हिन्दी भारतको राष्ट्रभाषा होइन

चलचित्रदेखि सामाजिक एवं राजनीतिक मामिलामा हिन्दी लाद्ने प्रयासको विरोध गर्नु ‘हिन्दीविरुद्धको घृणा अभियान’ होइन

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण

हिन्दी हाम्रो राष्ट्रभाषा हो भन्ने मिथक अधिकांश भारतीयले बाल्यकालदेखि नै सुन्दै आएका छन् । वास्तवमा भारतको कुनै राष्ट्रभाषा छैन । ‘राष्ट्रभाषा’, ‘आधारिक भाषा’, ‘अनुसूचित भाषा’ र ‘मान्यता प्राप्त भाषा’बीच ठूलो अन्तर छ । हाम्रो संविधानले २२ भाषालाई अनुसूचित गरेको छ । र, हिन्दी भाषा शास्त्रीय भाषामा पनि पर्दैन । वास्तवमा हिन्दी र अंग्रेजी भाषाको हैसियत समान छ, अर्थात् दुवै भाषा प्रशासनिक कामका लागि प्रयोग हुने आधिकारिक भाषा मात्रै हुन् । सन् २०११ को जनगणनाअनुसार भारतमा एक सय २२ प्रमुख भाषा छन् भने एक हजार पाँच सय ९९ अन्य भाषा छन् । तैपनि, अज्ञानता, अभिमान, वर्चस्ववाद र राजनीतिक अवसरवादका कारण हिन्दी राष्ट्रभाषा हो भन्ने मिथक जीवित छ ।      

यस अवस्थामा अभिनेता अजय देवगनको अज्ञानतामाथि हाँसो उठ्न सक्छ वा उनी व्यापारिक कुटिलताका लागि प्रशंसनीय बन्न सक्छन् किनभने उनले आफ्नो चलचित्र ‘रनवे ३४’ रिलिजको पूर्वसन्ध्यामा हिन्दी भारतको राष्ट्रभाषा हो भन्ने गलत जानकारीसहितको ट्विट गरेका छन् । दक्षिण भारतीय चलचित्रका सुपरस्टार किच्चा सुदीपले सफल दक्षिण भारतीय चलचित्रलाई ‘चलचित्र समग्रमा भारतका लागि बनाइएको’ हो भन्ने भनाइमाथिको आपत्तिमाथि देवगनबाट ढिलाइसाथ आएको प्रतिक्रियालाई कसरी बुझ्ने ? सुदीपले हिन्दी चलचित्र ‘समग्र भारत’का लागि बनाइएको तर गैरहिन्दी राज्यमा भने यी चलचित्रले कम सफलता पाएको जिकिर गरेका थिए । सुदीपले ‘हिन्दी अब राष्ट्रभाषा रहेन’ भनेका थिए । वास्तवमा हिन्दी कहिल्यै राष्ट्रभाषा थिएन । 

२३ अप्रिलमा एक चलचित्रको लन्चमा बोल्दै उनले सफल दक्षिण भारतीय चलचित्रलाई ‘समग्र भारतका लागि बनेको’ भनेर प्रस्तुत गरिने विषयलाई खण्डन गरेका थिए । देवगनले ढिला गरी २७ अप्रिलका दिन आफ्नो चलचित्र रिलिजको पूर्वसन्ध्यामा सुदीपको भनाइलाई लिएर अन्य भारतीय भाषाभन्दा हिन्दी भाषा सर्वोच्च छ भन्ने आशयसाथ जवाफ फर्काए । के यो एक्सन हिरोको पब्लिसिटी स्टन्ट होइन र ? केजिएफ र बाहुबली सिरिज, आरआरआर र पुष्पाजस्ता कन्नड, तेलुगु र तमिल चलचित्र डब भएर हिन्दी भाषा बोलिने क्षेत्रमा सफलताको तरंग मच्चाइरहेका वेला भाषाको गौरवबोधको भावना ब्युँताउनु हिन्दी चलचित्र उद्योगका लागि फाइदाजनक हुन सक्छ । आखिर विविधतायुक्त भारतमा विशेषतः भाषाको मामिलामा पहिचानजनित गौरवबोध अत्यधिक चल्छ । हिन्दी भाषा लाद्ने प्रयासविरुद्ध गैरहिन्दी राज्यमा भएका प्रतिरोधमा कर्णाटकमा गोकाक चालुवाली र तमिलनाडुमा द्रविड आन्दोलनलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

हिन्दी राष्ट्रभाषा भएको दाबी मूर्खता हो भन्नेमा शंका रहेन, त्यसमाथि सुदीपलाई लक्षित गरेर ‘यदि हिन्दी हाम्रो राष्ट्रभाषा होइन भने तपाईं आफ्नो मातृभाषाबाट हिन्दीमा फिल्महरू किन डब गर्नुहुन्छ र रिलिज गर्नुहुन्छ ?’ भन्ने व्यहोरासहित आएको देवगनको ट्विट हास्यास्पद छ । मलयालम चलचित्र दृश्यम र तमिल चलचित्र सिंघमको रिमेकबाट ठूलो सफलता हात पारेका स्टारबाट आएको विडम्बनापूर्ण टिप्पणी ट्विटर प्रयोगकर्ताको आलोचनाबाट अछुतो रहेन । सन् २०१५ मा बाहुबली द बिगिनिङको हिन्दी संस्करणले पहिलो साता ६३ लाख डलर आम्दानी गरेको थियो । सो वर्ष देवगनको मलयालम फिल्म दृश्यमको हिन्दी रिमेकले पहिलो सातामा ६१ लाख डलर कमाएको थियो ।

सन् २०२१ मै पनि पुष्पा : द राइजको हिन्दी संस्करणले पहिलो सातामा २६ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको थियो । र, सन् २०२१ मा ओटिटीमा रिलिज भएको भुज ः द प्राइड अफ इन्डियाले व्यापारिक घाटा व्यहोर्यो र नकारात्मक प्रतिक्रिया पायो । व्यापारलाई एकातिर राख्ने हो भने पनि गैरहिन्दीभाषी राज्यमा भाषाजनित गौरवबोधको दाबी फेरि एकपटक बढ्दो छ । यो असन्तुष्टिमा हिन्दीलाई अंग्रेजीजस्तै विदेशी भाषाका रूपमा हेर्न थालिएको छ । कर्णाटकमा कन्नड ग्रहकारा ओक्कुटाजस्ता उपभोक्ताको संघ बैंक, यातायातलगायत सार्वजनिक सेवा कन्नड भाषामा प्रवाह गरिनुपर्छ भनेर संघर्षरत छन् । यो अवधारणा कर्णाटकमा जेडिएस र कंग्रेसका नेतामा पनि बलियो गरी बढ्दो छ । विडम्बना गैरहिन्दी राज्यमा त्रिभाषा नीतिका लागि कांग्रेस जिम्मेवार छ । भाषाको मामिलामा चलचित्र पनि जोडिनु क्षेत्रीय भाषा सिर्जित गौरवको संकेत हो । 

बैंकिङ प्रवेश परीक्षा, राष्ट्रिय शिक्षा नीति, केन्द्रीय सरकारको कोषमा हिन्दीभाषीलाई गैरहिन्दी भाषीभन्दा बढी लाभ हुने गरेको छ भन्दै प्रश्न उठ्न थालेका छन् । आक्रोश वास्तविक छ । उदाहरणका रूपमा कर्णाटकका बैंकलाई लिन सकिन्छ । कर्णाटकका गाउँमा पठाइएका हिन्दीभाषी अधिकारी सेवाग्राहीसँग स्थानीय भाषामा अन्तक्रिया गर्न अस्वीकार गर्छन् र ती अधिकारी सेवाग्राहीले सेवाका लागि हिन्दी सिकून् भन्ने चाहन्छन् । गैरहिन्दीभाषीको सर्वोच्चतावादीलाई गर्ने प्रश्नहरू जटिल छैनन् । ‘यदि मेरो जवाफ कन्नडमा टाइप गरिएको अवस्था कस्तो हुन्थ्यो भनेर म सोचिरहेको छु, के हामी पनि भारतका होइनौँ र सर ?’ किच्चा सुदीपले देवगनलाई गरेको यो प्रश्नलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

यदि तपाईं बेंगलुरुमा हिन्दीभाषी हुनुहुन्छ भने अटोचालकदेखि तरकारी पसलेसम्म कन्नडिगाले तपाईंलाई सजिलो होस् भनेर हिन्दीमा कुराकानी गर्ने प्रयास गर्नेछन् । के मैले दिल्ली वा हरियाणा वा उत्तर प्रदेशमा कन्नडभाषीका रूपमा बेंगलुरुमा जस्तै व्यवहार पाउन सक्छु ? चलचित्रदेखि सामाजिक एवं राजनीतिक मामिलामा हिन्दी लाद्ने प्रयासको विरोध गर्नु ‘हिन्दीविरुद्धको घृणा अभियान’ होइन । भारतको विविधतापूर्ण संस्कृति भारतको अद्वितीय पहिचान हो र यसलाई ‘एक राष्ट्र, एक भाषा’ सूत्रले एक ठाउँमा ल्याउन खोज्नु व्यर्थ मात्रै नभई अनुचित पनि हो । द प्रिन्टबाट 
 

सुझावित समाचार