कर्मचारी निर्वाचनमा खटिँदा सरकारवादी मुद्दा प्रभावित

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

महान्यायाधिवक्ताको कार्यालयका २३ मध्ये २१ उपन्यायाधिवक्ता निर्वाचनमा खटाइए

सरकारी वकिलहरू निर्वाचन अधिकृतका रूपमा खटिएपछि सरकारवादी मुद्दाहरू प्रभावित बनेका छन् । मुद्दाको चाप बढेपछि महान्यायाधिवक्ताको कार्यालयले स्थगित गर्न थालेको छ । 

२ वैशाखमा एक सय ३६ मुद्दा पेसी चढेकोमा १५ वटा मुद्दा महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट स्थगित भए । ठ्याक्कै एक महिनाअघि २ चैतमा दुई सय ९३ मुद्दा पेसीमा चढ्दा दुई मुद्दा मात्र कार्यालयले स्थगित गरेको थियो । त्यस्तै, १४ चैतमा दुई सय ७८ मुद्दा पेसी चढ्दा आठवटा स्थगित गरेकामा १४ वैशाखमा तीन सय १५ मुद्दा पेसी चढ्दा १३ वटालाई महान्यायाधिवक्ताको कार्यालयले स्थगित गर्‍यो । १५ चैतमा सर्वोच्चमा तीन सय १८ मुद्दा पेसी चढेकोमा नौवटा स्थगित भएका थिए । तर, १५ वैशाखमा एक सय ९१ मुद्दा पेसीमा चढ्दा आठवटा स्थगित भए । 

सकभर मुद्दा स्थगित नहुने गरी काम गर्दै छौँ  : सञ्जीवराज रेग्मी, प्रवक्ता, महान्यायाधिवक्ताको कार्यालय
हामी सहमहान्यायाधिवक्ता र नायब महान्यायाधिवक्ताहरूले मात्र अहिले मुद्दा हेरिरहेका छौँ । बहस गर्न वकिलको संख्या त पुग्दैन । तर, हामीले आफ्नोतर्फबाट सकभर मुद्दा स्थगित नगर्ने गरी काम गरिरहेका छौँ । महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत २३ मध्ये २१ जना उपन्यायाधिवक्ता हाल उपत्यकाबाहिर स्थानीय निर्वाचन गर्न अधिकृतका रूपमा खटिएका छन् ।

सरकारी वकिलहरू निर्वाचन अधिकृतका रूपमा खटिएपछि मुद्दाको चाप बढ्दा कतिपय स्थगित गर्नुपरेको उक्त कार्यालयले जनाएको छ । तर, ठूला र धेरै अध्ययन गर्नुपर्ने मुद्दाहरू मात्र स्थगित गरेको कार्यालयको दाबी छ ।

‘हामी सह र नायब महान्यायाधिवक्ताहरूले मात्र अहिले मुद्दा हेरिरहेका छौँ । वकिलको संख्या त पुग्दैन । तर, हामीले आफ्नोतर्फबाट सकभर मुद्दा स्थगित नगर्ने गरी काम गरिरहेका छौँ,’ महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताए । 

न्यायपरिषद्ले एक सय ७९ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो । १६ फागुनमा बसेको परिषद् बैठकबाट ७७ वटै जिल्लाका एक नम्बर न्यायाधीशहरूलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको थियो भने १५ न्यायाधीशलाई जगेडामा राख्ने निर्णय भएको थियो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद ३ मा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारीबारे उल्लेख छ । ऐनको दफा ७ (२) मा आयोगले न्यायपरिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा न्याय सेवाका राजपत्रांकित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्ने उल्लेख छ । 

निर्वाचनमा खटाउनुअघि २५ चैतबाट नै उनीहरूलाई तालिम दिन थालिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले अधिकृतहरूलाई खटाएसँगै ८ वैशाखबाट कार्यालय खोलिसकेको उनको भनाइ छ । 

कानुन, न्याय र सरकारी वकिल सेवाका क्रमशः ४९, एक सय ७९ र एक सय ४७ उपसचिव गरी तीन सय ७५ जनालाई निर्वाचन अधिकृतका लागि निर्वाचन आयोगलाई परामर्श प्रदान गरिएको हो । यिनैमध्ये महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत २३ मध्ये २१ जना उपन्यायाधिवक्ता हाल उपत्यकाबाहिर निर्वाचन अधिकृतका रूपमा खटिएको कार्यालयका प्रवक्ता रेग्मीले बताए । 

परिषद्बाट सिफारिसपछि ३० चैतदेखि उनीहरू अधिकृतका रूपमा तोकिएको स्थानमा खटिएका हुन् । जेठ मध्यपछि मात्र उनीहरू पुनः महान्यायाधिवक्ताको कार्यालयमा उपस्थित हुने प्रवक्ता रेग्मीको भनाइ छ ।

सुझावित समाचार