घाँटी रेटेर पतिको हत्यापछि प्रहरीसमक्ष आत्मसमर्पण

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

कैलालीको मोहन्याल गाउँपालिकामा घरायसी विवादलाई लिएर एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। मोहन्याल– १ को राक्साकी ३२ वर्षीया थुमा थापामगरले आफ्ना पति ४३ वर्षीय नारायण बुढामगरको घाँटी रेटेर आइतबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आपसी झगडामा थुमाले आइतबार राति हँसियाले घाँटी रेटेर पतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। राति श्रीमानको हत्या गरेर उनी सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा आफैँ उपस्थित भएकी थिइन्। हँसियाले छिनालेको टाउको बोरामा लिएर उनी आफैँ इलाका प्रहरी कार्यालयमा पुगेको जोशीले बताए।

‘टाउको बोरामा राखेर आफैँ प्रहरी कार्यालयमा पुगेकी हुन्। घटनास्थल अत्यन्त विकट क्षेत्रमा पर्ने भएकाले सञ्चार सम्पर्क हुन सकेको छैन,’ जोशीले भने, ‘थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट टोली पठाएका छौँ।’ थुमालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरबाट इलाका प्रहरी कार्यालय निकै टाढा पर्ने भएकाले उनी टाउकोसहित रातभर हिँडेर बिहान इलाका प्रहरी कार्यालयमा पुगेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘श्रीमान्–श्रीमतीबीच विगतदेखि नै झगडा हुने गरेको रहेछ। श्रीमानले रक्सी खाएर झगडा गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘थप सञ्चार सम्पर्क हुन नसकेकाले विस्तृत विवरण बुझ्न सकिएको छैन।’

See More On

सुझावित समाचार