेनाले उनको टाउकोमा ताकेर स्नाइपरबाट गोली हानेको बताएका छन् । हत्यालगत्तै इजरायलले आफ्नो हसबारा (युद्ध अपराध छोप्ने) संयन्त्र प्रयोग गरेर प्यालेस्टिनी लडाकुलाई दोषी ठहर्‍याए, जसलाई तुरन्तै र बि–सेलेमका अनुसन्धाताले खारेज गरेका थिए ।  

हालैका घटनाक्रम र तस्बिरले नक्बा आतंकको निरन्तरता दर्साउँछ । यसलाई विभिन्न सरकारका सार्वजनिक संस्था, कम्पनी र निगमका संलग्नताले इजरायललाई भौतिक एवं कूटनीतिक समर्थन जनाइरहेको छ र जवाफदेहिताबाट जोगाइरहेको छ । उदाहरण बेलायती विदेशमन्त्री लिज ट्रस सिरिन अबु अक्लेहको मृत्युको समाचारबारे शोक टिप्पणी ट्विट गर्न बाध्य भए पनि सो टिप्पणीले सिरिनको मृत्यु गम्भीर रोगले भएको थियो भन्ने भान गराउँछ । अर्थात् ट्विटमा आक्रोश, निन्दा झल्किएको थिएन र स्वतन्त्र अनुसन्धानका लागि कुनै माग गरिएको थिएन । यसबाहेक, इजरायलले आक्रमण, विध्वंस मच्चाएर प्यालेस्टिनी जनताको हत्या गरिरहँदा बेलायत सरकारले सदनमा बहिष्कार, विनिवेश र प्रतिबन्ध विधेयक (बोइकट, डाइभेस्टमेन्ट एन्ड स्याङ्सन बिल) पेस गर्ने मनसाय व्यक्त गरेको छ । सरकारले इजरायललाई प्रतिबन्धमार्फत जवाफदेही नबनाउनुका साथै अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार दुरुपयोगको छानबिन गर्ने संस्थामा कुनै पनि सार्वजनिक संस्थाले आफ्नै निर्णयले सहयोग गर्न नपाउने बनाएको छ । 

प्यालेस्टिनीमाझ नश्लभेदी प्रणाली (अपर्थाइड) लागू भएको ७४ वर्ष हुँदा पनि इजरायल प्यालेस्टिनी प्रतिरोधलाई निरन्तरताको क्रूरतासाथ दमन गर्ने र प्रतिरोधलाई विश्वव्यापी समर्थनबाट रोक्न दानवीकरण गर्न उद्यत् छ । यो दानवीकरण प्यालेस्टिनी मुक्तिको संघर्षलाई बृहत् प्रगतिशील लक्ष्यबाट विमुख गराएर गरिँदै छ । इजरायलका संस्थापक एवं पहिलो प्रधानमन्त्री बेन गुरियनले एकपटक ‘बूढा मर्नेछन् र युवा बिर्सिनेछन्’ भनेका थिए । तर, यो रणनीति असफल भइरहेको छ । प्यालेस्टिनीमाझ जारी नक्बा आतंक सामूहिक उत्पीडन मात्र नभई प्रतिरोध, सहनशीलता र झुक्न इन्कार गर्ने एक जीवन्त इतिहास हो । सिलवान परिवारकी दश वर्षीया छोरी यारा अल रजाबीले अघिल्लो साता घर भत्किरहँदा आफ्नो परिवारले जेरुसेलम नछोड्ने भन्दै क्यामेराका अगाडि निर्भीकतासाथ बोल्नुले पनि प्रतिरोधको भावना मरेको छैन भन्ने देखाउँछ ।

राजनीतिक अधिकारी इजरायललाई आश्रय दिन र प्रतिरोधी समूहलाई दमन गरिराख्दा नागरिक समाजले अपर्थाइड अन्यायको निन्दा र जवाफदेहिताको आवश्यकतालाई थप बलियो बनाइरहेका छन् । बेलायतमा बहिष्कार, विनिवेश र प्रतिबन्ध विधेयकको विरोधमा पचासभन्दा बढी नागरिक समाज संगठन, चर्च समूह र श्रमिक संगठनले हस्ताक्षर गरेका छन् । यी संगठनले अपमानजनक संस्था र शासनलाई जवाफदेही बनाउन एक संयन्त्रका रूपमा बहिष्कारको वैध भूमिकालाई मान्यता दिएका छन् र इजरायललाई बहिष्कार गर्नु स्वाभाविक रूपमा नश्लभेदी हुनु हो भन्ने भाष्यलाई अस्वीकार गरेका छन् । यस सन्दर्भमा रेमी केनाजीको ‘नक्बा’ कविताले प्यालेस्टिनी प्रतिरोधलाई प्रतिनिधित्व गर्छ । सन् १९४८ मा खेदिएकी र निर्वासनमा मृत्यु वरण गरेकी हजुरआमाको वियोगान्त कथा भन्ने यो कविताका अन्तिम हरफहरू उल्लेखनीय छन् : 

हामीले बिर्सेका छैनौँ र बिर्सनेछैनौँ 
धमनीजस्ता जैतुनका जरा फैलिएझैँ हामी फर्किनेछौँ
र, यो कुनै धम्की,
इच्छा,
आशा, 
र सपना होइन यो हाम्रो वाचा हो ।

द ट्रिब्युनबाट 
(जमाल प्यालेस्टाइन सोलिडारिटी क्याम्पेनका निर्देशक हुन्) 

सुझावित समाचार