म्याक्रोनको जित पपुलिज्मको हार होइन

देश/परदेश

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण

जब कुनै मध्यपन्थी राजनीतिज्ञ उग्र दक्षिणपन्थीसँग सहअस्तित्वको गतिशीलतामा फस्छन्, त्यसवेला तिनले जिते पनि ती हारेका हुन्छन्

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन मरिन ल पेनलाई पराजित गरी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचनका दुई प्रतिद्वन्द्वी एकअर्कालाई घृणा गर्ने स्तरमा मन पराउँदैनन् । तर, यसले म्याक्रोन र उग्र दक्षिणपन्थी ल पेनबीच सह–अस्तित्वको परिस्थिति विकास भएको यथार्थलाई ओझेलमा पारिदिएको छ । 

ल पेनको जितको डर देखाएर म्याक्रोन फ्रान्सका राष्ट्रपति भवन एलिसी दरबार फर्किएका छन् । २० वर्षअघि ज्याक सिराकले पेनका पिता ज्याँ–मारी ल पेन सत्तामा आउने डर देखाएर ८२ प्रतिशत मत हासिल गरेका थिए । तर, अहिलेको परिस्थिति फरक रह्यो । यसपटक दुवैले एकअर्कालाई सबल बनाउन सघाएको देखियो । पेनले म्याक्रोनलाई स्पष्ट बहुमत ल्याउन सहयोग गरिन् तर म्याक्रोनले पनि पेनलाई बलियो बनाइदिए । 

सन् २००२ को सिराकको जितका लागि वामपन्थी र मध्यपन्थीे गठबन्धन बनेको थियो । गठबन्धनले नश्लीय चरित्रको उग्र वामपन्थीसँग चुनावी प्रतिस्पर्धा गरेको थियो । पाँच वर्षअघि फेरि उस्तै उग्र दक्षिणपन्थी जोखिमपछि म्याक्रोन आफूलाई न वामपन्थी न दक्षिणपन्थी भन्दै आममतदाताकहाँ पुगेका थिए । यसले धेरै राम्रो काम गर्‍यो । युवा, अर्ध–बेरोजगार, सर्वहारा वर्गका अधिक असुरक्षित वर्गले वामपन्थी र दक्षिणपन्थी विभाजनका आधारमा राष्ट्रपति पदका उम्मेद्वारको मूल्यांकन गरे । उनीहरूले पहुँचबाहिरका धनाढ्यले फ्रान्समा शासन गरेको मान्न थालेका छन् । उनीहरू यही वर्गका कारण आफू पछाडि परेको र तिनले कहिल्यै अगाडि आउन नदिने सोच राख्न थालेका छन् । तिनको नजरमा म्याक्रोनले सोही वर्गको प्रतिनिधित्व गर्छन् । 

चुनावअघि दुई उम्मेदवारबीचको टेलिभिजन बहसमा, म्याक्रोन आफूलाई कुशल, सक्षम प्रशासकका रूपमा प्रस्तुत गर्न सफल भए । उनले आफूले प्रणाली बुझेकाले यसलाई राम्रोसँग व्यवस्थापन गर्न सक्ने दाबी गरे । तर, यसले प्रणालीलाई उखेलेर फाल्न चाहने मतदातालाई प्रभावित गरेन ।

सन् २०१७ को फ्रेन्च निर्वाचनलाई २००२ को निर्वाचनसँग तुलना गर्दा, दुईबीच ठूलो भिन्नता छ । २० वर्षअघि, वामपन्थी मतदाताले ल पेनलाई राष्ट्रपति हुनबाट रोक्न दक्षिणपन्थी राजनीतिज्ञ सिराकलाई समर्थन गरेका थिए । सिराकले आफूलाई सोसलिस्ट र कम्युनिस्ट पार्टीजस्ता स्थापित राजनीतिक शक्तिले मत दिएका स्विकारेका थिए । 

म्याक्रोनले सुरुमा व्यापक अभियानद्वारा वामपन्थी र दक्षिणपन्थी दललाई कमजोर बनाए र ल पेनको भूत देखाएर संसद् र सरकारमा प्रभुत्व जमाए । एलिसी दरबार र नेसनल एसेम्ब्लीमा पूर्ण बहुमत पाएपछि म्याक्रोनलाई कुनै प्रतिबद्धताको अंकुशले बाँध्न सकेन । उनी आफ्ना व्यापारमैत्री नीति कार्यान्वयनमा लागे । म्याक्रोनकै नीतिका कारण केही वर्षभित्रै पेरिस पहिलेभन्दा बढी व्यापारमैत्री बन्यो । स्टार्ट–अप संस्कृतिको पुनरुत्थान भयो । जसका कारण म्याक्रोन देशको आधिकारिक बेरोजगारी दर कम गर्न सफल भए । 

यसबीच धेरै मतदाताले म्याक्रोनका नीतिकै कारण तिनको व्यक्तिगत सम्भावना क्षीण भएको देखे । अति धनीलाई दिइएको कर छुट, श्रमिकलाई कामबाट सहजै हटाउन सक्ने कानुन, प्रतिगामी कार्बन कर र अवकाश उमेर बढाउने दृढ संकल्पले धेरै श्रमिकलाई असहाय महसुस गरायो । यी परिवर्तनलाई एक हिस्साले उनीहरूविरुद्ध लक्षित वर्गयुद्ध ठाने । यो यथार्थ म्याक्रोन र ल पेनबीचको राजनीतिक सहअस्तित्वको आधार बन्यो । उनीहरूबीच कुनै पनि मतभेद नहुँदा–नहुँदै पनि उनीहरू एकअर्कालाई रुचाउँदैनन् । उनीहरूबीचको राजनीतिक गतिशीलताले यस्तो राजनीतिक मार्ग निर्माण गर्‍यो, जसले अन्ततोगत्वा सत्ताधारीलाई नै फाइदा गर्छ । म्याक्रोनले खासमा त्यही वर्गको सेवा गर्छन् । ल पेनजस्ता विपक्षी भएपछि यो वर्गको शासन बलियो हुन्छ ।

माथिका तर्कबाट मैले कुनै एक पक्ष लिन नचाहेको भन्ने होइन । पाँच वर्षअघि मैले ल पेनविरुद्ध म्याक्रोनलाई भोट दिन चिनेजतिकालाई आग्रह गरेको थिएँ । प्रहरी र गृह मन्त्रालय पेनको हातमा जाने सम्भावनामै मेरा आप्रवासी साथीहरू त्रसित भएको देखेर म त्यस्तो आह्वान गर्न बाध्य भएको थिएँ । 

म्याक्रोन–पेनको सहअस्तित्वले मानव अधिकार र आधारभूत मर्यादाको मामिलामा उनीहरूबीच कायम भिन्नता साँघुरो बनाएको छ । गत वर्ष म्याक्रोनका गृहमन्त्री गेराल्ड डार्मानिनले ल पेन ‘आप्रवासनको मुद्दामा धेरै नरम’ भएको आरोप लगाएको हामीले कसरी बिर्सन सक्छौँ ? म्याक्रोन शैलीका राजनीतिज्ञ संसारभर आफँैले अघि बढाएको दाबी गर्ने उदार तर्कवादप्रति बलियो अडान लिन असफल भइरहेका छन् । न वामपन्थी न दक्षिणपन्थीको भाष्यपछाडि लुकेर तिनले युरोपमा कुनै हिसाबले ठिक ठह¥याउन नसकिने बजेट कटौती र बैंक उदारको संयोजनलाई समर्थन गरे । त्यसैका कारण अर्थतन्त्र १२ वर्षसम्म गतिहीन बन्यो । उनीहरूले हरित ऊर्जामा ठूला लगानी रोके । 

महामारीको समयमा, तिनले कटौती गर्नै नपर्ने नागरिक अधिकार कटौतीलाई समर्थन दिए । आज, उनीहरू नेटो–रुस द्वन्द्व नबढाउन चेतावनी दिने र तटस्थ युक्रेन युरोपेली संघमा प्रवेश गराउने गरी अमेरिका र रुसबीचको सम्झौतालाई समर्थन गर्नेलाई खराब देखाउन लागिपरेका छन् । 

म्याक्रोन पुनः निर्वाचित हुनुको अर्थ के हो त ? वर्गीय समाजमा राजनीतिको दक्षिणपन्थी र वामपन्थी विभाजन अनिवार्य रहन्छ । जब कुनै मध्यपन्थी राजनीतिज्ञ यो कुरालाई छोप्न सफल हुन्छन्, तब ती राजनीतिज्ञ उग्र दक्षिणपन्थीसँग सहअस्तित्वको गतिशीलतामा फस्छन् । त्यसवेला तिनले जिते पनि ती हारेका हुन्छन् । 

(एमइआरए २५ पार्टीका नेता तथा ग्रिसका पूर्वअर्थमन्त्री भारुफाकिस एथेन्स विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन्)

प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार