संस्थागत स्वमूल्यांकनमा एक सय ८७ स्थानीय तहको अंक ५० सम्म मात्रै

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण
संस्थागत स्वमूल्यांकनमा एक सय ८७ स्थानीय तहको अंक ५० सम्म मात्रै

गत वर्ष सबैभन्दा बढी अंक पाउनेमा स्याङ्जाको वालिङ नगरपालिका थियो भने दोस्रोमा धादिङको नीलकण्ठ नगरपालिका (तस्बिरमा) थियो । अहिले नीलकण्ठले वालिङलाई जितेको छ ।

धादिङको नीकलण्ठ नगरपालिका उत्कृष्ट, संखुवासभाको मकालु गाउँपालिका सबैभन्दा कमजोर

पहिलो पाँचवर्षे कार्यकाल गुजार्नै लाग्दा स्थानीय तहको कार्यसम्पादन भने सन्तोषजनक छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा प्रविष्ट भएका ६ सय ९९ तहमध्ये एक सय ८७ ले ५० सम्म मात्रै अंक पाएका छन् । 

मन्त्रालयले सार्वजनिक गरेको ०७७/७८ को स्वमूल्यांकन रिपोर्टअनुसार धादिङको नीकलण्ठ नगरपालिका उत्कृष्ट भएको छ । यो नगरपालिकाले ९७ अंक पाएको छ । त्यस्तै, सबैभन्दा कम अंक पाउनेमा संखुवासभाको मकालु गाउँपालिका छ । यसले १०.२५ प्रतिशत अंक पाएको छ । 

एक सय ८७ तहले ५० सम्मको अंक पाएका छन् भने त्यसभन्दा माथि ६० सम्मको अंक पाउने तहको संख्या एक सय ८५ छ । ६० देखि माथि ७० सम्मको अंक पाउने तह एक सय ८४ छन् । ७० भन्दा माथि ८० सम्मको अंक पाउने स्थानीय तह ९९ रहेकामा त्यसभन्दा माथि ९० सम्म अंक ३७ स्थानीय तहले पाएका छन् । ९० भन्दा बढी अंक पाउने जम्मा सात स्थानीय तह छन् । 

अघिल्लो वर्षभन्दा सुधार 
स्वमूल्यांकनमा ०७६/७७ को तुलनामा ०७७/७८ को स्थिति सुधार भएको देखिएको छ । ०७७/७८ को स्वमूल्यांकनमा स्थानीय तहको औसत अंक ५८.९८ छ । ०७६/७७ मा यो अंक ५१.९७ थियो । 

०७६/७७ मा पाँच सय ५९ स्थानीय तह स्वमूल्यांकनमा प्रविष्ट भएका थिए । जसमा दुई सय ६७ को मात्रै स्वमूल्यांकन अंक ५० सम्म थियो । त्यसभन्दा माथि ६० सम्म अंक पाउने तह एक सय ४७ थिए भने ६० भन्दा माथि ७० सम्मको अंक पाउने ८७ तह थिए । त्यसमाथि ८० सम्मको अंक पाउनेको संख्या ४१ र त्यसमाथि ९० सम्म पाउने १४ थिए । ९० माथि अंक पाउने स्थानीय तह तीनवटा मात्रै थिए । गत वर्ष सबैभन्दा बढी अंक पाउनेमा स्याङ्जाको वालिङ नगरपालिका थियो भने दोस्रोमा धादिङको नीलकण्ठ नगरपालिका थियो । अहिले नीलकण्ठले वालिङलाई जितेको छ । 

कसरी हुन्छ मूल्यांकन ? 
स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंबाट गराउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७’ जारी गरेको थियो । कार्यविधिले स्वमूल्यांकनका विभिन्न १० वटा विषयक्षेत्र र तीन सूचक निर्धारण गरेको छ । ती विषयक्षेत्र र सूचकहरूमा स्थानीय तह स्वयंले आफ्नो स्थिति मूल्यांकन गर्छन् । 

कार्यविधिमा टेकेर मन्त्रालयले लिजा प्रणाली विकास गरेको थियो । कार्यविधिले निर्धारण गरेका विभिन्न सूचकहरूमा आफ्नो स्थिति स्थानीय तह स्वयंले प्रणालीमा प्रविष्ट गर्न सक्ने गरी प्रणाली विकास गरिएको छ । यसका लागि सबै स्थानीय तहलाई अलगअलग युजर र त्यसको ‘लगइन पासवर्ड’ दिइएको छ । सम्बन्धित कार्यपालिकाबाट निर्णय गराएर कार्यविधिमा तोकिएका सूचकमा अंकभार निर्धारण गरी स्थानीय तहले सफ्टवेयरमा विवरण अपलोड गर्छन् । 

स्थानीय तहले आफैँ गरेको मूल्यांकनको गुणस्तर परीक्षण गर्ने व्यवस्था पनि छ । स्थानीय तहले गरेको स्वमूल्यांकन नतिजाको गुणस्तर सुनिश्चितता परीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँ, सम्बन्धित जिल्ला समन्वय समिति वा तेस्रो पक्षलाई जिम्मेवारी दिए गर्न सक्ने व्यवस्था कार्यविधिमा छ । 

स्वमूल्यांकनका लागि समयसीमासहित कार्ययोजना नै कार्यविधिमा उल्लेख छ । जसअनुसार १५ मंसिरभित्र स्वमूल्यांकनको प्रारम्भिक नतिजा तयार गर्ने, मंसिर मसान्तभित्र प्रारम्भिक नतिजा पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउने र जिससबाट प्राप्त पृष्ठपोषणसमेत मिलाएर तयार भएको प्रारम्भिक नतिजा प्रमुख प्रशासकीय अधिकृतले छलफलका लागि १५ पुसभित्र कार्यपालिकामा पेस गर्ने व्यवस्था छ । पुस मसान्तभित्र कार्यपालिकाबाट अनुमोदन गरी पुस मसान्तभित्रै स्वमूल्यांकनको अन्तिम नतिजाको समग्र समीक्षा गर्ने र कार्यपालिकाबाट अनुमोदन भएको सात दिनभित्र मूल्यांकनको नतिजा कार्यालयको वेबसाइटमा राख्ने तथा सूचनापाटीमा प्रकाशन गर्नुपर्छ । यसको समयसीमा माघ पहिलो सातासम्म छ । स्वमूल्यांकनपछि त्यसको नतिजा लगत्तै बस्ने गाउँ/नगरसभामा जानकारीका लागि पेस गर्ने व्यवस्था कार्यविधिमा छ । 

स्वमूल्यांकन नतिजा प्रणालीमा प्रविष्ट गरी सार्वजनिक रूपमै हेर्न मिल्ने बनाइएको छ । लिजाको सफ्टवेयर प्रणाली एकैचोटि सबै स्थानीय तहको स्वमूल्यांकन हेर्न मिल्ने गरी विकास गरिएको छ । 

यस्ता छन् मूल्यांकनका सूचक र विषयक्षेत्र 
स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वय छन् । यी छुट्टाछुट्टै विषयक्षेत्रहरूको अलगअलग पूर्णांक तोकिएको छ । 

यी प्रत्येक विषयक्षेत्रलाई तीनवटा सूचकमार्फत मूल्यांकन गरिन्छ । ती सूचकहरू समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति छन् । समग्र स्थितिमा स्थानीय तहको समग्र अवस्था दर्शाउने सूचक, प्रक्रियागतमा स्थानीय तहको दैनिक प्रशासन र सेवा प्रवाह तथा स्थानीय सरोकारका विषय सम्बोधन हुने खालका प्रक्रियाउन्मुख सूचक र परिमाणात्मकमा तुलना गर्न, मापन गर्न र संख्यात्मक रूपमा उल्लेख गर्न सकिने प्रकृतिका नतिजामूलक सूचकहरू पर्छन् । यी सूचकहरूलाई क्रमशः २१, ३४ र ४५ प्रतिशत अंकभार दिइएको छ ।स्वमूल्यांकन नतिजालाई स्थानीय तहको कार्यसम्पादन सूचकको आधारको रूपमा समेत उपयोग गर्न सकिने व्यवस्था कार्यविधिमा छ । 

९० भन्दा बढी अंक पाउने स्थानीय तह 

  • नीलकण्ठ नगरपालिका, धादिङ : ९७
  • वालिङ नगरपालिका, स्याङ्जा : ९५
  • गुर्भाकोट नगरपालिका, सुर्खेत : ९३.२५
  • फेदीखोला गाउँपालिका, स्याङ्जा : ९२.७५
  • खैरहनी नगरपालिका, चितवन : ९१.७५
  • म्याग्दे गाउँपालिका, तनहुँ : ९१.५
  • ज्वालामुखी गाउँपालिका, धादिङ : ९०.७५

अघिल्लो आर्थिक वर्ष ९० माथि अंक पाउने स्थानीय तह तीन मात्रै थिए

कतिपय स्थानीय तहले स्वमूल्यांकन प्रविष्ट गरेका छैनन्, यो गम्भीर विषय हो  : वसन्त अधिकारी, प्रवक्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
स्थानीय तहले कति संस्थागत सुदृढीकरण गरे भनेर हेर्न पाउने एउटा मात्र प्रणाली स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) हो । स्थानीय तहको मूल्यांकन गर्ने योबाहेक प्रणाली छैन ।

निर्वाचित जनप्रतिनिधिले आफ्नो पहिलो कार्यकालमा कति काम गरे भनेर देखाउने प्लेटफर्म पनि यही हो । तर, कतिपय स्थानीय तहले तोकिएको समयसीमा कटिसक्दा पनि स्वमूल्यांकन प्रणालीमा प्रविष्ट गरेका छैनन् । यो गम्भीर विषय हो । आफ्नो मूल्यांकन प्रविष्ट नगर्नु भनेको त्यहाँ भद्रगोल छ भनेर शंका गर्नुपर्ने हुन्छ ।

मूल्यांकन नै नगरेपछि नयाँ आउने जनप्रतिनिधि र नागरिकले पनि आफ्नो स्थानीय तहको अवस्था कसरी थाहा पाउने ? स्वमूल्यांकन अंकका आधारमा स्थानीय तहको संस्थागत सुदृढीकरण हुँदै गएको देखिन्छ, यो सकारात्मक पक्ष हो ।

सुझावित समाचार