प्लास्टिकको झोलामुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ। रोङ गाउँपालिका– ३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन व्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा उद्योग स्थापना गरेको हो। इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ।
चार लाख ४७ हजार रुपैयाँको लागतमा उद्योग स्थापना गरिएकामा उक्त समूहले दुई लाख ४६ हजार रुपैयाँ र गाउँपालिको दुई लाख एक हजार रुपैयाँ व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताए। यस्ता झोलाले वातावरण प्रदूषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उनको भनाइ थियो।
उक्त समूहले यसअघि गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको छ। समूहले पाथीभरा मन्दिर सफा गर्नाका साथै विपतमा परेकाहरूलाई सहयोगसमेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाले बताए। उत्पादित झोला व्यावसायिक रूपमा बजारमा ल्याइने र यसबाट व्यापारी तथा व्यवसायीलाई समेत सहज हुने अनुमान गरिएको छ। सामान खरिद तथा बिक्रीका लागि यो झोलाको माग बढ्न थालेको छ। रासस