युक्रेनको त्रासदी, रक्तपात र विनाशबाट धेरै पाठ सिक्न सकिन्छ । भारतको सन्दर्भमा भ्लादिमिर पुटिनलाई हेरेर पाठ सिक्न सकिन्छ । पुटिनलाई बलशाली, तानाशाह, लौहपुरुष, दोस्रो स्टालिन, रुसी हृदय सम्राट्, जेसुकै नाम दिए पनि यी शासकको अन्त्य सुखद हुनेवाला छैन । महत्वपूर्ण के भने पुटिनलाई विश्वकै एक शक्तिशाली राज्यमा जति लामो समय सत्तामा रहन दिइन्छ, उनी त्यति नै विषाक्त भइरहन्छन् । अर्थात् लाखौँलाई दुःख दिने उनको क्षमता हरेक वर्ष बढ्दै गइरहनेछ । यद्यपि, उनको अन्त्य कति त्रासदीपूर्ण हुनेछ भन्ने हाम्रो चासो होइन । हाम्रो चासो यिनको तानाशाहीको अन्त्य हुनुअघि विश्वमा कति पीडा थपिने भन्ने हो ।
पुटिनको जीवनीले धेरै थोक सिकाउँछ । युवाका रूपमा पुटिनले यस्तो संगठनमा कार्यकर्ताका रूपमा प्रवेश गरे, जहाँ निर्विवाद बफादारी, धूर्तता र निर्दयतालाई सबैभन्दा बढी महत्व दिइन्छ, आधारभूत मानवीय समानुभूति, सिद्धान्त, नैतिकता, सत्यको पालनाजस्ता गुण भएकालाई ठाउँ दिइन्न । सोभियत खुफिया एजेन्सी केजिबीबाट उदाएका पुटिनको सीप, शक्ति र भाग्यको मिश्रणले मुलुकको माथिल्लो संरचानामा पु¥याइदियो । सोभियत संघको विघटन भए पनि पुटिन संलग्न संस्थाको गोप्यता, छल–कपट, क्रूरता, डर र आतंकको बिरासत, गुटको सर्वोच्चतामा अटल विश्वास, रुसमा शासन गर्ने र संसारमा प्रभुत्व जमाउने लक्ष्य अझै पनि शक्तिशाली छ । यसको प्रभाव लभेरेन्टी बेरियाको गोप्य पुलिसले जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघभरि आतंकको फणा फैलाएजत्तिकै छ ।
विरोध गर्नेका कमजोरीलगायत परिस्थितिले पुटिनलाई सन् १९९९ यता नेता बनाइदिएको छ । पुटिन क्रेमलिनको कमान सम्हाल्ने पहिलो केजिबी कार्यकर्ता भने होइनन् । यसअघि सन् १९८२ मा युरी एन्द्रोपोभले सोभियत संघको नेताका रूपमा पदभार ग्रहण गरेका थिए । तर, पुटिन पहिलो यस्ता व्यक्ति हुन्, जो डरलाग्दो गोप्यता र रक्तपातपूर्ण भूमिगत कारबाहीबाट उदाएका हुन । केजिबीका सरसंघचालक एन्द्रोपोभलाई खराब स्वास्थ्यले दुई वर्षभन्दा बढी नेतृत्वमा रहन दिएन । उनको निधनपछि अन्ततः सन् १९८४ मा गम्भीर बौद्धिक छवि बनाएका मिखाइल गोर्बाचेभ सत्तामा पुगे । तर, गोर्बाचेभ सोभियत संघ र सोभियत ब्लक विघटनको साक्षी बन्न पुगे । पुटिनले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई सुरुमा विनम्रताका साथ प्रणाम गरे पनि सत्ता त्याग्ने उनको मनसाय नै थिएन । वास्तवमा पुटिनको लक्ष्य गोर्बाचेभ र समकालीन नेताहरूले स्थापना गरेको लोकतन्त्रलाई खारेज गरेर कम्युनिस्ट भाष्य हटाई पुरानै सोभियत तानाशाही फिर्ता ल्याउनु थियो ।
भारत र सोभियतको इतिहासलाई ठ्याक्कै तुलना गर्न सकिँदैन, यद्यपि बितेका २० वर्षमा विश्वभर विभिन्न परिघटना भएका छन् र त्यसबाट गणराज्य भारत पनि अछुतो छैन । पहिलो, निष्पक्ष चुनावको आवरणमा पुटिनले मुलुकका सबै राजनीतिक विपक्षीलाई निस्तेज गरे । दोस्रो, सबै स्वतन्त्र मिडियामाथि आक्रमण लक्षित गरे । अर्थात् शासनलाई प्रश्न गर्ने र उसका गल्ती एवं कुकर्मलाई बाहिर ल्याउन साहस गर्ने सबै पत्रपत्रिका, टेलिभिजन, वेबसाइटलगायतमा बहुआयामिक आक्रमण गरिए । तेस्रो, पुटिन निकटका व्यापारीलाई सरकारी स्वामित्वबाट मुलुकका ठूला प्राकृतिक स्रोतहरू निर्लज्ज रूपमा स्थानान्तरण गरिए । नतिजा रुसी कुलीन वर्गमा विशाल मात्रामा सम्पत्ति थुप्रियो ।
दुई दशकको इतिहासमा विभिन्न राजनीतिज्ञले एक–अर्काबाट लोकतन्त्र, बहुलवाद र वाक् स्वतन्त्रतालाई अवमूल्यन गर्न सिकेका छन् । आ–आफ्नो देशको लोकतान्त्रिक संरचनालाई खोक्रो बनाउन उनीहरूले एक–अर्काका तौरतरिकालाई अपनाएका वा समर्थन गरेका छन् ।
नरेन्द्र मोदीजस्ता व्यक्तिले ९÷११ र जर्ज डब्लु बुसको ‘वार अन टेरर’ले निम्त्याएको इस्लामद्वेष अनि एर्दोअनले टर्कीमा गरेको बहुसांस्कृतिक वातावरणको इस्लामीकरण र प्राज्ञिक व्यक्ति तथा पत्रकारहरूमाथिको आक्रमणबाट प्रेरणा लिन सक्छन् । वा डोनाल्ड ट्रम्पले पुटिनको प्रशंसा गर्न सक्छन् । भारतको संघ परिवारबाट सामाजिक सञ्जालमार्फत मतदातामाझ मिथ्या समाचार कसरी फैलाउने भन्ने सिक्न सक्छन् ।
भिक्टर ओर्बनले पनि आफ्ना समकालीन फासीवादीबाट सिकेर युरोपेली संघको पैसाको दुरुपयोग गर्दै हंगेरीका जनतालाई आफू अधीनस्थ बनाउन सबै महत्वपूर्ण मिडिया बन्द गरेका छन् । ‘बाहिरिया’, ‘आप्रवासी’ र ‘धमिरा’ जस्ता डर र घृणा सिर्जना गर्ने उद्देश्यले रचिएका शब्दका सन्दर्भमा तपाईं डोनाल्ड ट्रम्प, अमित शाह, मरिन ले पेन, भिक्टर ओर्बन, माटियो साल्भिनी र प्रिती पटेललाई एकै लयमा नाचिरहेको पाउन सक्नुहुन्छ ।
यदि पुटिनले निर्लज्जतासाथ उत्तरी लन्डन र सेल्सबेरीमा रहेका रुसीलाई ‘गद्दार’ भन्न वा रुसभित्रकै लोकतान्त्रिक विपक्षीलाई विष दिन वा नजरबन्दमा राख्न सक्छन् भने उनीबाट सिकेर भारतीय शासकले कम्तीमा मानव अधिकारकर्मीको समूहलाई देशद्रोहीको रूपमा इंगित गर्न वा विनाकुनै सुनुवाइ वर्षौंसम्म थुन्न नसक्ने कुरै भएन । यी तानाशाहको अन्त्य त त्रासदीपूर्ण हुने नै छ । तर, मुख्य मुद्दा यो होइन, यी तानाशाहले छोड्ने पदचाप हो । टेलिग्राफ इन्डियाबाट