गठबन्धन बलियो बनाउने देउवाको योजना : सम्मानजनक सिट बाँडफाँड

डिजिटल संस्करण

पार्टीबाट पाँचदलीय गठबन्धनसहित निर्वाचनमा जाने सर्वसम्मत निर्णय गराएका कांग्रेस सभापति शेरबहादुर देउवाले साझेदार दलबीच सम्मानजनक सिट बाँडफाँडको रणनीति लिएका छन् । सरकार र तालमेलका लागि देशैभर बनेका संयन्त्रको नेतृत्व लिएका कारण सबैलाई मिलाएर लैजानुपर्ने दायित्व कांग्रेसको काँधमा रहेको उनको भनाइ छ । 

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महानगर र उपमहानगर केन्द्रित छलफलमा सभापति देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी कांग्रेसको भएको धारणा राखेका छन् । गठबन्धनमा रहेका दलले ५ वैशाखसम्म सिट बाँडफाँडको अवस्थाबारे सबै जिल्लाबाट केन्द्रमा रिपोर्ट मगाउने निर्णय गरेपछि देउवाले आन्तरिक छलफल गरेका हुन् । 

‘गठबन्धन देशका लागि आवश्यक हो । गठबन्धनले नै प्रतिगमनबाट देशलाई बचाएको हो, यसलाई अगाडि बढाउने कांग्रेसकै जिम्मेवारी हो । अन्य पार्टीले गरेको विश्वास बचाएर लानुपर्नेछ । गठबन्धन सुदृढ र सफल बनाएर अगाडि बढ्नुपर्छ,’ बैठकमा देउवाको भनाइ थियो, ‘चुनावी तालमेलका लागि केन्द्रदेखि प्रदेशसम्म कांग्रेसकै नेतृत्वमा संयन्त्र बनेका छन् । गठबन्धनप्रति हामी बढी जिम्मेवार हुनुपर्छ । चुनावको मुखमा धोका दिनुहुँदैन । तालमेल कार्यान्वयनमा सबैले सहजीकरण गर्नुपर्छ ।’

महामन्त्री गगन थापालगायत कतिपय नेताले कांग्रेस एक्लै चुनाव लड्नुपर्ने मत राखिरहेका वेला देउवाले गठबन्धनमा रहेका दललाई कांग्रेसले धोका दिन नमिल्ने पनि स्पष्ट गरेका छन् । पछिल्लो समय डा. शेखर कोइरालाले भने आन्तरिक विवाद पार्टीभित्रै छलफल गर्नुपर्ने भन्दै गठबन्धनको पक्षमा धारणा राखेका छन् । कार्यसम्पादन समितिका सदस्य बलबहादुर केसीका अनुसार बैठकमा नेताद्वय रामचन्द्र पौडेल र डा. कोइरालाले गठबन्धनलाई सुदृढ र सफल बनाउनुपर्ने धारणा राखेका थिए । उनका अनुसार सभापति देउवाले पार्टीले गठबन्धनमा जाने निर्णय गरिसकेकाले गठबन्धनलाई सुदृढ र सफल बनाउनुपर्ने धारणा राखेको नेता केसीले बताए । ‘गठबन्धनको निर्णय भइसकेको छ । अब यसलाई सुदृढ र सफल बनाउन हामी लाग्नुपर्छ । सभापति तथा अन्य नेताहरूको यही नै धारणा थियो,’ केसीले भने । 

बैठकमा महामन्त्री थापालगायत कतिपय नेताले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताएका थिए । स्थानीय आवश्यकताअनुसार तालमेल गर्नुपर्नेमा थापाको जोड थियो । सहमहामन्त्री किशोरसिंह राठौरका अनुसार महामन्त्री थापाको भनाइ थियो, ‘व्यक्तिगत विचार कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ भन्ने हो । तर, पार्टीले गठबन्धन गर्ने निर्णय गरेको छ । यस्तो अवस्थामा सबैले पार्टीको निर्णय मानेर जानुको विकल्प छैन । स्थानीय आवश्यकताअनुसार तालमेल गरेर गठबन्धनलाई सफल बनाउनुपर्छ ।’ 

केन्द्रीय कार्यसम्पादन समितिका एक सदस्यका अनुसार जवाफमा देउवाले पार्टीका भरतपुरका सभापतिले उपमेयरमा लड्ने बताइसकेको भन्दै त्यहाँ माओवादीलाई छाड्न सकिने संकेत गरेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले महानगरबारे छलफलमा भरतपुर महानगरपालिकामा नयाँ र तेस्रो विकल्पमा जानुपर्ने धारणा राखेका थिए । ०७४ मा कांग्रेसले माओवादीलाई सघाएकाले यसपटक माओवादीले कांग्रेसलाई सघाउनुपर्ने मत राखेका थिए । समझदारी हुन नसके मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तेस्रो विकल्पमा जानुपर्ने शर्माको धारणा थियो । 

‘नितान्त व्यक्तिगत रूपमा भन्नुपर्दा मेरो दृष्टिकोण देशभर एक्लै लड्नुपर्छ भन्ने हो । तर, निजात्मक बुझाइ, भावनात्मक आवेग र धरातलीय यथार्थबीच फरक हुन्छ, त्यही गाम्भीर्यले तालमेलको तर्कमा सुरुमै सहमत भएको हुँ,’ उनको भनाइ थियो, ‘हाम्रो निर्णय गठबन्धन होइन, तालमेल मात्र हो । त्यो पनि स्थानीय स्थिति र आवश्यकताअनुरूप मात्र । त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ– भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ । तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धाबाट ।’

बैठकमा महानगर र उपमहानगर केन्द्रित छलफल भए पनि कुनै निर्णयमा नपुगेको कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए । उनका अनुसार शनिबारको बैठकमा अधिकांश नेताले गठबन्धनलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखेका थिए । ‘अघिल्लो बैठकमा चुनावी तालमेलको रूपरेखा प्रस्तुत भएको थियो, तर त्यसबारे छलफल भएको थिएन । आजको बैठकमा त्यसैबारे छलफल भएको हो । महानगर र उपमहानगरबारे पनि छलफल भयो । साथीहरूले आ–आफ्नो धारणा राख्नुभयो,’ उनले भने, ‘अधिकांशको धारणा गठबन्धनलाई अझ व्यवस्थित गरेर लैजाने भन्ने नै छ, बैठकको निष्कर्ष यही नै हो ।’

आफूले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने पार्टीको निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखेको राठौरले बताए । त्यसैबीच कांग्रेस प्रवक्ता प्रकाशशरण महतले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका पालिकामा सत्तागठबन्धनका दलहरूबीच प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । तालमेलविना नै गठबन्धनका दलहरूमध्ये कुनै एक दलले निर्वाचन जित्ने सुनिश्चित भएका ठाउँमा सहमति हुन नसके मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सक्ने, तर एमालेसँग भने कुनै किसिमको तालमेल नहुने उनको भनाइ छ ।

‘कुनै ठाउँमा समझदारी हुन सकेन र सबैको आ–आफ्नै दाबी रह्यो भने त्यस्तो ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुन पनि सक्छ,’ प्रवक्ता महतले भने, ‘तर, गठबन्धनका दलहरूबीच कुरा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौँ । गठबन्धनको शीर्ष तहमा भएको सहमति यही नै हो ।’ कांग्रेस प्रवक्ता महतले भनेजस्तै कतिपय जिल्लामा गठबन्धनमा रहेका दलहरूबीच नै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बनेको छ ।

सुझावित समाचार