कांग्रेसको अन्तरकलह र गठबन्धनका अन्य सहयात्री दलभित्रको आन्तरिक असन्तुष्टि सम्बोधन सहमति कार्यान्वयनमा मुख्य चुनौती

- सिट बाँडफाँडपछि जिल्लाहरूमा तरंग, कतै विरोध, कतै समर्थन
- जनमोर्चाले महानगर र उपमहानगरमा मेयर–उपमेयर पाएन
- देशैभर सिट बाँडफाँड गर्न गठबन्धनले दियो केन्द्रबाटै निर्देशन
महानगर र उपमहानगरका मेयर–उपमेयरमा बाँडफाँड टुंग्याए पनि पाँचदलीय सत्तागठबन्धनलाई आफूअनुकूलको नतिजा निकाल्न अझै चुनौती छन् । कांग्रेसभित्रको अन्तरकलह सहमति कार्यान्वयनमा मुख्य चुनौती छ । गठबन्धनका अन्य सहयात्री दललाई पनि आन्तरिक असन्तुष्टिको सम्बोधन गर्न सहज छैन । यद्यपि, नेताहरूले सहमतिप्रति प्रतिबद्ध भएर अपेक्षाकृत नतिजा हासिल गर्ने दाबी गरेका छन् ।
कांग्रेसमा असन्तुष्टि एक्लै लडे पनि कांग्रेस गन्तव्यमा पुग्छ : डा. शेखर कोइराला, नेता, कांग्रेस
आज के–कति कारणले हामी कम्युनिस्टहरूसँग गठबन्धन गरेर अगाडि बढेका छौँ, के कारणले कांग्रेसको केन्द्रीय समितिको निर्णय पन्छाएर शीर्ष नेता गठबन्धनको बैठकबाट निर्णय गरेर जिल्ला–जिल्लामा पठाइरहनुभएको छ, के हामी कमजोर छौँ ? मलाई लाग्दैन, कांग्रेस कमजोर छ । कांग्रेस एक्लै लड्यो भने पनि गन्तव्यमा पुग्न सक्छौँ भन्ने आत्मविश्वास छ ।
बुधबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगर र ११ उपमहानगरमा मेयर र उपमेयर पदको बाँडफाँड गरेको हो । सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर तथा वीरगन्ज, भरतपुर र पोखराको उपमेयरमा उम्मेदवारी दिने छ । त्यस्तै, धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरपालिकाको मेयरमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपमेयरमा पनि कांग्रेसले पाउने छ ।
माओवादीले भरतपुर महानगरपालिकाको मेयर र ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ । उसले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको मेयर तथा धरान र धनगढी उपमहानगरपालिकाको उपमेयर पनि पाउने छ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर तथा काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिनेछ । यसबाहेक हेटाैंडा उपमहानगरपालिकाको मेयर तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पनि एकीकृत समाजवादीले पाउने छ । यस्तै, जनता समाजवादी पार्टी नेपालले वीरगन्ज महानगरपालिकाको मेयर र विराटनगर महानगरपालिकाको उपमेयर तथा जनकपुर उपमहानगरपालिकाको मेयर तथा कलैया र नेपालगन्जको उपमेयर पाउने छ ।
गठबन्धनले महानगरपालिका र उपमहानगरको भागबन्डामा सहमति जुटाएकै दिन कांग्रेसको इतर समूहले भने असन्तुष्टि जनाएको छ । यो समूहका नेताहरूले सार्वजनिक रूपमै गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘आज के, कति कारणले हामी कम्युनिस्टहरूसँग गठबन्धन गरेर अगाडि बढेका छौँ, के कारणले कांग्रेसको केन्द्रीय समितिको निर्णय पन्छाएर शीर्ष नेता गठबन्धनको बैठकबाट निर्णय गरेर जिल्ला–जिल्लामा पठाइरहनुभएको छ, के हामी कमजोर छौँ ? मलाई लाग्दैन, कांग्रेस कमजोर छ । कांग्रेस एक्लै लड्यो भने पनि गन्तव्यमा पुग्न सक्छौँ भन्ने आत्मविश्वास छ,’ नेविसंघको ५३औँ स्थापना दिवसका अवसरमा इतर समूहले बुधबार राष्ट्रिय नाचघरमा गरेको कार्यक्रममा नेता डा. शेखर कोइरालाले भने, ‘३६ लाख नयाँ मतदाता छन् । ३४ प्रतिशत हामीसँग मत छ । ३६ लाख नयाँ मतदातालाई कांग्रेस बनाउन सकेनौँ भने कांग्रेस फेरि कमजोर हुन्छ ।’
तर, एकीकृत समाजवादीका नेता झलनाथ खनालले बदर मत बढ्न सक्नेबाहेक अरू चुनौती नरहेको दाबी गरे । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सिट बाँडफाँड भइसकेको र कार्यान्वयनमा आउने चुनौती व्यवस्थापन हुने बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवार टुंगो लगाएपछि सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढ्ने बताए । अध्यक्ष यादवले सहमति कार्यान्वयनमा सबै प्रतिबद्ध हुनुपर्ने पनि बताए । माओवादी केन्द्रका नेता वर्षमान पुनले केही असन्तुष्टि देखिए पनि गठबन्धनको औचित्य पुष्टि गरेर त्यसलाई सम्बोधन गरिने बताए । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सहमति कार्यान्वयनमा नैतिकता मुख्य प्रश्न हुने बताए ।
देशैभर सिट बाँडफाँड गर्न केन्द्रको निर्देशन
पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरूप सम्बन्धित समितिको बैठक बसी अविलम्ब सिट बाँडफाँड तथा उम्मेदवारको चयन गर्न निर्देश गरेको छ । गठबन्धनमा रहेका दलहरूले १७ चैतमा सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गरेका छन् । चुनावी तालमेलसम्बन्धी काम यिनै संयन्त्रले गरिरहेका छन्, तर कतिपय ठाउँमा समस्या देखिएको छ । त्यसैलाई ध्यान दिएर गठबन्धनले यसअघि जारी मापदण्ड, सहमतिको मर्म र भावनाअनुरूप सिट बाँडफाँड टुंग्याउन निर्देश गरेको हो ।
गठबन्धनले केन्द्रमा भने रामचन्द्र पौडेल नेतृत्वमा स्थानीय तह तयारी र अनुगमन समिति बनाएको छ । सहमति बन्न नसकेको अवस्थामा पाँचदलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ । कतिपय जिल्लामा पाँचदलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएका छन् ।
कांग्रेसको संस्थापनइतर असन्तुष्ट
स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने कांग्रेसको निर्णयप्रति इतर समूहले असन्तुष्टि पोखेको छ । गठबन्धनको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबन्डामा सहमति जुटाएकै दिन इतर समूहका नेताहरूले सार्वजनिक रूपमै गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी रहेकै वेला बुधबार राष्ट्रिय नाचघरमा कांग्रेसको इतर समूहका नेताहरू भेला भएका थिए । पार्टीको भ्रातृ संगठन नेविसंघको ५३औँ स्थापना दिवसका अवसरमा इतर समूहले आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक कार्यक्रममा नेताहरूले कांग्रेसलाई निर्वाचनमा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको धारणा राखे ।
डा. शेखर कोइरालाले इतिहासमा कांग्रेस कम्युनिस्टहरूसँग कहिल्यै मिलेर निर्वाचनमा नगएको बताए । पार्टीका शीर्ष नेताले पार्टी केन्द्रीय समिति निर्णयविपरीत केन्द्रबाट निर्णय गरेर तल्ला तहमा पठाएको भन्दै उनले असन्तुष्टि जनाए ।
उपसभापति धनराज गुरुङले निर्वाचनमा गठबन्धन गरेर कांग्रेस अलमलिएको र तालमेलले नभई एजेन्डाले जित हुने धारणा राखे । कांग्रेसका मतदाता ३७ बाट ५१ प्रतिशत बनाउन संघर्ष सुरु भएको उनको भनाइ थियो । ‘हाम्रो अभियान भनेको ५१ प्रतिशतको कांग्रेस बनाउने हो । रुमल्लिने र अलमलिने कांग्रेस होइन,’ उपसभापति गुरुङले भने, ‘यो अभियानमा अझै पनि संघर्ष बाँकी छन्, संघर्ष टुंगिएको छैन ।’
त्यसैगरी कांग्रेस महामन्त्री गगन थापाले आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णयको अधिकार स्थानीय पालिकालाई दिने केन्द्रीय समितिको निर्णय विधिसम्मत कार्यान्वयन भए–नभएको प्रश्न उठेको बताए । फेरि पनि कम्युनिस्टहरू मिलेर कांग्रेसलाई धोखा दिने उनको दाबी छ ।
‘नेपालका कम्युनिस्ट पार्टीहरूको रूप हामीले देखिसकेका छौँ । अन्ततोगत्वा हेर्नुहोला, फेरि उनीहरू कुन कतिवेला कोसँग गएर मिल्छन् थाहा छैन । कुनै न कुनै वेला कांग्रेस आफ्नै तागतमा चुनावमा जानुपर्ने रहेछ, यसले वा त्यसले धोखा दियो भन्ने ठाउँ आउँछ । त्यसका निम्ति हामीले आफूलाई तयार पनि गर्नुपर्छ,’ थापाले भने । नेता डा. मीनेन्द्र रिजालले गठबन्धनको नतिजा राम्रो वा नराम्रो आए पनि फेरि कम्युनिस्टहरू मिल्ने दाबी गरे ।
गठबन्धन अस्वाभाविक होइन र कार्यान्वयन धेरै असहज पनि छैन : लोकराज बराल
यति ठूलो निर्णय आउँदा तरंग ल्याउँछ नै । गठबन्धनबाट निर्णय गर्दा सबै एउटैलाई दिएर पनि हुँदैन । या त गठबन्धन नै गर्दैनौँ, एक्लै लड्छौँ भन्नुपर्यो । यो भन्न गठबन्धनका दलले आँट गरेका छैनन् । एक्लाएक्लै लड्ने निर्णय गरेको अवस्थामा गठबन्धन सरकार नै जोखिममा पर्ने सम्भावना पनि रहन्थ्यो । व्यावहारिक रूपमा हेर्दा गठबन्धन गर्नुहुँदैन भन्ने होइन, तर गठबन्धन कसरी टिकाउँछन्, त्यो नेताको हातमा छ ।
यत्रो गठबन्धन गर्दा केही असन्तुष्टि रहनु अस्वाभाविक होइन, देखिएको पनि छ । दलीय व्यवस्थामा मन परे पनि नपरे पनि दलको निर्णय मान्नुपर्ने हुन्छ, या त पार्टी छाड्नुपर्छ । विशेषगरी कांग्रेसमा असन्तुष्टि देखिन्छ । अहिलेको अवस्थामा कम्युनिस्टहरू एक हुन्छन् कि भन्ने स्वार्थ कांग्रेसमा रहेको देखिन्छ । यहाँ त कम्युनिस्ट विभाजित हुँदा नै कांग्रेसलाई फाइदा छ । फेरि अनेक गरेर अरू कम्युनिस्ट एमालेतिर मिल्न जान्छन् र ओली नै हाबी भएर आउने हुन् कि भन्ने कांग्रेसलाई डर पनि छ ।
एउटाले अर्कोलाई खान्छ कि भन्ने डर छ । गठबन्धन नगर्दा पार्टीमा भाँडभैलो र केन्द्र सरकारमा समेत दरार आउने देखिन्छ । अहिले सबैको स्थिति हेरिएको छ । सिद्धान्त नमिल्ने पार्टीहरू पनि गठबन्धनमा छन् । कांग्रेस र अरू दलको सिद्धान्तमा आकाश–पाताल फरक छ । तर, व्यावहारिक रूपमा निर्वाचनमा जाँदा सिद्धान्त मात्र हेरेर हुँदैन ।
दलहरूले आ–आफ्नो दृष्टिकोणमा सहमत भएर गठबन्धन गरेका छन् । केही असन्तुष्टि रहने देखिन्छ, तर अप्राकृतिक होइन । भोलि केही अवस्थामा अन्तर्घात पनि हुन सक्छ । तर, गठबन्धन अस्वाभाविक होइन र कार्यान्वयन धेरै असहज पनि छैन ।
आज के–कति कारणले हामी कम्युनिस्टहरूसँग गठबन्धन गरेर अगाडि बढेका छौँ, के कारणले कांग्रेसको केन्द्रीय समितिको निर्णय पन्छाएर शीर्ष नेता गठबन्धनको बैठकबाट निर्णय गरेर जिल्ला–जिल्लामा पठाइरहनुभएको छ, के हामी कमजोर छौँ ? मलाई लाग्दैन, कांग्रेस कमजोर छ । कांग्रेस एक्लै लड्यो भने पनि गन्तव्यमा पुग्न सक्छौँ भन्ने आत्मविश्वास छ ।