पाँचदलीय गठबन्धनलाई पराजित गर्न सके विदेशी प्रतिक्रियावादी परास्त हुन्छन् : केपी ओली

डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनलाई पराजित गर्न सके मात्र देशी, विदेशी दलाल, पुँजीपति प्रतिक्रियावादी शक्ति पराजित हुने बताएका छन् । एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विदेशी प्रतिक्रियावादी शक्तिको इसारामा वर्तमान सरकार निर्माण भएको आरोप लगाए । ‘पाँचदलीय गठबन्धन विदेशी प्रतिक्रियावादीको दलाल हो । निर्वाचनमा सिंगो गठबन्धनलाई बढार्नु नै विदेशी प्रतिक्रियावादीलाई परास्त गर्नु हो,’ उनले भने । 

उनले देशको अर्थतन्त्र सुधार गर्न एमालेले जित्नुपर्ने बताउँदै अबको केही महिनामा देशमा आर्थिक संकट निम्तिने दाबी गरे । ‘एमाले सरकारबाट बाहिरिएको ९ महिनामा बैँकहरू टाट पल्टिएका छन् । राष्ट्र बैँकसँग ऋण लगानी गर्ने पैसा छैन । व्यापार, व्यवसाय ठप्प छ । अहिलेको सरकारले केही महिनापछि वृद्धभत्ता, एकल महिलालगायत विभिन्न सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्न सक्नेछैन,’ उनले भने ।

उनले वर्तमान सरकारले अर्थतन्त्रलाई ध्वस्त बनाएको जिकिर गर्दै बाटाघाटा, पुलपुलेसा, विद्यालय, अस्पतालका लागि विनियोजित रकमसमेत बन्द गरिरहेको दाबी गरे । ‘बाटाघाटा, पुलपुलेसा, विद्यालय, अस्पताल निर्माणका लागि ठेक्का भई काम भइरहेका योजनाको रकमसमेत यो सरकारले दिन छाडेको छ,’ ओलीले भने ।

ओलीले मुलुक बनाउन एमालेले जित्न जरुरी रहेको जिकिर गरे । उनले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिका लागि एमालेले जित्न जरुरी रहेको तर्क गरे ।

सुझावित समाचार