डढेलोले देशभर प्रदूषण बढायो, काठमाडौंलाई तुवाँलोले ढाक्न थाल्यो

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

आइतबार साँझ एकैपटक ८४ ठाउँमा डढेलो, घातक प्रदूषण भएकाले मर्निङवाकमा नजान अनुरोध

वनजंगलमा डढेलो लाग्न थालेसँगै देशभर प्रदूषण बढेको छ । वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको हावा सोमबार अस्वस्थकर बन्न पुगेको छ । 

सोमबार बिहान काठमाडौंमा प्रदूषण प्रतिघन्टा पिएम–२.५ को मात्रा १९८ माइक्रोग्राम प्रतिघनमिटर पुगेकामा साँझ केही घटेर १६७ कायम रह्यो । यो अवस्थामा वायुमण्डलमा रहेको हावा अस्वस्थकर मानिन्छ ।  साँझ सबैभन्दा बढी प्रदूषण पोखरामा रेकर्ड भएको छ । पोखरामा यो मात्रा २१७ पुगेको छ । त्यस्तै, सिमरामा १७८, नेपालगन्जमा १६७, भरतपुरमा १६३, धनकुटामा १५६ र काठमाडौंकै कीर्तिपुरमा १५३ सम्म पुगेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराई भन्छन्–वायुमण्डलको सतहमा प्रदूषण छ, माथि बादल छ । बादलका कारण प्रदूषण माथि जान पाएको छैन । वर्षा हुन नसक्दा उपत्यकामा तुवाँलो लागेको हो । हावा पनि चल्न सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार तत्काल वर्षा गराउन प्रणाली सक्रिय छैन । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहे पनि वर्षा हुन सकेको छैन । ‘वायुमण्डलको सतहमा प्रदूषण छ, माथि बादल छ । बादलका कारण प्रदूषण माथि जान पाएको छैन,’ भट्टराईले भने, ‘वर्षा हुन नसक्दा उपत्यकामा तुवाँलो लागेको हो । हावा पनि चल्न सकेको छैन ।’

गत वर्ष चैतमा पनि काठमाडौं प्रदूषणले प्रताडित थियो 
गत वर्ष १३ चैतदेखि मसान्तसम्म काठमाडौं प्रदूषणले प्रताडित रहेको थियो । यो वर्ष गर्मीयाममा आइतबारबाट फेरि प्रदूषण बढ्न थालेको हो । वातावरण विभागको वेबसाइट ‘पोलुसन जिओभी डटएइनपीमा’ रत्नपार्क, पुल्चोक, शंखपार्क, भक्तपुर, भैँसेपाटी, लुम्बिनी, दाङ, धनगढीलगायत क्षेत्रको विवरण अपडेट छैन । नेपालमा १७ फागुनदेखि १७ जेठसम्म यो  अवस्था रहन्छ । सुक्खायाममा पर्याप्त पानी नपर्ने, तापक्रम बढ्ने र आगलागीसँगै डढेलोका घटना बढ्ने भएकाले पनि प्रदूषण उकालो लाग्ने गरेको पाइन्छ ।

वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण बिहान र साँझ प्रदूषण बढेको बताए । ‘डढेलोका कारण दक्षिण एसियामै प्रदूषण बढेको छ । हाम्रोमा (नेपाल)मा पनि बिहान र साँझ  प्रदूषण धेरै पाइएको छ । यस्तोवेला मर्निङवाकमा नजान अनुरोध छ ।’ डढेलाको धुवाँ पनि वायुमण्डलमा मिसिँदा प्रदूषण बढ्नुका साथै तुवाँलो पनि देखिएको उनी बताउँछन् ।

पछिल्लो २४ घन्टा (सोमबार बिहान ८:४५सम्म) मुलुकभर वर्षा रेकर्ड भएको छैन । बरू आइतबार साँझ एकैपटक ८४ ठाउँमा डढेलो लागेको थियो । सोमबार भने डढेलो घटेर १६ ठाउँमा झरेको वन विभागको भौगोलिक सूचना प्रणाली तथा नक्सांकन शाखाले जनाएको छ । शाखाले हरेक दिन बिहान ११ बजे र ३ बजे वन डढेलोको तथ्यांक लिने गर्छ ।

वन डढेलोका विज्ञ रहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्मा कम्तीमा एक सय स्थानमा डढेलो लागेको हुन सक्ने बताउँछन् । ‘मोडिस प्रणालीमा आधारित स्याटेलाइटबाट तथ्यांक लिएर डढेलोका घटना पहिचान हुन गरेका छन्, यसमा तीन सय मिटरभन्दा सानो आगो देखिँदैन । केही घन्टा लागेको डढेलो पनि तथ्यांकमा नदेखिन सक्छ,’ उनले भने, ‘कम्तीमा एक सय स्थानमा डढेलो लागेको हुनुपर्छ ।’ 

गत वर्ष चैतमा एकैदिन ३९७ स्थानमा डढेलो लागेको थियो । एक वर्षमा ६ हजार ७ सय ९९ स्थानमा डढेलो रेकर्ड भएको छ ।  नेपालमा मंसिरदेखि नै डढेलो लाग्न सुरु हुन्छ । ‘चैत–वैशाख डढेलोको पिक समय हो, त्यसमा पनि सबैभन्दा बढी डढेलो वैशाखको दोस्रो साता लाग्ने गरेको छ,’ शर्माले भने ।

See More On

सुझावित समाचार